[ad_1]

तीज र दर खाने दिन नजिकिंदै गर्दा बाल्यकाल र माइतीघरको आँगन निकै सम्झना आइरहेको छ । ठूलीआमाले पकाएको बोडीको तरकारी र भात । कचौराभरी घिउ दिंदै भन्नुहुन्थ्यो- ‘सबै खा । भोलिलाई आडिलो हुन्छ । व्रत बस्ने होलिस् नि !’

अनि बिर्सन सकेको छैन आमाले पकाएको खीरको स्वाद ! आधारातमा आँखा मिच्दै खाएको दर बिहान उठ्दा राति खाएको थाहा नै हुँदैनथ्यो । बिहान उठेर अचम्म पर्दै आमाको मुखमा हेरि रहन्थ्यौं । वर्षको एकदिन खाइने त्यो दरको महत्त्व पनि त्यस्तै हुन्थ्यो । राति १२ बजेसम्म त खाइसक्नुपर्ने रे !

दर खाएर मात्रै सुत्ने भनेर पल्लो गाउँमा बजेको तीज गीत सुनेर बहिनी र म बार्दलीमा नाँचेको त्यो पल कति अमूल्य थियो । कति बेला निद्रा लाग्थ्यो र सुत्न जान्थ्यौं । सुतेको र उठेको पनि थाहा नै हुँदैनथ्यो ।

वल्लोपल्लो घरका बोइहरुले उठाउनुहुन्थ्यो । ‘ल है बैनी उठ्नुस्, केटाकेटीलाई पनि उठाउनु’ उहाँहरूले भन्नुहुन्थ्यो ।

दर खानलाई तारा हेरेर समयको अनुमान लगाउनुहुन्थ्यो । अहिले जस्तो घडीको जमाना कहाँ थियो र ? वरिपरिको हल्लाखल्ला सुनेर भाइहरु उठेर बिस्तारामा  बसेका हुन्थे । फेरि दर बिहान उठ्दा  सकिन्छ, हामी केटालाई उठाउँदैनन् भन्ने सोच्थे । हामीभन्दा पहिल्यै उठेर बसेका हुन्थे दर खानलाई ।  बहिनी सुतेको सुत्यै खान्थिन् र बिहान उठेर रुन्थिन् । भन्थिन्-  ‘मलाई किन नउठाको राति !’

कति रमाइलो त्यो दिन । पल्लो घरबाट बोइले ‘ल है यताको पनि चाख्नुस्,  ढाक्नी बनाएका छौं’ भन्दै ल्याइदिनुहुन्थ्यो । यता आमाले पनि त्यही पकाउनुभएको हुन्थ्यो । दूध र घिउमा ढाकी ढाकी पकाइने त्यो मीठो परिकारको नाम नै ढाक्नी । त्यही नै दर थियो । त्यो दरको महत्त्व बेग्लै थियो । त्यो दर अझै पनि ताजै छ यादहरूमा ।

भोलि त दर खाने दिन । आज त बुवा फुपूहरुलाई बोलाउन जाने रे ! अनि आउँदा सबै सामान किनेर पनि ल्याउनुहुन्छ  रे !

फुपू!  हामीले फुपूलाई दिदी भन्थ्यौं । दिदीहरू र दिदीका छोराछोरी आउने भनेपछि घरको वातावरण नै बेग्लै हुन्थ्यो ।

हजुरआमालाई कान्छी छोरीको सधैं पीर । ‘मेरी कान्छी छोरी टाढा छे । कहिल्यै आउन पाउँदिनँ’ भन्दै बिहानभरि गुनासो गर्दै हुनुहुन्थ्यो । एक्कासी छोरी आइपुग्दा हजुरआमाको मुहार खुशीले धपक्क बलेको देखिन्थ्यो

माइली दिदीको भान्सा सारै मीठो थियो । काम चाहिं बसी–बसी हामीलाई अह्राउने । ‘जा नानी केराउ भिजाइहाल्, अचारमा हाल्न । फेरि भोलिसम्म राम्रोसँग भिज्दैन । भाङको छोप हालेर  आलुको अचार बनाउनुपर्छ ।’

बसी–बसी सबैलाई काम लगाउनुहुन्थ्यो । अनि आफू भान्सामा बसेर पकाउनुहुन्थ्यो । आमाले दर पकाउनलाई दरिला सुकेका दाउरा खोज्दै हुनुहुन्थ्यो । त्यही बेला के गर्छन् यो घरका मान्छेले भन्दै सानी दिदी त टाढाबाट आइपुग्नुभएको त्यो पलमा चारैतिर खुशियाली छाउँथ्यो । आमाको सारै याद आयो । मनले मान्दै मानेन । धेरै वर्ष भयो । मन पनि सारै आत्तियो । केटाकेटीलाई जे सुकै गर भनें । ठूली छोरीलाई सबै अह्राएँ अनि हिंडें । दिदी यस्तै केही भन्दै आउनुहुन्थ्यो । दिदीलाई देखेर आमा पनि मख्ख ।

भोलि दरखाने दिन पनि अनि आजै हिंडें । हजुरआमा त दिदीलाई अँगालो मारेर  रुँदै पो हुनुहुँदोरहेछ – यतिका वर्षपछि मेरी छोरी तीजमा आइपुगी भन्दै ।  दिदीको बोली सुनेर हामी  हस्याङफस्याङ गर्दै आइपुग्थ्यौं ।

दिदीलाई त्यसरी देख्दा साह्रै खुशी हुन्थ्यौं । नसोचेको त्यो खुशी । माया गर्दै हामीलाई अँगालो हाल्नुहुँदै कुराउनीको पोको झिक्नुभयो दिदीले । अरु केही ल्याउन पाइनँ बा, यही ल्याएँ अहिले ।

आमाले सबैलाई दिनुहुन्छ भन्दै हजुरआमाको हातमा दिनुभयो दिदीले । सारै मीठो हुने त्यो कुराउनी फेरि ।

कान्छी छोरीको सधैं पीर हजुरआमालाई । ‘मेरी कान्छी छोरी टाढा छे । कहिल्यै आउन पाउँदिनँ’ भन्दै बिहानभरी गुनासो गर्दै हुनुहुन्थ्यो । त्यसरी एक्कासी छोरी आइपुग्दा हजुरआमाको मुहार खुशीले धपक्क बलेको देखिन्थ्यो ।

‘भोलि त दर खाने दिन । दिदीहरू आउलान् नि ! आउँछन् सबै । दाइ बोलाउन गएको छ’ हजुरआमाले मख्ख पर्दै जवाफ दिनुहुन्थ्यो ।

दर खाने दिन । बिहान हाम्रो घरमा, दिउँसो मामा घरमा, बेलुका ठूलोबुवाकोमा । जे-जति खाइन्थ्यो वर्षको एक दिन खाने । त्यो दरको महत्त्व नै बेग्लै थियो । अहिले जस्तो महीनौं अघिदेखि खाइने दर भन्दा कैयौं महत्त्व बोकेको हुन्थ्यो त्यो दर ।

बिहानैदेखि हामी सबै भान्सामा व्यस्त हुन्थ्यौं । आमाले बाहिर चुलो बनाएर  खीर पकाउने रे !  दिदीहरू भान्सामा । हामीले गोठका लालाबालालाई घाँस हाल्ने र दिदीहरूलाई सकेको सघाउने काम । हजुरआमा बिहानैदेखि पेटीमा बसेर फुपूहरूको बाटो हेर्नुहुन्थ्यो । बारीको डिलतिर हजुरआमाका आँखा हुन्थे ।

‘ल है नानी हो, हेर त दिदीहरू  रातै प्यालै भएर आए ।’ हामी उछिट्टिंदै बाहिर निस्केको त्यो  दर खाने दिनको जति महत्व हुन्थ्यो आज ठूलाठूला होटलमा महीनौं  खाइने चौरासी व्यञ्जन देखिने खुशी भन्दा कैयौं गुणा खुशी त्यही खानेकुरामा मिल्थ्यो । ठूलीआमाले पकाएको त्यो बोडीको तरकारी, दिदीले बनाएको त्यो आलुको अचारमा मिल्थ्यो । मीतआमाले पकाएको त्यो तामाको तरकारी सधैं सम्झनामा आउँछ ।

मामाघरमा  हजुरआमाले पकाएको गाभाको तरकारी । बासमती चामलको भातमा घिउ हाल्दै भन्नुहुन्थ्यो- ‘घिउ सारै मीठो छ । जति खाने हो खाउ ।’ बासमतीको चामलको  भातमा घिउ हालेर  खाएको दुई-तीन दिनसम्म हातमा बास्ना आएको अनुभव हुन्थ्यो ।

आज पनि हजुरआमाले दिएको त्यो भातको थालको यादले आँखा भरिएर आउँछ । मामाका छोराछोरीहरू हामी  आएको देख्दा पर्नुसम्म  फुरुङ्ग पर्थे ।  माइजूले  दूधै दूधमा पकाएको त्यो सारो खीर सधैं सम्झना आउँछ ।

आज महीनौं खाइने दरको के महत्त्व छ र ? आज देखासिकीको लागि धेरै दिन खाने यो दरभन्दा त्यो दर नै  कैयौं गुणा अमूल्य हुन्थ्यो ।

‘तिमीहरू जाओ र आमालाई पठाइदेओ है, एक गाँस भए नि खान्छन् ।’ हजुरआमाले आफ्नी छोरीको बाटो कुरेर बसिरहनुहुन्थ्यो । हामी खाएर जान्थ्यौं भरे फेरि  ठूलोबुवाकोमा खान बाँकी छ भन्दै दङ्ग पर्दै घर  फर्कन्थ्यौं ।

जता खाए पनि जति खाए पनि त्यही एक दिन मात्र खाइने दरले हाम्रो मौलिकता र संस्कार बोकेको थियो । आज पनि तीज र दर खाने दिन आइरहँदा त्यही बाल्यकालमा खाएको दरको सम्झना आउँछ । आमाको वरिपरि बसेर आधारातमा आँखा मिच्दै खाएको दरको याद सधैं स्मरणमा रहिरहनेछ ।

 

[ad_2]

साभार

सम्बन्धित खवर