[ad_1]

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण सुरु गरेका छन् । ३६ वर्षीय रोनाल्डोले मंगलबारदेखि युनाइटेडको प्रशिक्षण स्थल क्यारिङटन ट्रेनिङ ग्राउन्डमा प्रशिक्षण थालेका हुन् ।

रोनाल्डो फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा उत्तरी आयरल्यान्डविरुद्धको खेल लगत्तै लन्डन फर्किएका थिए । विजयी गोल गरेपछि जर्सी फुकाल्दै गोलको खुशीयाली मनाएपछि उनले पहेलो कार्ड पाएका थिए । उनी एक खेलको प्रतिबन्धमा पर्ने भएपछि पोर्चुगल फुटबल फेडेरेसनले उनलाई बेलायत जान अनुमति दिएको थियो ।

पोर्चुगलले २–१ को जित निकालेको खेलमा रोनाल्डोले खेलको अन्त्यतिर दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए । रोनाल्डोले १११ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अली दाईले १०९ गोल गरेका छन् ।

यो सिजनको समर ट्रान्सफरको अन्तिम दिन इटालियन क्लब युभेन्ट्सबाट २० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएलगत्तै उनी अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पुग्दा युनाइटेडको टिम सहयात्रीसँग प्रशिक्षण गर्न पाएका थिएनन् ।

रोनाल्डोले ५ दिनको क्वारेन्टिन अवधि पुरा गर्दै प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणमा टिम सहयात्रीसँग सामेल भएका थिए । रोनाल्डो सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट म्यानचेस्टर युनाइटेडमा आएका थिए ।

२००९ सम्म युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जित्दा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डोले सन् २००९ मा इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल म्यड्रिड पुगेका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डो युनाइटेडबाट आफ्नो दोस्रो डेब्यु गर्न तत्पर छन् । रोनाल्डोले अन्तर्राष्ट्रिय ब्रेकपछिको न्युक्यासल युनाइटेडविरुद्धको प्रिमियर लिगकै पहिलो खेल खेल्ने सम्भावना छ । खेल शनिबार ओल्ड ट्राफोर्डमा हुँदैछ ।

रोनाल्डोले युनाइटेडमा आफ्नो आइकोनिक नम्जर ७ नम्वर जर्सी लगाउनेछन् । अर्थात उनी फेरि पनि ‘सिआर सेभेन’ नै हुनेछन् । उनले सन् २००९ मा युनाइटेड छाड्न समयमा ७ नम्वर जर्सी नै लगाएका थिए । रियल म्याड्रिड र युभेन्ट्समा उनले आफ्नो ‘सिआर सेभेन’ ब्रान्डको प्रचारलाई निरन्तरता दिदै सोही नम्वर लगाइरहे । राष्ट्रिय टोलीमा पनि उनले ७ नम्वर जर्सी नै प्रयोग गर्ने गर्दछन् ।

दोस्रोपटक युनाइटेडमा आबद्ध भएपछि उनले क्लबमा ७ नम्वर जर्सी पाउने नपाउने छलफलको विषय बनेको थियो । तर, युनाइटेडमा ७ नम्वर लगाइरहेका उरुग्वेली फरवार्ड इडिन्सन काभानीले रोनाल्डोको लागि उक्त नम्वर प्रदान गर्दै उनले राष्ट्रिय टोलीबाट लगाउँदै आएको २१ नम्वरको जर्सी रोजेका थिए ।

[ad_2]

साभार

सम्बन्धित खवर