[ad_1]

कहिल्यै सोच्नुभएको छ ? तपाई पनि एकदिन बाबा बन्नुहुनेछ । तपाईंका छोराछोरी पनि तपाईंसँग बोल्ने छैनन् । सिर्फ सोसल मिडियामा तपाईंको फोटोको माथि लेख्नेछन् – ह्याप्पि फादर्स डे बाबा । कमेन्टभरी तपाईंलाई पनि शुभकामना आउनेछन् । छोराछोरीको पोष्ट हेर्न भ्याउनु भयो भने तपाईंलाई केही मात्रामा खुशी लाग्नेछ । नत्र भने तपाईं आफ्नो दुनियाँमा मस्त तपाईंको छोराछोरी आफ्नो संसारमा मस्त ।

अहो ! मस्त नै मस्त । मैले केही समय भविष्यतर्फ उडान भरेको मात्र हुँ । लामो समय कल्पनामा रमाउनु पनि राम्रो होइन किनभने कल्पनामा रमाउन बानी पर्‍यो भने वास्तविकताबाट मान्छे भाग्ने सम्भावना बढ्दो रहेछ । त्यसैले धेरै समय नखर्चेर सिधै वास्तविकतामा तर्फ प्रस्थान गरौं ।

के हामीले यस्तै गरिरहेका छैनौं र ? बाबा सँग कुरा गर्न हामीलाई एकपटक फुर्सद छ ? महिनाको कतिपटक बाबासँग कुरा गरिन्छ होला ? धेरैको गोजी रित्तिएपछि र समस्याले टाउको दुखाएपछि मात्र फोन डायल गर्ने बानी हुन्छ ।

आशा गर्छु- त्यो छोराछोरीभित्र तपाईं पर्नु हुँदैन । उमेरले जति पाको भए पनि हरेक दुःखमा बाबाको मात्र याद आउँछ । अनि बचपनमा जे जस्तो कारणले आँखाबाट आँसु खस्यो भने पनि मेरो बाबाले सबथोक ठिक पारिदिनुहुन्छ भन्ने विश्वास लाग्छ ।

हरेक छोराछोरीको बचपनमा एउटा यस्तो आत्मविश्वासले जरा गाडेर बसेको हुन्छ, यदि कोही भगवानलाई पनि टक्कर दिने मान्छे यो पृथ्वीमा बस्छ भने उहाँ मेरो बाबा हुनुहुन्छ । उमेर बढेसँगै छोराछोरीको मांसपेशीहरू तन्किन्छन् भने बाबाको मांसपेशीहरू खुम्चँदै जान्छन् ।

एउटा उमेरमा पुगिसकेपछि, त्यही बाबा आफूभन्दा कमजोर, केही पनि नजान्ने लाग्छ । जुन छोराछोरी बचपनमा बाबाले भनेका हरेक कुराहरू एक एक सेकेण्ड पनि ध्यान दिएर घण्टौं सुन्न सक्थे । अचेल उही बाबाको मुखारविन्दुबाट एउटा शब्द नखस्दै हामीलाई प्रतिक्रिया दिन हतार हुन्छ ।

मेरो बाबा बचपनमा मलाई कथा सुनाउनु हुन्थ्यो । बाबाले बचपनमा सुनाएको एउटा यस्तो कथा छ जुन मेरो मानसपटलबाट कहिल्यै हराउँदैन । जति जति बेला बाबासँग मेरो कुरा हुन्छ । म यही कथा सम्झन्छु । सम्झिरहन्छु ।

गर्मी याम थियो । गाउँतिर गर्मी याममा आँगनमा सुत्ने गर्छन् । खाना खाइसकेर आँगनमा बिछ्याएको गुन्द्रीमा पल्टिरहेको थिएँ । बाबा खाना खाइसकेर आउनुभयो । म जसरी पल्टिरहेको थिएँ, त्यसरी नै पल्टिनु भयो । एउटा खुट्टामाथि अर्को खुट्टा राखेर ।

आकाशमा देखिएको चन्द्रमाको वरवरदेखि परपरसम्मका ताराहरूलाई हेर्दै थिएँ । बाबाले बिस्तारै भन्नुभयो- ‘आदर्श आज कथा सुन्ने होइन ?’

बाबा अहिले आफू मात्र बोल्न चाहँदैनन् । उनी छोराका हरेक शब्दहरू सुन्न चाहन्छन् । बाबा भनेर बोल्न सुरु गरेको छोराको वर्णमाला बढेर कुन शब्दसम्म पुग्यो होला, त्यो सुन्न चाहन्छन्

बाबाले यति भनेर सक्दा नसक्दै म बाबातिर फर्किसकेको थिएँ । बाबाले सुरु गर्नुभयो ।

एउटा गाउँमा हाम्रो जस्तै परिवार थियो । तिमी र म जस्तै बाबा र छोरा पनि थिए । छोरा सानै थियो । बाबाले छोरालाई काँधमा हालेर नयाँ नयाँ ठाउँमा घुमाउन लैजानुहुन्थ्यो । जति जति नयाँ नयाँ कुराहरू देखिन्थे ।

तिनी सबैको बारेमा छोरा सोध्थ्यो- बाबा यो के हो ? त्यो के हो ? कत्ति पनि अप्ठ्यारो महसुस नगरेर बाबा तिनी सबै वस्तुको बारेमा छोराले बुझ्ने गरी भन्थे । यसरी नै छोरा आत्मनिर्भर नहुन्जेलसम्म उसको यात्रामा आएका हरेक बुझिनेदेखि नबुझिने समस्याको समाधान बनेर बाबाले साथ दिए । उनले कहिल्यै आफ्नो परवाह गरेनन् । आफ्नो सम्पूर्ण जीवन छोराको पालनपोषण गर्नमा व्यतित गरिदिए । बाबाले कथा भनेर सकिसकेपछि मलाई त्यो रात अबेरसम्म पटक्कै निन्द्रा लागेन ।

अहिले पनि बाबालाई त्यसरी नै आफ्नो छोरासँग घण्टौं गफ्फिन मन छ । बाबा अहिले आफू मात्र बोल्न चाहँदैनन् । उनी छोराका हरेक शब्दहरू सुन्न चाहन्छन् ।

बाबा भनेर बोल्न सुरु गरेको छोराको वर्णमाला बढेर कुन शब्दसम्म पुग्यो होला, त्यो सुन्न चाहन्छन् । एकपटक फेरि बचपनलाई कथा जसरी भन्न चाहन्छन् । तिमी जन्मेर मात्र यस्तो भएको होइनौं । तिमी बन्नमा कयौं वर्ष जाग्नु परेको छ । यो सम्झाउन चाहन्छन् । तिमी यो अवस्थासम्म आईपुग्न मृत्यलाई पनि मैले धेरैपटक जितेको छु ।

यो वास्तविकता सुनाउन चाहन्छन् ।

वास्तवमा मानव जीवन सकियो जस्तो छ । अब सोसियल जीवन सुरु भयो । सोसियल अर्थात् सामाजिक सञ्जालको जीवन । एकदुई वटा पुराना फोटाहरू ग्यालरीबाट निस्कँदै सामाजिक सञ्जालको भित्तामा टाँसिन पुग्छन् । अनि टाँस्नेले अपेक्षा गरिरहेको हुन्छ । कति जनाले लाइक गर्लान् ? कति जनाले कमेन्ट गर्लान् ? बाबातर्फ ध्यान जाने कुरा त भएन, फोटोतर्फ अलि अलि ध्यान जाला तर लाईक र कमेन्टतर्फ अलि बेसी ध्यान जानेछ ।

यो मेरो अनुमान हो । बाबालाई औधी माया गर्ने छोराछोरी पनि छन् । उनीहरूको लागि हो यो दिन । बाबासँग आत्मिय सम्बन्ध नराख्ने, रगतको सम्बन्ध छ भन्दैमा यो हृदयबाट दिइने शुभकामनालाई सामाजिक सञ्जालको भित्तामा सीमित राख्नुभएन नी होइन र ?

सम्बन्ध दिलबाट निभाइन्छ । उही बाबाले सिकाउनु भएको होइन ? बाबाको फोटो कति जनाले मनपराउँछन् ? यो विषय नै होइन । म मेरो बाबालाई कति माया गर्छु । कति केयर गर्छु । यिनी मेरो प्राथमिकताका विषय हुन् ।

बाबा म हजुरलाई एकदिन मात्र माया गर्न चाहन्नँ । दिनानुदिन हजुरको आर्शीवादले चलायमान हुन चाहन्छु । ‘आइ लभ यू बाबा ।’ बाबाको मुख हेर्ने दिनको शुभकामना । धेरै माया !

[ad_2]

साभार

सम्बन्धित खवर