[ad_1]

हाम्रो छिमेकमा एक जना भाउजू छिन् । हुनेखाने पार्टीको हुनेखाने नेताकी श्रीमती भनौं । तर भाउजूलाई नेताकी श्रीमती हुँदा खासै गौरव छैन । बरु चिया पकाउँदा पकाउँदा हैरान हुनुहुन्छ अरे ! पहिला घर सुनसान थियो ।

जब दाइ कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा जानुभो, एकाएक घरमा मान्छेको आउजाउ बढ्यो । यतिसम्म कि मन्त्री भइसकेपछि त क्याफे कर्नर जस्तै भएको छ घर । भाउजू यसो फुर्सदको बेलामा मलाई सुनाउनुहुन्छ ।

घरमा परिवारजनको टाइम एण्ड स्पेस भन्ने कुरै छैन । पाहुना स्याहार्दैमा दिन बित्छ । यतिसम्म कि अरुलाई दूध हालेको सेतो चिया पकाउँदा पकाउँदा आफ्नो जिन्दगी भने कालो फिक्का चिया जस्तै भइसक्यो । तर यो कुरा भनिहाले पनि कसले बुझ्ने र रु नेता कार्यकर्ता आउन छाड्ने होइनन् । नआउ भन्न नमिल्ने, आएपछि चाँडै जाउ भन्न नि नमिल्ने !

पाहुनाहरू चिया मात्र खाँदैनन् । अनौठा अनौठा गफ पनि गर्छन् । आठ कक्षा मात्र पढ्नुभएकी भाउजू कुराका छेउ टुप्पा बुझ्नुहुन्न । तैपनि बैठक कोठामा घनीभूत छलफल चलिसकेपछि उठेर जान पनि नमिल्ने । छेउको सोफामा मोबाइल चलाउँदै सुने जस्तो गर्नुहुन्छ । कहिल्यै नसुनेका गह्रुङ्गा शब्दहरू जोशजोशमा उफार्छन् नेताहरू । घरी भर्खरै गएर देश खाउँला झैं गर्छन्, घरी रुझेको बिरालो झैं लुत्रुक्क पर्छन् । घरीघरी हाँसो उठ्दाउठ्दै पनि मुखभित्रै चपाएर बस्नुहुन्छ भाउजू ।

२० वर्ष पहिले जिल्ला कमिटीको सचिव हुँदा भाउजूलाई मन पराएर घरमा भित्र्याएका हुन् दाजैले । भाउजूलाई पढ्न त मन थियो, तर नेताकी श्रीमती हुन पाइछेस्, पछि मन्त्राणी भनेर बोलाउँछन्, नोकर-चाकरले सलाम ठोक्छन्, घरमा सिन्को भाँच्न पर्दैन भनेर बाले कर गरेपछि बिहे गर्नुभएको हो भाउजूले । बिहे पनि मैनबत्ती बालेर कुन्नि के के हो सलाम गर्न लगाएर मुट्ठी पारेर एकअर्कालाई माला लाएर गरेका हुन् ।

‘बच्चै थिएँ ! केही थाहा थिएन, राजनीतिको स्वप्निल भ्यालीमा अवतरण गर्छेस् भनेर सबैले करकाप लगाएपछि होला नि त भनेर मैले नि गरिदिएँ’, भाउजू कताकता दुःखेसो पोख्नुहुन्छ आजकल ।

‘परीको जस्तै जीवन बाँच्छेस् भनेर बिहे त गर्दिए तर कहाँ त्यस्तो हुनु ? नेताकी श्रीमती हुनुको जस्तो दुःख अरु कसलाई होला र ?’ चिया मात्र होइन खाजा नै खान समेत आइजानेहरू धेरै हुन्छन् घरमा । कोही-कोही त जिल्लाबाटै आएका रहेछन् भने बासै पो बस्छन् दुईचार दिन । माया त लाग्छ नि सबैको, के-के न गर्देलान् ठूला नेताले गाउँठाउँको विकासमा भनेर धाएका हुन्छन् होला तर के गर्नु सबै कुरा एकजनाको हातमा पनि हुँदैन ।

घरमा कामकाज गर्नका लागि एकजना भाइ राखिएको थियो, उसको बुवा बिरामी भएर गाउँ गएदेखि आजकल सबै घरधन्दा भाउजूले नै सम्हाल्दै आउनुभएको छ ।
ठुला-ठुला मिटिङ्ग हुँदा त घरका आँगनभरी चिल्ला गाडीका लस्कर हुन्छन् । छिमेकीहरू नि बरण्डामा आइकन ठुला-ठुला आँखा पारेर हेर्छन् । तर के के नै बाहिर हेर्दा सान जस्तो तर दुःख र मनको पहिरो कसले बुझ्ने भन्ने हुन्छ भाउजूलाई ।

बैठकहरूमा मार्क्सवाद, द्वन्द्वात्मक भौतिकवादका कुराहरू चल्छन् । वर्गका परिभाषाहरू, समाज विकासका चरणहरूदेखि लिएर वैज्ञानिक समाजवादसम्म पुग्छ गफ त । कम्युनिष्ट आन्दोलन, इतिहास, साम्यवाद, क्रान्ति, संगठनात्मक सिद्धान्त, पूँजीवादी अर्थतन्त्र अनि के के हुन् के के रु बुझिनसक्नुका कुरा चल्छन् ।

एकचोटि त भाउजूले प्लेटमा चिया लिएर जाँदै गर्दा पार्टीमा महिला सहभागिता र महिला सशक्तीकरणको पनि चर्काचर्की भाको थियो । भाउजू पुग्नेबित्तिकै रातो निलो हुँदै सबजना चुपचाप भए रे !

जति नै ठूला गफ लगाए नि आजसम्म एकजना नेताले आफूले खाएको चियाको कप धोएर गएको रेकर्ड छैन । अनि केका समानता र महिला पहुँचका कुरा गर्दा हुन् ? भनेर भाउजू मलाई रिस पोख्दै कुरा सुनाउनुहुन्छ ।

आफूले लगाएको गन्हाउने मोजा धुन नसक्नेले कसरी गन्हाएको राजनीतिलाई सफा गर्न सक्छन् हँ यी नेताहरू रुु भाउजू फेरि प्रश्न गर्नुहुन्छ मसँग ।

जिन्दगीहरू घटना र परिघटनासँग सम्बन्धित हुँदा रहेछन् । नितान्त निजी विचार भन्दै कहिलेकाहीं त परिघटना जस्तै उभिएर आफूजस्तै नारीको पक्षमा उभिऊँ जस्तो लाग्छ भाउजूलाई । तर दाइले राजनीतिमा गरेको दुःख सबै बालुवामा पानी हुने डरले चुपचाप बस्नुभएको छ आजसम्म ।

लामो संघर्ष पश्चात् सामाजिक सम्बन्ध, संगठनको रूप र चेतना पनि फेरिन्छ भन्ने लागेको थियो भाउजूलाई तर अहँ ! विचाराधारा त धारा र पानामा मात्र सीमित भयो ! वर्गीय हित र स्थिति जहाँको त्यहीं रह्यो । एकचोटि दाइ मन्त्री हुँदाताका नातागोताले खुब कुरा काट्थे । गलामा सुनको सिक्री लगाउँदा पनि भ्रष्टाचार नै गरेर किने जस्तो मान्थे ।

पहिला संघर्ष गर्दा आफूले आफ्ना सपनालाई त्याग गरेको नदेख्नेहरू अहिले प्रगति गर्दा डाहले मर्छन् । चाडपर्व आउँदा ज्वाईं छोरी बोलाउँदा, भाञ्जा भाञ्जी बोलाउँदा सबैले ठूलै रमझम र दक्षिणाको आस गर्छन् । चुनाव लड्दा लागेको ऋण अझै तिरिसक्या छैन, अर्को चुनाव आइसक्यो । फेरि कहाँबाट पैसाको जोहो गर्ने टेन्सन छँदैछ । तर अरुलाई यिनीहरूका घरमा बोटबाट पैसा फले जस्तो गरेर सोच्छन् । यी यस्तै अनेक कथा र किस्सा छन् भाउजूका ।

भनिन्छ- कम्युनिष्टहरू भौतिकवादी हुन्छन् । ईश्वर, धर्म, पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क, परलोक, बैकुण्ठवास यस्ता काल्पनिक मान्यताको विरोध गर्छन् भन्छन् । तर भाउजूलाई कम्युनिष्ट नेताहरूकै विवाह, व्रतबन्ध आदि निम्तोमा जाँदैमा हैरान छ । नगई पनि नहुने जाँदा अलि कडै उपस्थिति जनाउनुपर्ने ।

अनि घरमा पाहुना लागेर जाँदा त उही नारीको धर्म वा फाटेको कर्म जसरी सबैका जुठा भाँडा माझ्नुपर्ने ! अनि राजनीतिका बेतुके गफ चुट्ने श्रीमानहरूलाई सितन टक्राउनुपर्ने । कम्युनिष्ट थ्योरीमा यो नारीप्रतिको हेपाहा धर्मलाई कसरी ब्युटिफुल धर्म भन्न सकिन्छ र ? भाउजूको प्रश्न रहने गरेको छ ।

चिल्ला गाडीमा अघि पछि सुरक्षासहित गुड्दा समेत गुडिया झैं गुडेको जस्तो लाग्छ रे भाउजूलाई । घर गएपछि घरको जिन्दगी त जेल जस्तै । न केही बोल्न पाउनु छ न श्रीमानको समय पाउनु छ । विष्णु माझीको नयाँ गीत आएको छ नि ‘चरी जेलैमा’ ठ्याक्कै त्यस्तै छ जिन्दगी भाउजूको ।

टिभीमा दाइले बम्किएर दिएको भाषण सुन्दा शंका लाग्छ भाउजूलाई । अरुका अघि महिलाहरूलाई रुढीवादी शासनबाट मुक्त गरेर प्रगतिशील बनाउनुपर्छ भन्छन् । अनि घर आउँदासम्म आफैंले भिरेको सम्मानको कोट पनि फुकाल्ने हुती हुँदैन रे !’

‘आफूले लगाएको गन्हाउने मोजा धुन नसक्नेले कसरी गन्हाएको राजनीतिलाई सफा गर्न सक्छन् हँ यी नेताहरू ? भाउजू फेरि प्रश्न गर्नुहुन्छ मसँग । बोल्दाबोल्दै एकचोटि त दाइले घरमै सबैका मुखिन्जेल आगन्तुकका अघि भनेछन्-अग्रगति र सामाजिक रुपान्तरणका लागि आलोचनात्मक चेत राख्नुपर्छ ।’

भाउजू पनि सुनेर मख्ख हुनुभएछ । दोस्रो दिन दाइको रक्सी खाने बानी माथि आलोचना गर्दै विरोध पनि गर्नुभएछ । ‘पोइको आनीबानी माथि खटन गर्छेस्’ भन्दै पिएकै तालमा भाउजूलाई थर्काएछन् । त्यसपछि त दाइको जिन्दगी भाउजूलाई फिल्म जस्तै लाग्छ । नो रिफरेन्स नो रेसपोन्स । मात्र हेर्ने रमाइलो गर्ने, इग्नोर गर्ने ।

दाइले जनतालाई बिनासित्ती ढाँटेको देख्दा र आफू माथि उठ्न जानीबुझी विवाद सिर्जना गरेको देख्दा भाउजूलाई खपिनसक्नुहुन्छ रे ! सिद्धान्त एकातिर अनि सम्झौता अर्कोतिर गर्दा त झनक्कै पारो तात्छ ।

दाइको राजनीति यहाँसम्म पुग्नुमा भाउजूको पनि ठूलै योगदान छ । तर यान्त्रिक जस्तै उग्र प्रवृत्ति देखाएर एक्लै निर्णय गर्ने दाइको बानी देखेर भाउजू आजित भइसक्नुभएको छ । राजनीतिमा सत्य जहिले पनि शक्तिमा बदलिन्छ भन्छन् तर यसका लागि अल्पमतबाट जोगिन गुटको सहारा लिनुपर्ने रैछ । अनि त्यही गुटको लहरो समातेरै सत्तामा पुग्ने हो । सत्तामा पुगेपछि दान एकातिर पिण्ड र पुण्य एकातिर अनि अनुयायीको पोषण अर्कोतिर ।

‘अनि कसरी हुन्छ त देशको विकास ? भाउजू प्रश्न गर्नुहुन्छ ।भाउजूको जिन्दगी बडो व्यङ्ग्यात्मक भएको छ । कतै जाँदा त नेताकी श्रीमती भन्दै निम्न कोटिको बदनाम नि गर्छन् । आफ्नो अर्गानिक जिन्दगीलाई राजनीतिको पेस्टिसाइडले साइड इफेक्ट त गरेन ? भनी भाउजू सोचिबस्नुहुन्छ ।

दुःखद् कुरा त राम्रो अप्सन नै छैन भाउजूसँग । हरेक हाँसो, रुवाइ, भोक र सबथोकमा राजनीति मिसिएको छ । जसको स्वाद भाउजूले पकाउने र पिलाउने चियाले निर्धारण गर्छ ।

‘म त अति रोचक स्वास्नी मान्छे हुँ तर राजनीतिको बन्दी भएर बाँचिराछु । घरको पर्खाल र आफ्नो पहिरन भन्दा पनि मलाई श्रीमानको राजनीतिले बन्दी बनाएको छ । हरेक चुनाव, हरेक भाषण, हरेक शपथ ग्रहण, हरेक लाञ्छना, हरेक जयजयकार र हरेक तिरस्कारले कतै न कतै च्यापे जस्तो, बेरे जस्तो अनि थिचे जस्तो हुन्छ ।

श्रीमान नेता भए भन्दैमा मलाई किन राजनीति जान्नु छ र ? मलाई किन चिया पकाएर बस्नु छ र ? मेरो आफ्नो जिन्दगी छैन र ? जुठा कपहरू सँगसँगै म किन उनिएर, गाँसिएर बसूँ ? भाउजू आफ्ना मनका तिता पोख्नुहुन्छ ।

‘म आराम छु । कुशल मंगल छु भन्दै कति दिन नाटक गरेर ठुला ठुला नेताहरूसँग देखभेट गरुँ ? के पाउँछु चिनेर ? के पाउँदिन नचिनेर ? मेरा छोराछोरीलाई श्रीमानको फोर्स लगाउन नि नपरोस्, आफैं क्षमतावान् हुन् बरु ।’

अब भाउजूलाई जिज्ञासा, तर्क र चेतनाले भरिपूर्ण भएर आफैंभित्र विद्रोह आर्जन गर्न मन छ । त्यसको झिल्कोले देशभरिका नेताका श्रीमतीहरूको पक्षधरता गर्न सकोस् । ठीकै छ ! नेता पावरफूल छन् । तिनकै छहारी लाएर हिंड्न चाहन्छु भन्नेहरूलाई त केही भन्नु छैन । तर संसारको सबैभन्दा सुन्दर मस्तिष्क नेताकी श्रीमतीको खोपिल्डोमा हुन्छ भनेर देखाउन मन छ भाउजूलाई । कुनै दिन देशको फस्ट लेडी हुन पाइयो भने जनताले उदाहरणमा गन्ने मान्छे हुन मन छ भाउजूलाई ।

आफ्नो मन मारेर चियाको कप धुने आत्मघाती निर्णयबाट धेरै माथि उठ्न पनि सक्छन् नारीहरू भनेर देखाउन मन छ रे ! शुभकामना भाउजूलाई ।

[ad_2]

साभार

सम्बन्धित खवर