[ad_1]

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन पुगेको छ । यसमा अर्को पुस्ताको हस्तक्षेपको आवश्यकता महसूस हुन थालेको छ ।

नेतृत्व पुस्तान्तरण

हामीले समय-समयमा राजनीतिमा पुस्तान्तरणको छलफल नसुनेका पनि होइनौं । ‘यो पुस्ताले सक्दैन, नयाँ पुस्तालाई मौका दिनुपर्छ ।’ यो भनिरहँदा यो पनि बुझ्नुपर्छ कि नेतृत्व लामो प्रक्रिया, सङ्घर्ष र गतिशीलताबाट जन्मिने कुरा हो । जोखाना हेरेर होइन । यो भनेर पन्छिने छुट पनि कसैलाई छैन । हाम्रो प्रणाली नै यस्तो छ कि नेताले कार्यकर्ता छान्छ र तिनै कार्यकर्ताले नेता छान्छन् । पार्टीमा गुट पनि यहींनेर जन्मिन्छ, चाकडी पनि यहींनेर शुरु हुन्छ । पुस्तान्तरणको प्रक्रिया पनि यहीं अवरुद्ध हुन्छ ।

नेतृत्व पुस्तान्तरण भनेको एउटा उमेर समूहको सट्टा अर्को उमेर समूहले नेतृत्व गर्ने मात्र हो बुझ्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । नेतृत्व पुस्तान्तरण भनेको उमेर समूहको पुस्तान्तरण मात्र नभएर एजेन्डा र दृष्टिकोणको पुस्तान्तरण हो । दृष्टिकोण विना एजेन्डा निर्माण हुँदैन र एजेण्डा विना राजनीतिको अर्थ छैन । त्यसैले हुबहु समान दृष्टिकोण रहेको फरक उमेर समूहको पुस्तान्तरण भनेको बिरालोलाई बाघको खोल ओढाउनु मात्र हो ।

दृष्टिकोण अध्ययनसँग जोडिन्छ तर हाम्रो प्रणालीमा अध्ययन चाकडीको अगाडि गौण बनिदिन्छ । ठूलो मान्छेको चाकडी गर्ने मान्छेले आफूलाई पनि कसैले चाकडी गरिदेओस् भन्ने अपेक्षा गर्छ । आफूले कसैलाई माईबाप मानेकाले कसैले आफूलाई पनि मानिदेओस् भन्ने अपेक्षा गर्छ । अनि पुरानै राजनीतिक संस्कार र प्रक्रिया दोहोरिन्छ, तेहरिन्छ ।

कस्तो नेतृत्व ?

अब आउनुहोस्- छलफल गरौं अबको नेतृत्व कस्तो हुन्छ पर्छ भनेर । सामान्य अर्थमा भन्दा नेतृत्व सामुन्ने भएको काम पूरा गर्न सक्ने योग्यता भएको हुनुपर्दछ । सुन्दा सामान्य लागे पनि यो एकदमै गहन विषय हो । काम पूरा गर्न सक्ने मात्र हैन प्रभावकारी र कुशलतापूर्वक गर्न सक्ने । नेता इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ । पृथ्वीनारायणको बेला लड्ने क्षमता चाहिन्थ्यो भने बीपी र पुष्पलालको बेला सोच्ने र निर्णय गर्ने क्षमता । अब गणतन्त्रको जगमा बसेर सामाजिक असमानता कम गर्दै आर्थिक, सामाजिक समस्या हल गर्ने क्षमता भएको नेतृत्व आवश्यक छ ।

अबको नेतृत्व समाजको नेतृत्व गर्न ज्ञान-विज्ञान, कूटनीति र भू-राजनीति बुझ्नुपर्छ । समाजशास्त्र, मानवशास्त्र र अर्थशास्त्र बुझ्नुपर्छ । यी सबैलाई व्यवस्थापन गर्ने राजनीतिक प्रणाली पनि बुझ्नुपर्छ र उन्नत प्रणाली कस्तो हुन्छ भनेर सोच्न सक्ने हुनुपर्छ ।

आईक्यू, ईक्यू भन्ने हुन्छ । राजनीतिक नेतृत्व भनेको ज्ञान र बुद्धिको संयोजन मात्र हो भन्नु मूर्खता हो । त्योभन्दा बढी भावनात्मक परिपक्वताको संयोजन पनि हो । त्यसैले अबको नेतृत्वमा ज्ञानसँगै भावनात्मक परिपक्वता र कन्भिन्सिङ क्षमता पनि अनिवार्य शर्त हो । नेतृत्व सिद्धान्त र विचारमा असल मात्र भएर पुग्दैन, वेगवान् र गतिशील पनि हुनु आवश्यक छ । उसलाई स-साना उल्झनमा अल्झिने छुट हुँदैन ।

यसरी राजनीतिक पुस्तान्तरणको कुरा गरिरहँदा पनि तपाईंलाई राजनीति फोहोरी खेल हो भनेर लागिरहेको होला । तर तपाईंले यो बुझ्नुपर्छ कि राजनीति फोहोरी खेल नभएर फोहोरी खेलाडीले धमिलो बनाएको सफा र स्वच्छ सागर हो । राजनीति सकारात्मक परिवर्तनका लागि, जनता र जनजीविकाका सवालका लागि, सामाजिक न्यायसहितको समृद्धिका लागि, सामाजिक, आर्थिक रुपान्तरणका लागि गरिने प्रयत्न हो । राजनीति भनेको राज्यको सञ्चालन वा रेखदेख गर्ने सर्वोच्च नीति हो ।

ठूलो माछाले सानो माछा नखाओस् भनेर कानून राख्ने, न्याय दिने, सुशासन कायम गर्ने काम राज्यले गर्न सक्नुपर्छ । राज्य र समाजको व्यवस्थापन, सञ्चालन, रक्षा र उन्नयनको निम्ति गरिने प्रयत्न हो । तत्काल समाजमा विद्यमान मुख्य अन्तरविरोध समस्या हल गर्ने साधन राजनीति हो । एक आयामिक हैन बहुआयामिक प्रक्रिया हो राजनीति । देश भेटाउने र छाम्ने माध्यम नै राजनीति हो । यस्तो पवित्र उद्देश्य सहितको कार्यलाई फोहोरी खेल भन्न आजैबाट छोड्नुपर्छ ।

राजनीतिको फोहोर सफा गरौं, नभागौं

अहिले त राजनीति फरक सङ्गठनहरू बीचको, फरक नेतृत्व समूहबीचको सत्ता सङ्घर्ष मात्र भएको छ । यस पवित्र गङ्गामा पसेर फोहोर गर्न खोज्ने फोहोरी खेलाडीहरूलाई नाङ्गेझार पार्नुपर्छ । फोहोर साफ गर्न लागेकाहरूलाई फोहोर लाग्न पनि सक्छ । त्यसो भन्दैमा फोहोरबाट भाग्नुहुँदैन । सामना गर्ने आँट गर्नुपर्दछ । सबैले राजनीति गर्नुपर्छ भन्ने छैन तर सबैमा राजनीतिक चेत चाहिं अवश्य चाहिन्छ । तपाईं जस्तै त्यो फोहोर साफ गर्न छिरेका सच्चा राजनीतिज्ञहरूलाई फोहोर लगाइदिन खोजिएको पनि हुन सक्छ । सच्चा राजनीतिज्ञलाई पहिचान गरी साथ, सहयोग र समर्थन गर्नुपर्दछ ।

१९औं शताब्दीका महान् दार्शनिक कार्ल मार्क्सले अर्थतन्त्रलाई समाजको जग मानेका थिए । उनले अर्थतन्त्रलाई ‘आधार’ र सामाजिक संस्थाहरू तथा ऐन, कानूनलाई सो आधारमा बनेका ‘उपरीसंरचना’ मानेका थिए । आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनीतिक व्यवस्था आधारित हुन्छ । आर्थिक व्यवस्था स्रोत साधनको बाँडफाँड, उत्पादन र वितरणसँग सम्बन्धित छ । यसको असन्तुलित वितरणले समाजमा वर्गको निर्माण गर्छ, अन्तर्विरोध उत्पन्न गराउँछ । उनको विचारमा समाजमा विद्यमान मुख्य अन्तरविरोध समस्या हल गर्ने साधन राजनीति हो ।

राजनीतिले उत्पादन पद्धति, उत्पादनको साधनमा भएको स्वामित्व र उत्पादन सम्बन्ध (स्वामित्व र वितरण) मा परिवर्तन गरी समग्र मानव सभ्यतालाई विभेदरहित, वर्गरहित ढङ्गले विकास गर्ने प्रयत्न गर्छ । यसको भित्री संरचना आर्थिक व्यवस्था हो र उपरीसंरचना राजनीति हो । त्यसैले राजनीतिलाई अर्थव्यवस्थाको आँखाले हेरिनुपर्दछ । त्यसका साथै सङ्गठनात्मक सिद्धान्तहरू पनि पर्दछन् ।

सांसदको टिकटदेखि निर्वाचनसम्म करोडौं खर्च हुनेहुँदा भुइँमान्छेले सांसद्मा उठ्न र जित्न सम्भव छैन । संसदीय निर्वाचनमा भोट हाल्ने दिनसम्म मात्र मतदाता शासक हुन्छ । त्यसपछि सांसद शासक हुन्छ

त्यसैले राजनीतिक आस्थालाई धर्म जस्तो नबनाएर कस्तो आर्थिक प्रणाली अपनाउँदा देशको मुहार फेर्न सकिन्छ भन्ने दृष्टिकोणले हेर्नुपर्छ । एक देशमा सफल भएको आर्थिक प्रणाली अर्को देशमा असफल हुन पनि सक्छ । त्यसैले राजनीतिक सिद्धान्तमा माटो सुहाउँदो मौलिकता पनि आवश्यक पर्दछ । पार्टीको चयन पनि यी विविध पक्षको सूक्ष्म अध्ययनका आधारमा गरिनुपर्दछ । त्यसका निमित्त तपाईंलाई तपाईको समाज, समाजका समस्या र अन्तरविरोध तथा समाधानका उपायको चेतको आवश्यकता पर्दछ । राजनीतिक व्यवस्था आर्थिक व्यवस्थामा आधारित हुन्छ भन्ने कुरा स्वीकार गर्दै मार्क्सले यस आर्थिक व्यवस्थाको अध्ययनमा सबैभन्दा बढी ध्यान दिएका थिए ।

कस्तो अर्थव्यवस्था ?

बजार कट्टरपन्थ वा राज्य कट्टरपन्थमा विभक्त नभई आर्थिक व्यवस्थाका विशेषता विशुद्ध अर्थशास्त्रीय आँखाले राखेको छु । विश्वमा तीन प्रकारको राजनीतिक अर्थतन्त्र रहेको छ- पूँजीवादी, समाजवादी र मिश्रित ।

पूँजीवादी अर्थव्यवस्थाका प्रमुख विशेषताहरू निजी सम्पत्ति, मुनाफाको महत्व, योजनाबद्ध नियन्त्रणको अभाव, सामाजिक वर्गीकरण आदि हुन् । त्यस्तै, समाजवादी अर्थव्यवस्थाको प्रमुख विशेषताहरू सामाजिक स्वामित्व, केन्द्रीय योजना, आर्थिक वितरणमा समानता, सामाजिक कल्याणको उद्देश्य, बेरोजगारी समस्याको समाधान आदि हुन् । मिश्रित अर्थव्यवस्थाका विशेषताहरूमा निजी तथा सार्वजनिक दुवै विद्यमान, आर्थिक योजना, सन्तुलन, सहयोगात्मक, सीमित स्वतन्त्रता आदि रहेका छन् ।

राजनीतिक सिद्धान्तको विभाजनमा जहिले पनि दुइटा शब्द महत्वपूर्ण रहे- स्वतन्त्रता र समानता । व्यक्ति, निजी कुरा, निजी सम्पत्ति महत्वपूर्ण हो, सबै चिज हुन्छ भनेर स्वतन्त्रतालाई महत्व दिने दर्शन पूँजीवाद हो । समानता, सामूहिकता महत्वपूर्ण कुरा हो । सम्पत्तिलाई राष्ट्रियकरण गर्दै जानुपर्छ, धनी र गरीबबीचको खाडल पुर्न सकिन्छ । निजी सम्पत्तिलाई अन्त्य गर्न सकिन्छ भन्ने सिद्धान्त साम्यवादी हो । समाजवादले समानताको मूल्यमा स्वतन्त्रता रोज्न सकिन्न, स्वतन्त्रताको मूल्यमा समानता रोज्न सकिन्न भन्छ । साम्यवादले समाजवाद साम्यवादको पूर्व बेला हो भन्छ ।

समाजवादमा उत्पादनका सम्पूर्ण साधन सामाजिक हुन्छन् । योग्यता अनुसारको काम र काम बमोजिमको दाम । समाजवादी समाजको पूर्ण विकासले साम्यवादको भौतिक आधार तयार गर्दछ र साम्यवादी विकासले साम्यवादी समाजको संक्रमण गर्दछ । सम्पत्तिको व्यक्तिगत स्वामित्व अन्त्य भई सामाजिक स्वामित्व स्थापित भए वर्ग रहँदैन । वर्ग सङ्घर्ष रहँदैन । त्यही स्थिति साम्यवादी हो ।

साम्यवादी वर्गहीन समाज हो । यसमा उत्पादनका साधन माथि जनताको स्वामित्व हुन्छ । समाजमा प्रत्येक सदस्यसँग समानताको आधारमा व्यवहार हुन्छ ।

यस बारेमा एउटा बिम्ब निकै प्रचलित छ । यदि तिमीसँग दुईवटा गाई छ भने पूँजीवादले एउटा गाई बेच, साँढे किन र उत्पादन बढाऊ भन्छ । समाजवादले एउटा छिमेकीलाई देऊ, एउटा आफू पाल भन्छ । साम्यवादले दुवै सरकारलाई देऊ, घाँस हाल, चाहिने जति उपयोग गर भन्छ । फाँसीवादमा दुवै सरकारलाई देऊ, प्रतिफल केही पाउँदैनौं, बकबक गरे गोली हानिदिन्छु भन्छ ।

कस्तो एजेन्डा, कुन दृष्टिकोण ?

यति छलफल गरिरहँदा हामीले यो पनि बुझ्नु जरूरी छ कि जति सिद्धान्तका गफ फलाके पनि व्यावहारिकतालाई पन्छाउन मिल्दैन । विकासका निम्ति परिस्थिति, धरातल र वातावरणको निर्माण नगरेसम्म केही हुनेवाला छैन । त्यसको लागि हामीले परिवर्तन तथा परिष्कार गर्नुपर्ने केही विषय पेश गरेको छु ।

१. शासकीय स्वरूपमा परिवर्तन
२. सुदृढ कर्मचारीतन्त्र
३. राष्ट्रिय एकता
४. सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध
५. लगानी प्रवर्धनमुखी नीति
६. योजना र अनुगमन तथा मूल्यांकन
७. राजनीतिक स्थायित्व

१. शासकीय स्वरूप

विष रोपेर अमृत फल्दैन भन्छन् । जब प्रणाली खराब हुन्छ, त्यसले बाईप्रोडक्टमा भ्रष्टाचार गर्छ । हाम्रो राजनीतिक प्रणाली एकदमै महङ्गो छ । खर्चिलो निर्वाचन पद्धतिले राजनीतिलाई व्यापारमा परिणत गर्न खोजेको देखिन्छ । राजनीति शुरु हुन्छ समाजसेवाबाट । त्यसमा आफ्नो खल्तीबाट केही लगानी गर्नुपर्छ । संसदीय प्रणालीमा हुने यही हो ।

सांसदको टिकटदेखि निर्वाचनसम्म करोडौं खर्च हुनेहुँदा भुइँमान्छेले सांसद्मा उठ्न र जित्न सम्भव छैन । संसदीय निर्वाचनमा भोट हाल्ने दिनसम्म मात्र मतदाता शासक हुन्छ । त्यसपछि सांसद शासक हुन्छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद आजको आवश्यकता हो । सांसदलाई कानून निर्माणमा मात्र लगाएर, विभिन्न विज्ञलाई कार्यपालिकामा जिम्मेवारी दिएमा भ्रष्टाचारको न्यूनीकरण र कार्यपालिकाको गुणस्तरमा एकैसाथ परिवर्तन गर्न सकिन्छ । स्थानीय निकायलाई सक्दो बलियो र पारदर्शी बनाउनु आवश्यक छ ।

२. सुदृढ कर्मचारीतन्त्र

सार्वजनिक कर्मचारीतन्त्रलाई व्यवस्थापनको वृत्त बाहिर हो भनेर ट्रेड युनियन चलाउन दिएको स्वतन्त्रता खारेज गरिनुपर्छ । सार्वजनिक कर्मचारीतन्त्रलाई राजनीतिको विवादमा फसाउनुहुँदैन । राजनीतिक हस्तक्षेपबाट टाढा राखिनुपर्दछ । कर्मचारीतन्त्र थप आधुनिक, प्रविधिमैत्री र कर्मचारीलाई कुशल बनाउन आवश्यक छ ।

३. राष्ट्रिय एकता

हामीकहाँ मूलतः वर्गको निर्माण जात व्यवस्थाले गरेको हो । जाति, लिङ्ग, रङ्गका आधारमा गरिने विभेदको अन्त्य आवश्यक छ । सत्ताको नश्लीय चिन्तनको अन्त्य अत्यन्त जरुरी छ । नागरिकतामा नाम थररहित गरिए देखिंदै आएको एक तहको जातीय विभेद पनि कम हुँदै जान्छ । धोती लगाएको कालो वर्णको व्यक्ति देख्दासाथ आउने नश्लीय सोचको अन्त्य जरुरी छ । नश्लीय राष्ट्रवाद हैन, राष्ट्रिय एकतासहितको देशभक्ति जगाउन सके मात्र राष्ट्रिय विकासमा हातेमालो गर्न सकिन्छ ।

४. सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

हाम्रो भौगोलिक अवस्था सम्भावना बोकेको तर एकदमै संवेदनशील पनि छ । भू-राजनीतिक अवस्थाले हामीलाई सम्भावना र जोखिम उत्तिकै छ । सामरिक स्थल बन्ने डर पनि छ । अर्कोतर्फ दुई ठूला बजारको बीचमा रहेकोले सम्भावना पनि ठूलै छ । जीडीपीका आधारमा दोस्रो र सातौं, निकट भविष्यमा पहिलो र तेस्रो स्थानमा रहने दौडमा रहेका चीन र भारत जस्ता ठूला बजार हुनु निकै सम्भावनाको कुरा हो । सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सके हाम्रा उत्पादनलाई बजारीकरण गर्न समस्या पर्ने छैन ।

५. लगानी प्रवर्धनमुखी अर्थनीति

विकासको प्रमुख शर्त लगानी र उत्पादन तथा व्यवस्थापन हो । लगानीको प्रवर्धनबाटै देशको आर्थिक स्तर बढाउन सकिन्छ । तर हाम्रो अर्थतन्त्र विप्रेषणमा आधारित छ, आर्थिक वृद्धिको आन्तरिक आधार तयार भएको छैन, व्यापार आयातमा निर्भर छ । उपयोगी प्रवृत्ति कायमै छ । वर्तमान अवस्थामा देशमा पूँजीको कमी रहेको हुँदा निम्न तीनखुट्टे रणनीति बनाई अघि बढ्नु उपयुक्त हुनेछ-

क. समृद्धिका लागि वैदेशिक लगानी,

ख. संरक्षणका लागि योगदानमा आधारित अर्थव्यवस्था, र

ग. सबलीकरणका लागि उत्पादन र उत्पादकत्वमुखी कार्यक्रम ।

६. योजना र अनुगमन तथा मूल्याङ्कन

बढ्दो बेरोजगारी घटाउन शुरुमा श्रममूलक क्षेत्र जस्तै कृषिमा बृहत् अध्ययन र मूल्याङ्कन सहितको योजना निर्माण, अनुगमन र मूल्याङ्कन आवश्यक छ । औद्योगिक क्षेत्र संकुचित हुँदैछ । कृषि क्षेत्रमा मौसमको निर्भरता तथा भारतीय बजारप्रतिको प्रभाव कायमै छ । वित्तीय क्षेत्रको आय र उत्पादनशीलतामा ह्रास आएको छ । पर्यटकीय क्षेत्रमा पर्यटक संख्या बढे पनि प्रतिव्यक्ति र समग्रमा आय घटेको छ । विप्रेषणबाट आएको रकम उत्पादनशील क्षेत्रमा प्रवाहित हुनसकेको छैन । राजस्व क्षेत्रमा चुहावट नियन्त्रण र परिचालन आवश्यक छ ।

सामाजिक सेवाको क्षेत्रमा पहुँच बढे पनि प्रभावकारिताको दृष्टिले अवस्थामा खासै सुधार आएको छैन । शिक्षामा दोहोरो मापदण्ड कायमै छ । शिक्षा र स्वास्थ्यमा राज्यको पकड गुम्दैछ । शिक्षा रोजगारमूलक भन्दा अनुत्पादक र बेरोजगारमूलक छ । नेपालको प्राकृतिक सम्पदाको नीतिगत अस्थिरता छ र व्यवस्थापन पक्ष भताभुङ्ग । भ्रष्टाचारको थलो बनेको छ ।

सरकारी कार्यक्रममा नीतिगत अस्थिरता, दण्डहीनताको स्थिति, वस्तु तथा सेवाको आपूर्ति व्यवस्था लथालिङ्ग र सेवाको गुणस्तर खस्कँदो छ । विकास कार्यको प्रगतिको समीक्षा गर्ने वैज्ञानिक परिपाटीको अभाव छ । कार्यक्रमको प्रगति तथा उपलब्धिलाई त्यसको प्रभाव तथा भौतिक उपलब्धिभन्दा खर्च र अन्य कागजी प्रक्रियालाई नै प्रगतिको रूपमा देखाउने प्रवृत्ति हावी छ । आय तथा खर्च प्रक्षेपण कार्य वैज्ञानिक तथा वस्तुगत तथ्यका आधारमा नभई परम्परागत शैलीमा हुने गरेको छ । राष्ट्रिय योजना आयोगलाई थप वैज्ञानिक र व्यावहारिक गराउनु आवश्यक छ ।

फेरि पनि यी सबै कुराको फ्रेमवर्कको लागि राजनीति नै आवश्यक पर्दछ । राजनीति गर्ने मानिस दुई प्रकारका हुन्छन् –

एक- एउटा कुनै सपना लिएर, विद्वत्ता लिएर, कुनै परिकल्पना लिएर, भिजन लिएर, समाजमा यसो गर्छु, समाजलाई यसरी अघि बढाएर जान्छु भन्छ । तिनीहरू आफ्नो सपनाका लागि, परिकल्पनाका लागि, विद्वत्ताका लागि, सिद्धान्तका लागि कुनै पनि दुःख खप्न तयार हुन्छन् । जेल जान्छन्, परे फासी चढ्छन् । घरपरिवारको कुनै पर्वाह नगरी पार्टी कार्यालय दौडिन्छन् ।

अर्को हुन्छ : जसको लागि कुनै सपना कल्पना हुँदैन । उसको सपना राजनीति गर्नका लागि राजनीति गर्ने हुन्छ । उसका लागि राजनीति खाने बाटो हुन्छ, कमाउने बाटो हुन्छ, घर बनाउने बाटो हुन्छ । पजेरो जोड्ने बाटो हुन्छ ।

यो अन्तर युवापिंढीले बुझ्नुपर्छ र पहिलो किसिमको राजनीतिक कार्यकर्ता, पहिलो किसिमको कवि, पहिलो किसिमको लेखक, पहिलो किसिमको कर्मचारी, पहिलो किसिमको डाक्टर, पहिलो किसिमको इन्जिनियर, पहिलो किसिमको पत्रकार, पहिलो किसिमको भोटर बन्नुपर्छ पूरै समस्या हल हुन्छ ।

(लेखक टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र युवा अभियन्ता हुन् ।)

[ad_2]

साभार

सम्बन्धित खवर