[ad_1]

भारतीय पत्रकारले त्यहाँका एक नेताजीलाई अन्तर्वार्ताको शुरूमै सोधेछन्, ‘आम आद्मीके सवाल पे आपका क्या ख्याल हंै नेताजी Û’ नेताजीले पत्रकारतिर हेर्दै भनेछन् ‘देखिए, अब तो अक्टुबर शुरु हो चुका हैं, जून मे वात करें भाइ आम आद्मीके सवाल मे’ उनको उत्तरको तात्पर्य थियो आँप सिद्धिएको महीनामा आँप बेच्ने मान्छेका विषयमा के सवाल जवाफ गर्ने ? यसमा ती नेताजीको विल्कुल दोष छैन, आम आद्मीलाई आँप बेच्ने मान्छे सम्झने ज्ञान भएको व्यक्तिलाई राजनीतिको त्यो स्थान दिलाउने मतदाता, प्रथा र व्यवस्था सबै समान रूपमा दोषी छन् ।

मेलम्चीबाट पानी नआउने भयो नेताजी ! कसैले नेपालका नेताहरूलाई सोध्यो भने आकाशबाट पानी परिरहेको समयमा मेलम्चीको के कुरा गर्नु भन्लान्, शायद । यही प्रश्न पुनः खडेरीको समयमा कसैले सोध्यो भने महाखडेरीको सिजनमा पानीको के कुरा गर्नु पछि असारमा गरौं भन्ने हुन् कि ?

मान्छे आत्तिएको वा अत्यन्त ठूलो संकट र मृत्यु सम्मुखको अवस्थामा कि ‘आमा’ कि ‘पानी’ भन्छ । अरबौं सम्पत्तिका मालिकहरू पनि जीवनको अन्तिम घडी-पलामा चम्चाबाट पानीको थोपा निल्न बल गरिरहेका हामी सबैले देखेका छौं । पानी कति महत्वपूर्ण छ भन्ने कुराको दृष्टान्त हो, यो । मान्छेको बाँच्ने जिजीविषा पानीका लागि मृत्युशय्याबाट गरिने आग्रहले प्रमाणित गर्दछ । यो कुनै भावनात्मक, भावावेश र आवेगप्रेरित टिप्पणी होइन । जीवनको नियति, जीवनका लागि महत्वहरूको प्राथमिकताहरूमध्येको सबभन्दा प्राथमिक तत्वको सम्पुष्टि हो ।

प्राकृतिक विपत्तिले मेलम्ची गयो । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद शेरबहादुर तामाड जलवायु परिवर्तनको दृश्य घटना ठान्छन् मेलम्चीमाथि आएको बाढीपहिरो र प्राकृतिक विपत्तिलाई । उनको जलवायु परिवर्तनबाट नागरिक जोगाउने चासो हुटहुटीमा परिवर्तन भएको बोध कमसेकम पनि मलाई चैं छ ।

प्राकृतिक कारणले संसारमा धेरै भौतिक पूर्वाधारहरू नाश भएका उदाहरण प्रशस्त छन् । तर ती पूर्वाधारबाट सेवा लिइरहेका नागरिकहरूलाई वैकल्पिक व्यवस्थाका लागि सरकारहरू सक्रिय हुन्छन् । नागरिकहरू प्रश्न उठाउँछन्, विधायकहरू जनचासोलाई संसदमा उजागर गर्छन् ।

 आफूप्रति नेताहरूको दयाभाव पलाउनका लागि नेपालीजनले कति वर्ष तपस्या गर्नुपर्ने हो । आश गरेको नै ३२ वर्ष नाघिसक्यो । अरू कति वर्षको तपस्यापछि नेता नामका ब्रम्हाजीहरूले नागरिक नामका मत्र्यलोकका दीन-दुःखीहरूप्रति नजर फर्काउने हुन् ?

प्राकृतिक विपत्तिले मेलम्ची त गयो गयो, तर दीर्घकालीन रूपमा पानी आपूर्ति गर्ने स्रोत र माध्यम के हुन सक्छ ? सरकार, राजनीतिक दल, नागरिक र प्राविधिकहरूको ध्यान यता जानु पर्दैन र ? आक्रामक राजनीति र संगठनहरूलाई सक्रिय संचालन गर्ने नेपालका राजनीतिक दलहरूको ध्यान पनि तानिनुपर्ने हो यसमा ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सांसदहरूले सरकारलाई निरन्तर सोध्नुपर्ने हो मेलम्चीमा भएको के हो ? मेलम्चीले अब आउने दिनमा काठमाडौंलाई पानी आपूर्ति गर्न सक्छ सक्दैन ? सक्छ भने कहिलेसम्म मेलम्ची मर्मत हुन्छ ? सक्दैन भने राजधानीका लागि पानीको वैकल्पिक व्यवस्था के हुन सक्नेछ ? कछाड बेरेर लिगलिग कोटको राजा हुने दौडमा निस्किएको राजनीतिको दोस्रो पुस्ता पनि मेलम्चीको पानीका विषयमा बोल्दैन, यहाँ राजनीति गर्नु भनेको के हो ? संसारमा राजनीतिका इस्युहरूमा व्यापक परिवर्तन आइरहेको छ ।

पानी, खाद्य वस्तुको उत्पादन, जलवायु परिवर्तन, हावा र पानीको प्रदूषण नियन्त्रण, प्राकृतिक अक्सिजनको आपूर्ति, मानव मात्र नभएर समग्र प्राणीहरूको स्वास्थ्य जीवनचक्र र प्रकृतिको नैसर्गिक जीवनचक्र संचालनमा मानवीय संवेदनशीलता, पृथ्वीको तापमान नियन्त्रण जस्ता विषयमा पो संसारका सरकारहरू महत्व दिइरहेका छन् । नेपालको राजनीतिमा यी विषयवस्तु एजेण्डाका रूपमा आउने कहिले ? जर्मनी जस्तो अत्यन्त सम्पन्न देशका चान्सलर एन्जेला मर्केलले अबको चुनौती नै जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव हो भनेकी छिन् ।

नेपाली नागरिकले पुराण सुनेका र पढेका छन् । धर्मनिरपेक्षताको राजनीतिक वैचारिकीका अभियन्ताहरू पनि आमाका काखमा बसेर प्रकृति पूजा, पुराण, हिन्दू शास्त्रीय श्लोक र धार्मिक कहानी सुनेरै आजको अवस्थामा आइपुगेका हुन् । पौराणिक कालमा महाऋषि शुक्रले दिव्य १२ हजार वर्ष तपस्या गरेपछि शिवजीको वरदान पाएका थिए । आफूप्रति नेताहरूको दयाभाव पलाउनका लागि नेपालीजनले कति वर्ष तपस्या गर्नुपर्ने हो । आश गरेको नै ३२ वर्ष नाघिसक्यो । अरू कति वर्षको तपस्यापछि नेता नामका ब्रम्हाजीहरूले नागरिक नामका मत्र्यलोकका दीन-दुःखीहरूप्रति नजर फर्काउने हुन् ?

काठमाडौंमा दिनको ४१ करोड ५० लाख लिटर पानी आवश्यकता छ । मेलम्चीले १७ करोड लिटर आपूर्ति गर्ने आकलन थियो । अब मेलम्ची ‘लंकामा सुन छ कान मेरो बुच्चै’ हुन पुग्यो । मेलम्ची गएपछि काठमाडौंका मानिस कहाँको पानी प्रयोग गर्ने हुन् ? काठमाडौंबाट लगभग दिनको सात करोड लिटर पानी उत्पादन हुन्छ । काठमाडौं वरिपरिका डाँडाहरूबाट आउने पानी र भूमिगत पानीबाट आउने यति हो । चालीसको दशकमा मातातीर्थको धारामा जति पानी थियो अहिले त्यति छ ? म मातातीर्थ वरिपरिका ‘विकास’प्रेमी मानिसलाई सोध्न चाहन्छु ।

काठमाडौंमा (बनेपा र धुलिखेल पनि) स्थायी बसोबास गर्ने जनसंख्या ३० लाखको हाराहारी छ । अनुमानित तर अप्रमाणित तथ्यांक अनुसार झण्डै १५ लाख मानिस यहाँ अस्थायी बसोबास गर्दछन् । आन्तरिक र बाहृय पर्यटकहरू पनि गणना गर्ने हो भने काठमाडौंमा दिनको ५० लाख मानिसले पानीको उपभोग गर्दछन् ।

९ करोड लिटर पानी उत्पादन हुन्छ भन्ने सरकारी तथ्यांक देखिए पनि काठमाडौंबाट दैनिक ६ देखि सात करोड लिटर मात्रै पानी उत्पादन हुन्छ । पचास लाख जनसंख्यालाई भाग लगाउँदा एक जनालाई सरदरमा दिनको १४ लिटर पर्न आउने रहेछ । यो पनि समानुपातिक र न्यायिक वितरण भएको अवस्थामा । काठमाडौंमा पानीको न्यायिक वा समानुपातिक वितरण कम्तीमा पनि आजका दिनसम्म कल्पना गर्न सकिने कुरा होइन ।

पेट, मुटु वा मिर्गौलाका डाक्टरहरूले कम्तीमा पनि दिनको तीन लिटर पानी पिउने सल्लाह दिइरहेका हुन्छन् । अब एक जनालाई ११ लिटर पानी बाँकी रहृयो । कोभिडका कारण सरकारले दिनको कैयौं पटक अर्थात् कुनै चिज छुने वित्तिकै हात धुन प्रेरित गरिरहेको छ । जनताले पनि हात धुनुपर्ने रहेछ भन्ने सिकेका छन् । एक पटक हात धुन आधा लिटर नै लाग्यो भने पनि दिनमा कम्तीमा १० पटक हात धोयो भने पाँच लिटर पानी सकियो, अब ६ लिटर बाँकी रहृयो ।

बाँकी ६ लिटरले ट्वाइलेटजन्य प्रयोग, मुख धुन लगायतमा पाँच लिटर प्रयोग गरियो भने अब जम्मा एक लिटर पानी बाँकी रहृयो । खाना पकाउन पनि त पानी चाहियो ।

सरकार, सामाजिक संजाल र संचारमाध्यमहरूले फलफूल तथा तरकारी राम्ररी धोइपखाली गरेर खान सन्देश दिइरहेका छन् । नागरिक पनि सरकार र सामाजिक दुनियाँका यी सुझावहरूलाई मनन गरिरहेका पाइन्छन् ।

अब यसका लागि कति लिटर पानी चाहिएला बाँकी रहेको एक लिटरले तरकारी पखाल्न, खाना पकाउन, लुगा धुन र नुहाउन पुग्छ ? जंगबहादुरको बेलायत यात्राको समयमा फ्रान्सका अखबारहरूले लेखेका छन्, महाराज र उनको भ्रमण टोलीका सदस्यहरू ननुहाई खाना खाँदैनन्, तर एक लिटर पानीले पूरै जीउ नुहाउँछन् भनेर लेखेका थिए, कि आज पनि हामी नेपाली फ्रान्सका अखबारले भने जस्तै छौं कि ?

पानीको संभावित हाहाकारको यो सूचना मानिसलाई तर्साउन होइन । हामीले मत दिएर सरकार बनाउन पठाएका दल (विपक्षीहरू समेत किनभने विपक्षी नेता र विपक्षी दलका सांसदहरूले पनि राज्यबाट सेवा सुविधा प्राप्त गरिरहेका छन्, उनीहरू पनि सत्ता नै हुन्) र तिनको सरकारलाई झक्झक्याउन हो । हाहाकार हुनुपूर्व व्यवस्थापन विधि, प्रक्रिया र योजना तय गर भनेर दिइएको सल्लाह हो । अनि नागरिकहरू स्वयम्लाई कि त अझै लामो समय तपस्या गर्न तयार होऊ या त विकल्प सोच्न थाल भन्ने चेतावनी पनि हो । विकल्प पानीको पनि र व्यवस्थापनको जिम्मा लिनेहरूको पनि हो ।

धर्तीको स्वास्थ्य ठीक गर्ने तत्व भनेको पानी, रूख र यहाँको जैविक विविधता होइन र ? यी प्राकृतिक र पर्यावरणीय तत्वहरूको विकल्प छैन । अनि जुन चिजको विकल्प छैन, त्यसलाई मास्नु भनेको आफैंलाई मास्नुसरह भएन ?

जहाज चढेर आएको सिंगापुर र बैंकक्को पानी पिइरहेको गणतान्त्रिक राजनीतिको नवसम्भ्रान्त वर्गसँग नागरिकहरूको पानी याचना कति प्रभावकारी हुन्छ ? दोस्रो दर्जाका राजनीतिक सम्भ्रान्तहरू लाङटाङ हिमालको पानी काठमाडौंमा पिइरहेका छन् । तिनका केही सय कार्यकर्ताहरू अक्वा हन्ड्रेड प्रयोग गर्ने गर्छन् । यिनीहरूको पाइतालालाई आफ्ना काँधमा बोकिरहेको नेपाली नागरिक गण तिर्खाले घाँटी सुकेर तालुमा जिब्रो टाँसिएको दुःख कति दिन सहन सक्छन् ? सक्यो भने बेलायती सेनामा नेपाली गोरखाहरूको वीरतापछि, यो अर्को एक वीरगाथा हुनेछ नेपालको । यो लेख अलि पछि लेखे पनि हुन्थ्यो । तर बेलैमा कसैका कानमा बतास लागिहाल्छ कि भन्ने आग्रह पालेर अहिले नै लेखिएको हो ।

नेपाल सरकार र राजधानीवासीहरू पनि काठमाडौंको भूमिगत पानीप्रति आँखा लगाइरहेका छन् । पुनर्भरण (रिचार्ज) प्रणाली समाप्त भइसकेको राजधानी काठमाडौंमा भूमिगत पानी कति नै छ र ? फेरि काठमाडौंको जमीनमुनिको पानी तल झन् तल गइरहेको छ ।

मनसुन पूर्व मे महीनामा जमीनमुनिको पानी धेरै तल गएको अध्ययनहरूको प्रतिवेदन छ । मनसुन पछि आकाशे पानीले भिजेको जमीनका कारण जमीनमुनिको पानीको तह माथि आउने भए पनि सुक्खा सिजनमा जमीनमुनिको पानीको तह धेरै तल जाने गरेको पाइएको छ । अझ मनपरी ढंगको भूमिगत पानी दोहनका कारण काठमाडौंको जमीनको सतह भासिन शुरू भइसकेको छ ।

काठमाडौंको भूमिगत पानीको पुनर्भरण गर्ने काठमाडौं वरिपरिका डाँडा र जंगलबाट आउने पानीका स्रोत मासिइसकेका छन् । अब कहाँबाट आउने पानीले पुनर्भरण गर्दछ भूमिगत पानी ? भूमिगत पानी भनेको एटीएम हो, पैसा बचत गर्नु भो भने निस्कन्छ, नत्र पैसा सकिएका दिन त तपाइँलाई जतिसुकै आवश्यकता परे पनि एटीएमले पैसा दिंदैन । भूमिगत पानी ठ्याक्कै यस्तै हो । पुनर्भरण गर्नुहुन्छ आउँछ, गर्नुहुन्न आउँदैन ।

जमीनमुनिको पानी ज्यादा दोहन गरियो भने जमीनको शुष्कपन वृद्धि हुन्छ । शुष्क जमीनले हावामा भएको पानी ज्यादा सोच्ने काम गर्दछ । यसले हावाको सुक्खापन बढाउँछ । हावाको सुक्खापनले मानिसमा श्वास-प्रश्वास, ब्रोंकाइटिस, दम, खोकी, रक्तचाप जस्ता बिमार बढ्न जान्छन् । त्यसैगरी, घाँटी बस्ने, आँखा चिलाउने, पाक्ने, छाला सुक्खा हुने, नाथ्री फुट्ने र तनाव ज्यादा बढ्ने हुन सक्छ ।

हावामा ओस (चिसोपन) कम हुने हो भने वायुमण्डलमा धूलोको मात्रा झन् ज्यादा हुन्छ । कोभिडले आक्रमण गरेको मानिसको फोक्सोलाई धूलोले असर त पार्छ नै साथै जाडोमा हावामा अक्सिजनको मात्रा कम हुनु, पानी कम हुनु, हावा ज्यादा सुक्खा हुनु मानव स्वास्थ्यका लागि झन् हानिकारक अवस्था हुनेछ ।

जमीनमुनिको पानीको तह खोलाको तहभन्दा तल गयो भने खोलाको पानी जमीनले लिने गर्दछ । जब खोलाको पानी जमीनले लिएर तल लैजान्छ खोलामा पानीको मात्रा स्वाट्टै घटेर जान्छ । पर्यावरणीय शास्त्र अनुसार, खोलाको पानी स्वाट्टै घट्नु र मानिसको शरीरमा रगत स्वाट्टै घट्नु समान समस्या हुन् । मानिसको शरीरमा रगत घट्नुले ऊ स्वयं बिरामी पर्दछ, खोलाको पानी घट्नुले प्रकृति र पर्यावरणमा आश्रति सारा प्राणी र वनस्पति जगत बिरामी हुन्छन् ।

मानिस जतिसुकै विकासवादी वा खरबपति भए पनि पिउन त पानी नै पिउँछ । अनि मानिस जतिसुकै सम्पन्न होस् डलर, हीरामोती वा सुनसँग त सुत्दैन, मान्छेसँग नै सुत्छ । मान्छेलाई नै छेउमा राखेर खाना खान्छ । खान त खाद्य वस्तु नै खान्छ । अक्सिजनबाट नै सास फेर्छ ।

कुनै विकास कार्य थाल्नुभन्दा पाँच वर्ष पहिले नै रूख ढालिहाल्ने जुन विध्वंशकारी विकासको भाष्य तयार भएको छ, यो मानव सभ्यता र मानव स्वास्थ्यका लागि हानिकारक सिद्ध छ । विकास गर्नुहुँदैन भनेको होइन । प्रकृतिको नियमित जीवनचक्रलाई विश्रृंखलित पार्नुहुँदैन भनेको हो । किनकि मानिसलाई बचाउने आधार प्रकृतिसँग मात्र छ । कुनै पनि मेडिकल डाक्टरले कुनै बिरामीलाई तपाइँ औषधि मात्र खानुस् त भन्दै भन्दैन, भनेकै छैन । औषधि पनि खानुस् हरियो साग, फलफूल, तरकारी प्रशस्त खानुस्, प्रशस्त पानी पिउनुस् तपाइँलाई ठीक हुन्छ भन्छ ।

अनि तपाईंले अत्यन्त विश्वास गरेको पारिवारिक डाक्टरले दिएको सल्लाह अनुसारका यी प्राकृतिक चिजहरू कहाँबाट आउँछन् ? यही धर्तीबाट होइन ? अनि धर्तीको स्वास्थ्य ठीक गर्ने तत्व भनेको पानी, रूख र यहाँको जैविक विविधता होइन र ? यी प्राकृतिक र पर्यावरणीय तत्वहरूको विकल्प छैन । अनि जुन चिजको विकल्प छैन, त्यसलाई मास्नु भनेको आफैंलाई मास्नुसरह भएन ?

प्राणी जीवन प्रकृतिको चक्र अनुसार चल्छ । मानव पनि एक प्राकृतिक तत्व भएको हुनाले प्राकृतिक संचालन विधि अनुसार यसको प्रक्रिया संचालित छ । मुटु, फोक्सो, कलेजो र किड्नी सबैको फरकफरक प्राकृतिक भूमिका छ । यी सबैलाई पानी चाहिन्छ । मुटुले रक्त संचालन गर्ने प्रक्रिया नदी ताल र समुद्रको पानी वाष्पीकरणको प्रक्रियाबाट फेरि पानी परेेको नियमसँग तुलना गर्न सकिन्छ ।

कलेजोले रगत छानेको कुरा रूखले वायुमण्डलको वायुलाई सफा गरेको भन्न सकिन्छ, किड्नीले शरीरका अनावश्यक तत्व पिसाब मार्फत बाहिर ˆयाँके जसरी नै पानीले पर्यावरणका फोहोरलाई पखाल्छ । फोक्सोले वायुमण्डलको सबै वायुलाई लिएर आवश्यक अक्सिजन उत्पादन गरी शरीरलाई प्रदान गर्दछ । सरल छैनन् र यी विषय ?
रूख, वनस्पति र हरियाली प्रकृतिको नैसर्गिक चक्र कायम राख्न सबैभन्दा ठूलो योगदान गर्ने तत्व हुन् । अमेरिकामा अन्तरप्रदेश जोड्ने नयाँ सडकहरूको योजना बनाउन थालिएको समयमा २०१७/१८ सालतिर राजा महेन्द्रले रिङरोडको योजना ल्याएका थिए । आजभन्दा झण्डै ६० वर्षअघि ल्याइएको यो सडक हरित सडक थियो । सडकका दुवैतर्फ पछिसम्म पनि लहरे पीपलका रूख थिए ।

रूखले काठमाडौं त बचाउन सक्नेथ्यो, अझै पनि सक्नेछ तर काठमाडौंले रूख बचाउन सकेन । काठमाडौंले रूख बचाउन सकेन भन्नुको अर्थ काठमाडौंमा गरिएको राजनीतिले रूख बचाउन सकेन भन्नु हो । राजनीति विध्वंशकारी हुने वा प्रकृति वनस्पति र प्राणी हितैषी हुने हो ? आजभन्दा ७९८ वर्षअघि राजा जयस्थिति मल्लले रूख काट्नेलाई तत्कालीन समयमा रु.५ जरिवाना र जेल सजाय दिने इस्तिहार सार्वजनिक गरेका थिए । उनको यो ज्ञानसँग आजको शासनलाई दाँज्दा कस्तो लाग्छ ? यस प्रश्नको जवाफ खोज्ने जिम्मा पाठकहरूको । जंगबहादुर राणाले पनि मल्लको यही कानूनी प्रबन्धलाई अवलम्वन गरेका हुन् ।

सरकारको ध्यान राजधानीका लागि पानी व्यवस्थापनका वैकल्पिक माध्यम तथा स्रोतहरू खोज्नमा जानुपर्दछ । काठमाडौंको जमीनमुनिको पानी अति दोहन गर्नु भनेको काठमाडौंलाई अरू असुरक्षित पार्नु हो । जमीनमुनि पानीको तह जति तल जान्छ वा जति भूमिगत पानी सकिन्छ जमीन भासिने खतरा त्यति नै रहन्छ

त्यतिबेलाको शासनमा राजा वा प्रशासनको मूल जिम्मेवारी भनेको पानीका धारा संरक्षण गर्नु र बाटाका छेउमा रूख रोप्नु वा भएका रूखबिरुवा जोगाउनु थियो ।

काठमाडौंको सडकका दुई किनारमा व्यवस्थित तवरले रूख लगउने दृष्टिकोण चन्द्रशमशेरले ल्याएका थिए । पछि काठमाडौंको रिङरोडमा एक लाख हाराहारी रूख लगाइएको थियो भन्ने अनुमान छ । बिडम्वना भन्नुपर्छ चन्द्रशमशेर र महेन्द्र जति पर्यावरण सचेत पुस्ता आजको राजनीतिमा रहेन ।

तर वातावरण, रूख र धर्तीको तापक्रमप्रति संसार चिन्तित भइरहेको समयमा नेपाल जुन स्तर र आयाममा सचेत हुनुपर्ने हो, भएको देखिंदैन । हिन्दू धर्म स्वयम् वनस्पति, पानी र समग्रमा पर्यावरण मैत्री छ । रुद्रीमा ‘स्थापत्य नमः, वृक्षाणां पतय नमः’ भनिएको छ । यसको अर्थ हुन्छ ‘म बसेको धर्तीलाई नमस्कार गर्दछु, म रूखलाई नमस्कार गर्दछु ।’ तर हिन्दू बाबुआमाको कोखबाट जन्मिएका धर्मनिरपेक्ष छोराछोरीहरूले यी वैदिक ज्ञान आत्मसात् गरेको पाइँदैन ।

वागमती, विष्णुमती, मनहरा, हनुमन्ते, कर्मनाशा र बल्खुमा बग्ने मृत पानीले काठमाडौं उपत्यकाको सकिंदै गएको सभ्यतालाई दर्शाएको छ । जसरी राजधानीका खोलाहरू मृत पानीमा रूपान्तरण भइरहेका छन्, त्यसरी नै राजधानी काठमाडौंको सभ्यता वा यहाँको ऐतिहासिकता पनि धुमिल हुँदै गइरहेको छ । शिवपुरी, चन्द्रागिरि, फुल्चोकी र जमाचो जस्ता पहाड र त्यहाँबाट निस्किएका नदी किनारामा अवस्थित काठमाडौंको संस्कृति र सभ्यतासँग पानीको गहिरो सम्बन्ध छ ।

सरकारको ध्यान राजधानीका लागि पानी व्यवस्थापनका वैकल्पिक माध्यम तथा स्रोतहरू खोज्नमा जानुपर्दछ । काठमाडौंको जमीनमुनिको पानी अति दोहन गर्नु भनेको काठमाडौंलाई अरू असुरक्षित पार्नु हो । जमीनमुनि पानीको तह जति तल जान्छ वा जति भूमिगत पानी सकिन्छ जमीन भासिने खतरा त्यति नै रहन्छ । भूकम्पका जोखिमहरू सम्झिएर नीति निर्माण गर्नुपर्दछ ।

सांसद तामाङले भने झैं अबको केही दशकमै नेपाल जलवायु परिवर्तनको चपेटाबाट ग्रस्त हुनेछ । यस चपेटाले सबभन्दा पहिला पानीमाथि आक्रमण गर्नेछ, पिउने पानीको ठूलो हाहाकार हुनेछ । अनि हेलम्बु वरिपरि मात्र नभएर देशका अनेकन् स्थानमा हेलम्बु र मेलम्ची विपद् पुनरावृत्ति हुने खतरा छ । उद्विकासको क्रममा पुरिएका हिमताल वा हिमनदीहरू कहाँ-कहाँ फुट्नेछन, अनुमान गर्न कठिन छ । वस्तुनिष्ठ ज्ञान र सत्य सूचनाहरूबाट सचेत र सक्रिय नागरिकहरू मात्रै सबै किसिमका विकल्पहरूका जन्मदाता र पालक हुन् ।

(शर्मा १५ वर्षदेखि वातावरण संरक्षण र प्रकृति अधिकार सम्बन्धी क्षेत्रमा कार्यरत छन् ।)

[ad_2]

साभार

सम्बन्धित खवर