[ad_1]

१२ साउन, चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पसमा ३७ वर्ष बाली विज्ञान विषयमा प्राध्यापन गरेका प्रा.डा. देवनाथ यादव चार वर्षअघि सेवा निवृत्त भए । रिटायर्ड जीवन जन्मगाउँमा बिताउने निधो गरी उनी सप्तरीको राजविराज फर्किए ।

सेवा निवृत्त जीवनमा आराम गर्ने, घुमघाम र सुखभोग गर्ने धेरैको चाहाना हुन्छ । तर, डा.यादवमा त्यस्तो मोह जागेन । भरतपुर, काठमाडौं, जनकपुर वा अन्य ठूला शहरमा बस्न नसकेर गाउँ फर्किएका पनि होइनन् । उनलाई ठूला शहरले आकषिर्त गर्न सकेन । मनले गाउँ रोज्यो, दिमागले बालापन बिताएको ठाउँ खोज्यो । उनका दुई छोरामध्ये एकजना डाक्टर छन्, अर्का छोरा रामपुरमा नै उपप्राध्यापक छन् । उनलाई नपुग्ने केही थिएन । तर, उनलाई आफ्नै गाउँठाउँमा फर्किएर बाँकी जीवन बिताउने लालसाले चिमोट्यो ।

सानो उमेरदेखि नै अध्ययन र अध्यापनको सिलसिलामा घर बाहिरै भएका डा. यादवलाई आफ्नो जन्मथलोमा धित मर्ने गरी बस्ने र त्यहीं नै मर्ने उत्कट चाहनाले पछ्याउन छाडेन । श्रीमतीसहित गाउँ फर्किएका यादवका सुरुका केही महिना त निकै तनावमा बिते । विश्वविद्यालयमा हुँदा फुर्सद निकाल्न गाह्रो हुने यादवलाई गाउँ गएपछि समय कटाउन गाह्रो भयो । उनले सोचे, ‘मैले जीवनका ६३ वर्षसम्म सिकेका कुरा यहींको माटोमा लगाउँछु, केही गर्छु यहींका किसानलाई सिकाउँछु ।’

उनले विश्वविद्यालयमा रहँदा सयौं बिएससी एजीका विद्यार्थी, ३६ जना एमएससी एजीका विद्यार्थी पढाए । तीन जनालाई पीचएडी पनि गराए । उनी भन्छन्, ‘मैले कहिल्यै पनि किसानलाई पढाइन । सेवाबाट निवृत्त भएपछि अहिले बल्ल किसानलाई पढाउन पाएको छु, मलाई यसमै आनन्द लागेको छ ।’

गाउँ फर्किएपछि पनि उनलाई काठमाडौंको एक संस्थाले विज्ञको रूपमा काम गर्न बोलायो । तलब महिनामा १ लाख ४५ हजार दिन्छु भन्यो । तर, प्रा.डा. यादवलाई फेरि जागिर खाने जाँगर आएन । उनले भनिदिए, ‘म अब १०-४ को अफिसे जागिर खान्न, काठमाडौं पनि बस्दिनँ, केही अरू सहयोग गर्न परे सप्तरीमै बसेर इमेलमार्फत गर्छु ।’
सप्तरीको राजविराज नगरपालिका वडा नं.- ८ कञ्चनपुर रोडमा उनको घर छ । घरको बाहिर गेटको पिलरमा लेखिएको छ- डा. देवनाथ यादव, प्राध्यापक बाली विज्ञान ।

सामान्य जीवनशैली अपनाएका डा. यादवले घरभरि तरकारी र फलफूल लगाएका छन् । आफूले जानेका कुरा गाउँ फर्किएपछि किसानलाई सुुनाउन एउटा गज्जबको जुक्ति लगाए- स्थानीय एफएम स्टेशनबाट किसानसँग भलाकुसारी गर्ने, किसानहरूका समस्या सुन्ने र जवाफ दिने । हरेक हप्ताको शनिबार प्रा.डा. यादव स्थानीय अपन एफएममा किसानका समस्या सुन्न र जवाफ दिन पुग्छन् । यसबाट किसानलाई धेरै फाइदा पुगेको र आफूलाई समेत नयाँ अनुभव भएको डा. यादव बताउँछन् । उनी भन्छन्, ‘मैले ३७ वर्षमा पढाएर गर्न नसकेको काम एफएमबाट किसानलाई सिकाएर गरेको छु ।’

डा. यादवको कर्म यतिमा मात्रै रोकिएन । अझै किसानसँग प्रत्यक्ष साक्षात्कार गर्ने भोक उनमा थियो । उनले कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादव समक्ष एउटा प्रस्ताव राखे । हरेक हप्ताको बुधबार किसानलाई ज्ञान केन्द्रमा नै निःशुल्क कृषि परामर्श दिने । उत्साहित भएका राजेन्द्रले डा. यादवलाई हरेक हप्ताको बुधवार दिउँसो २ः३० बजेदेखि ४ः३० बजेसम्म समय दिए । विगत दुई वर्षदेखि प्रा.डा.यादवले ज्ञान केन्द्रमा नै पुगेर किसानहरूका समस्या सुन्ने, समाधानको उपाय बताउने र सिकाउने काम गरिरहेका छन् । प्राध्यापनमा सीमित रहँदा जतिले चिन्थे, गाउँ फर्किएपछि झन् धेरैले आफूलाई नजिकबाट चिन्ने मौका पाएको यादव बताउँछन् ।

किसानसँग प्रत्यक्ष साक्षात्कार गर्न पाएकोमा निकै खुसी छन् डा. यादव । कृषि ज्ञान केन्द्रसँग नै मिलेर कृषि सम्वन्धी विभिन्न पर्चाहरुसमेत बनाएर वितरण गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र यादवले प्रा.डा. यादव, आफूहरु र किसान निकै उत्साहित भएको बताए ।

अहिले पनि उनलाई दैनिक एक सय जति किसानको फोन आउने गर्छ । उनले नजिकै भए प्रत्यक्ष गएर हेरिदिने, टाढा भए ज्ञान केन्द्रमा नै बुधबार बोलाउने गरेका छन् ।

४० हजार लागतलाई ४ हजारमा झारे, राष्ट्रपतिबाट पुरस्कार पाए

गाउँ फर्किएपछि किसानलाई सिकाउने मात्रै काम गरेनन् डा. यादवले । उनी आफैंलाई केही अनुसन्धान गर्न थियो । उनको मूल उद्देश्य थियो, किसानको उत्पादन लागत घटाउने । किसानहरू उत्पादन लागत बढी हुँदा मर्कामा परेका थिए । प्रतिहेक्टर ४० हजार खर्च गरेर धान उत्पादन गरेका किसान ३५ हजारमात्रै आम्दानी गर्न सक्थे । पाँच हजार प्रतिहेक्टरमा घाटा रहेको डा. यादव आफैंले देखे । उनलाई यसले निकै दुखाउँथ्यो । ‘जो दुःख गरेर पसिना बगाएर खेती गर्छ, उही घाटामा जान्छ, हामी जस्ताले यसको कारणको खोजी नगरे कसले गर्ने भन्ने मलाई लाग्यो,’ प्रा.डा. यादव भन्छन्, ‘किसानको पसिना कसरी सित्तैमा खाने भन्ने प्रश्न खडा हुन्छ नी ।’

उत्पादन लागतलाई घटाउने विभिन्न उपायहरुको खोजी गरे । घरमा नै दुई लाखको हर्भिसाइट किनेर ल्याए । ती भित्रका राम्रा पक्ष र नराम्रमा पक्ष के-के छन् भनेर हेरे । ट्रायल गरे । राम्रा पक्षहरुलाई ‘मिक्सअप’ गरेर नयाँ उत्पादन तयार गरे । उनले पोष्ट अफ कल्टिभेसनमा समस्या देखे ।

खेती लगाउनु अगाडि अपनाउनुपर्ने विधि, झार नियन्त्रण, विषादीको सही र समूचित प्रयोगको उपाय निकाले । मूलतः उनी झार नियन्त्रणको विधिमा केन्दि्रत भए । उनले पानी भएको ठाउँमा नजोतिकन नै धान छर्ने विधि सुझाए ।

उनले बनाएको विषादीले झार मार्यो, झारको ‘रिग्रोथिङ’ पनि हुन दिएन । यसले उत्पादनमा राम्रो फाइदा गरेको प्रा.डा. यादव बताउँछन् । उनले २० विगाहा आफ्नो जमिनमा विभिन्न उपाय लगाएर अनुसन्धान गरे । उत्पादन राम्रो भयो । अन्य किसानहरु पनि आकषिर्त भए । आफ्नो यो परीक्षणबाट उत्पादन लागत ४० हजारबाट घटेर चार हजारमा आएको यादवको दाबी छ ।

उनलाई गाउँका किसानले ‘प्रोफेसर’ भन्छन् । ‘प्रोफेसरले नजोति धान उत्पादन गरेको छ, झार पनि कत्ति आउन दिएको छैन’ भनेर गाउँभरी हल्ला भएपछि किसान मात्रै हैन मन्त्रीसमेत उनको खेतमा हेर्न आए । उनले कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर अहिले ‘कम्बाइन हर्भिसाइट’ बनाएर किसानलाई दिने गरेका छन् ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र यादवले प्रा.डा. यादव गाउँमा आएर बसेपछि आफूहरुलाई निकै सहयोग भएको बताए । ‘हामीहरु किसानको उत्पादन लागत कसरी घटाउने भन्नेमा लागिपरहेका छौं’ ज्ञान केन्द्रका प्रमुख यादवले भने, ‘किसानहरु लाभान्वित बनेका छन् उहाँ आएपछि नयाँ प्रविधिको खोजी र अनुसन्धान भैरहेको छ ।’

धान र गहुँको उत्पादन लागत हटाउन गरेको अनुसन्धान र गरिरहेको कामलाई थप ऊर्जा र हौसला प्रदान गर्न सरकारले संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोषणा भए बमोजिम प्रा.डा. यादव प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभूषित भए । विभूषणमा उनले आफ्नो विवरण ‘किसान’ भनेर टिपाएका थिए । उनले किसान र देशका लागि अझै केही काम गर्न बाँकी रहेको बताए ।

‘विश्वविद्यालय र किसानका बीचमा ठूलो खाडल छ’

प्राक्टिकल गरेर खेती गर्ने किसान, विश्वविद्यालयमा पढाउने शिक्षक र पढ्ने विद्यार्थीका बीचमा ठूलो खाडल रहेको प्रा.डा. यादवलाई लागेको छ । किसानका समस्याको एक छेउ पनि विश्वविद्यालयमा पढाइ र अनुसन्धान नहुने प्रत्यक्ष अनुभूति आफूले किसानको खेतबारीमा पुगेर गरेको उनी बताउँछन् । ‘पढाइ लेखाइ एकातिर रहेछ, किसानका समस्या अर्कोतिर रहेछ, मैले ३७ बर्षमा नबुझेको कुरा अहिले बुझ्दैछु की किसान र विश्वविद्यालयको बीचमा आकाश जमिनको फरक रहेछ,’ डा. यादव भन्छन्, ‘विद्यार्थीलाई खेतबारी नै नटेकी राम्रो नम्बर चाहिएको छ, राम्रो जागिर खान परेको छ, ज्ञान सीप छैन, शिक्षकलाई अन्धाधुन्द पढाउन पाए हुन्छ ।’

किसानका समस्याको अनुसन्धान विश्वविद्यालयमा नहुने उनको दुखेसो छ । उनी भन्छन्, ‘तपाईं रामपुरमा गएर कृषि पढाउने शिक्षक र विद्यार्थीलाई सोध्नुस् एक विगाहामा धान खेती गर्न कति खर्च लाग्छ भनेर, कसैले पनि जवाफ दिन सक्दैन, दिए पनि लटरपटर पार्छ, बजारको भर पर्छ, मौसमको भर पर्छ भन्छ, तर हामीलाई चाहिएको त क्रंकिट जवाफ हो नी, उनीहरू गोलमटोल पार्छन् ।’

उनले विश्वविद्यालयले एकेडेमिक काउन्सिलमार्फत समयानुकूल पाठ्यक्रम परिमार्जन गर्न सुझाव दिए । ‘नीति निर्माताले किसानलाई टार्गेट गर्नुपर्छ, विश्वविद्यालयका नीति निर्मातामा सेन्सेटिभिटी हुनुपर्छ । जागिरमात्रै खान भएन । देश, जनता र किसानका लागि केही गर्नुपर्‍यो,’ डा. यादव भने ।

अब राजनीति गर्ने !

प्रा.डा. यादवलाई हिजोआज लाग्न थालेको छ किसानका खास समस्याको समाधान गर्न राजनीति गर्न पर्ने रहेछ । राजनीतिको माध्यमबाट नीतिगत तहमा नै सुधार नगरेसम्म कृषि क्षेत्रको विकास गर्न नसकिने निष्कर्षमा उनी पुगेका छन् । डा. यादवले अब हुने संसदीय निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सोच बनाएका छन् ।

राजनीति गर्न थालेपछि किसानका समस्याको समाधान कसले गर्छ भन्ने प्रश्नमा डा. यादव भन्छन् ‘किसानलाई सँगसँगै लिएर राजनीति गर्ने हो, म राजनीति कमाउनका लागि गर्दिनँ किसानका लागि गर्छु ।’ उनले कुन पार्टीमा लाग्ने भन्ने निधो भने अझै नगरेको बताए ।

(सप्तरीबाट फर्किएर)

[ad_2]

साभार

सम्बन्धित खवर