अहिले म जर्मनीको ह्यामबर्गस्थित युनिभर्सिटी क्लिनिकमा भर्ना भएको छु । अस्ति मात्र मेरो अपरेशन भएको हो । अहिले नै लेख्न सक्ने अवस्थामा नभएकाले अरुलाई नै टाइप गरिदिन अनुरोध गरें । किनभने आज राति दुखाइसँगै एक अनौठो सपना आयो ।

त्यो के भने म नेपाली कांग्रेसको विदेशस्थित संगठनको बीपी जयन्ती मनाइरहेको कार्यक्रममा सहभागी हुन पुगेको रहेछु । त्यहाँ डा. शेखर कोइराला लगायतका नेताहरुको उपस्थिति थियो । भाषण चलिरहेको थियो, म ब्युझिएछु । ब्युँझिदा त अस्पतालको बेडमा आफूलाई पाएँ र अनगिन्ती पुराना कुराहरु याद आए । ती कुराहरु यहाँ अभिव्यक्त गर्न मन लाग्यो ।

‘म एक्लो वृहस्पति’ उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथप्रदर्शक बीपी कोइरालाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किएपछि पटक–पटक व्यक्त गरिएको हो । बीपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि बीपीले त्यसबेला आफू आफ्ना सहयोद्धा एवं सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए ।

तर पनि बीपीले आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर ‘एक्लो वृहस्पति’को अनुभूतिको संवेदनशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो । ‘राष्ट्रिय मेलमिलाप न त राजतन्त्रसँगको सम्झौता हो न त संघर्ष’ राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर बीपी र गणेशमानजीसँगै नेपाल फर्किए । त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर पुष्पलालसँग व्यापक छलफल भएको थियो ।

२०२५ सालदेखि २०३३ सालसम्म बीपीले आफ्ना दिनहरु भारतको वनारसमा बिताउनुपर्‍यो । गणेशमानजी बीपी कोइरालाका साथ २०२५ साल कात्तिक महीनामा सुन्दरीजल जेलबाट रिहाइ भएपछि निर्वासित हुनु परेको थियो । निर्वासनकालमा पनि भारतीय पक्षले बीपी, गणेशमानको सुरक्षाको कारण देखाइ नेपाल–भारत सीमाको नजिक बस्ने नदिने चलखेल भएको थियो ।

‘म एक्लो वृहस्पति’ उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथप्रदर्शक बीपी कोइरालाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किएपछि पटक–पटक व्यक्त गरिएको हो । बीपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि बीपीले त्यसबेला आफू आफ्ना सहयोद्धाबाट अलग्गिएको अनुभव गरेका थिए ।

नेपाली प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहको नाम छुटाएर कसैले बीपीको मात्र नाम लिन्छ भने त्यो अपूरो हुनेछ । किनभने बीपी सरकारमा रहँदा गणेशमान पनि सरकारमा थिए । बीपी जेलमा हुँदा गणेशमान पनि जेलमा थिए । बीपी निर्वासनमा हुँदा गणेशमान पनि निर्वासनमा थिए । बीपी राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किंदा गणेशमान पनि सँगै थिए । लगभग आठ वर्षको जेलजीवनपछि उनीहरु दुवैजना सुन्दरीजल जेलबाट सँगै रिहा भएका थिए ।

बीपी र गणेशमानका प्रसंग उठाउँदा लाग्छ उनीहरुको दुईवटा शरीर भए पनि नसा–नसामा एउटै रगत सञ्चार भएको थियो । दिमागमा एउटै सोचाइ र चिन्तन थियो, यो मुलुकलाई कसरी तानाशाहीको चंगुलबाट मुक्त गर्न सकिन्छ ? उनीहरुको हृदयमा नेपालीहरुप्रति एउटै माया थियो । कसरी समग्र नेपालीहरुलाई हातमुख जोड्ने समस्याबाट मुक्त गर्न सकिन्छ ? भन्ने उनीहरुको हृदयमा नेपालप्रति एउटै सम्मान थियो ।

कसरी नेपाललाई सम्भाव्य विदेशी हस्तक्षेपबाट जोगाउन सकिन्छ भन्ने उनीहरुको खुट्टामा एउटै कदम थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको ध्वजा कसरी फहराउने भन्नेमा दुई व्यक्तित्वबीच कहिलेकाहीं राजतन्त्रका विषयलाई लिएर विवाद नभएको होइन तर यस्तो अवस्थामा बीपीको राजनैतिक विश्वासपात्र आफ्नै भाञ्जी शैलजा आचार्यले एउटा विचारको पुलको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्थिन् ।

बीपी र गणेशमानको निर्वासनकालको सम्झना गर्दै एकठाउँमा बीपीका भाइ एवं प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा स्व. गिरिजाप्रसाद कोइरालाले लेखेका थिए, ‘बीपी वनारसमा हुनुहुन्थ्यो । २०१७ सालदेखि नै निर्वासित भएर पुष्पलालजी पनि वनारसमै रहनु भएको थियो । पछि २०२८ सालदेखि म पनि निर्वासित हुनुपर्‍यो । त्यही निर्वासनकालमा मैले पुष्पलालजीलाई अझै नजिकबाट चिन्ने मौका पाएँ । उहाँ बीपीलाई भेट्न आउनु हुन्थ्यो । बीपी पनि उहाँलाई भेट्न जानुहुन्थ्यो । देशको वस्तुस्थितिबारे पुष्पलालजीसँग निरन्तर छलफल हुन्थ्यो ।’

गिरिजाबाबुले भने जस्तै त्यतिबेला पुष्पलाल र बीपी कोइराला संयुक्त मञ्चमा आएर आ–आफ्ना विचार प्रस्तुत गर्थे । यसरी विचार प्रस्तुत गर्दा पुष्पलाल संयुक्त आन्दोलनमा जोड दिन्थे तर बीपीको जोड भने संयुक्त रुपमा नभएर जो जसको जहाँ प्रभाव छ त्यसले ती ठाउँमा आन्दोलन शुरु गर्ने भन्नेमा रहन्थ्यो । बीपीको यो जोडको यथार्थता के हुन सक्थ्यो भने कम्युनिष्टहरुसँग मिलेर जाँदा पश्चिमा उदार पूँजीवादी राजनैतिक शक्तिको समर्थन नेपाली कांग्रेसले पाउन सक्दैन कि भन्नेप्रति बीपीको सर्तकता ।

तर पुष्पलालको जोड भने बाहिरी समर्थनमा होइन । नेपाली जनताको सक्रियतामा रहन्थ्यो । त्यतिबेलाको नेपालको आन्तरिक राजनीतिका कारण बीपी र पुष्पलाल नेपालको राजनीतिमा सर्वाधिक चर्चित भए । उनीहरुबीच आवतजावत र भेटघाट भइरहँदा राजनीतिका गम्भीर विषयबाहेक  अनौपचारिक कुरा पनि हुने गर्दथे ।

तर, यदि औपचारिक छलफल गर्नुपर्‍यो भने सामान्यता अचानक भेटेजस्तो गरी अन्य कुनै ठाउँमा भेट गराउने पुलको काम शैलजा आचार्यले गर्ने गर्थिन् ।

शैलजा आचार्य बीपीको भान्जी मात्र नभएर बीपीले राजनीतिमा सकभन्दा बढी विश्वास गरेकी व्यक्ति थिइन् । यसो हुनुको खास कारण नेपालको राजनीतिमा बाहिरी शक्तिहरु त्यसमा पनि विशेष गरी शीतकालीन शक्तिहरुको अत्याधिक चासो बढ्दै गएको कुराप्रति बीपीको सजकता रहेको हुनुपर्छ ।

२००७ सालको त्रिपक्षीय नेपाली कांग्रेस, राणाहरु र निर्वासित राजाबीच दिल्लीमा जवाहरलाल नेहरुको मध्यस्थतामा भएको सम्झौताप्रति असहमति जनाउँदै पुष्पलालले भनेका थिए– राणा र राजालाई विश्वास गर्ने कुनै आधार छैन । उनीहरुले कुनै पनि बेला वैधानिक सुधारका कुरा खारेज गरेर मध्ययुगीन शैली लागू गर्नेछन् ।

पुष्पलालले भने जस्तै प्रधानमन्त्री बनाइएका मोहन शमशेरले सबैखाले वैधानिक सुधारका कुराहरु खारेज गरे । यस्तै २०१५ सालको निर्वाचनपछि प्रधानमन्त्री पदमा निर्वाचित बीपी कोइरालालाई पुष्पलालले राजालाई बढी विश्वास नगर्न आग्रह गरेका थिए । दुर्भाग्य २०१७ साल पुस १ गते आयो । त्यसपछि राजनीतिलाई द्वन्दवादी दृष्टिकोणले हेर्नुपर्छ भन्ने संकेत बीपीले पाएको हुनुपर्छ ।

त्यसैले बीपीले निर्वासनमा रहँदासम्म नेपालको राजनैतिक विषयमा कुनै पनि निर्णय गर्नुपर्दा पुष्पलालसँग छलफल गर्ने परम्परा बसाले । जसका कारण हुनुपर्छ बीपीले राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल पर्किएपछिको प्रतिबन्धित अवस्थामा र पुष्पलालको मृत्युको खबर सुनेपछि आफूलाई ‘एक्लो वृहस्पति’को महसुस गरेको ।

यस अर्थमा बीपी जयन्ती मनाइरहँदा यदि कसैले पनि पुष्पलाल, गणेशमान सिंह र शैलजा आचार्यप्रति श्रद्धाञ्जलीका दुई शब्द पुष्पगुच्छा स्वरुप टक्राइँदैन भने बीपी जयन्तीको सार्थकतामा कमी आउनेछ । यस दिनमा स्वर्गीय महान् नेताहरु बीपी, पुष्पलाल, गणेशमान, कृष्णप्रसाद र शैलजाप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । नेपाली नेताहरुमा सद्वुद्धि पलाओस् र पुष्पलालले भनेजस्तै एकताले मात्र मुलुकले आजको कठिन परिस्थितिबाट मुक्ति पाउनेछ ।



साभार

सम्बन्धित खवर