अन्य देशमा कोभिड-१९ सुरु भइरहेको बेला नेपालमा भने यो महामारी आउदैन भन्ने मानसिकता व्याप्त थियो । सरकारमा रहेकाहरु र यदाकदा सञ्चार माध्यमले समेत कोभिड-१९ (कोरोना भाइरस) नेपाल आउँदैन भनेकाले अस्पतालहरुमा तयारी थिएन । सरकार शुरुदेखि नै गम्भीर नभएकोले अलमलको स्थिति थियो ।

नेपालमा पहिलो संक्रमित भेटिएको दुई महिनासम्म दोस्रो केस नदेखिँदा पनि आम मानिसले ‘कोरोना रैनछ’ भन्ने बुझ्न थालेका थिए । तेस्रो महीनाबाट कोरोनाका बिरामीहरु भेटिन थालेपछि भने अस्पतालमा तनाव शुरु भयो । त्यो बेलासम्म केही तयारी थिएन ।

त्यसमाथि, संक्रमितको नजिक जानासाथ कोरोना सर्छ, धेरै मानिस मर्छन् भन्ने किसिमका अफवाह फैलिएकाले चिकित्सकमा समेत धेरै डर थियो । अन्य देशको कहालिलाग्दो अवस्थाले पनि हामीमा डर बढाएको थियो ।

हामीकहाँ त भटाभट संक्रमित भेटिन थाल्दा पीपीई र एन नाइन्टी फाइभ मास्क समेत थिएन । अरु देशमा कोभिड महामारी नराम्रोसँग फैलिएकाले नेपालमा पीपीई आउन गाह्रो थियो । लकडाउन हुँदा मास्क कै हाहाकार थियो ।

एउटै पीपीई दोहोर्‍याएर लाउन नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड थियो । त्यसअनुसार, २४ घण्टामा १२ पटक मात्र बिरामी हेर्न जादाँ पनि १२ जोर पीपीई चाहिन्थ्यो । एक जोर पीपीईलाई पाँच हजार रुपैयाँ पर्थ्यो । तर, चरम अभावको बेला पीपीईमा डब्लुएचओको मापदण्ड पालना गर्न सकिने अवस्था रहेन । हामीसँग अर्को कुनै विकल्प थिएन ।

केही समयपछि हरेकजसो वार्डमा कोरोना संक्रमित देखिन थाले । ती वार्डका अन्य बिरामी र कुरुवादेखि स्वास्थ्यकर्मीसम्म क्वारेन्टिनमा जानपर्थ्यो । तर, संक्रमित भेटिएपछिको व्यावस्थापनबारे पूर्वतयारी नभएकोले हामी मानसिक रुपमा थाक्न थालेका थियौं । किनकि, त्यो बेला डर मात्र थियो, सुरक्षा कवच थिएन ।

बिस्तारै विभिन्न संघ-संस्था र सरकारले पनि पीपीई दिन थालेपछि सहज हुँदै गयो । महामारीसँग लड्न पीपीई मात्र पर्याप्त भने थिएन । समस्या आउनुअघि नै त्योसँग जुध्ने तयारी नहुँदा समस्या नै समस्या थियो । समस्या चर्किएपछि मात्र योजना बनाउने पुरानो रोगको सिकार हामी भइरहेका थियौं । सरकारले योजना बनाएर कार्यान्वयन नगर्दा फिल्डमा काम गर्ने स्वास्थ्यकर्मी अत्यन्तै नाजुक अवस्थामा पुग्यौं ।

सधैं तनावपुर्ण आईसीयू

म पहिलो चरणको महामारीदेखि अहिलेसम्म घरपरिवारबाट छुट्टएिर अस्पतालमै बसेको छु । पहिलो लकडाउन हुनुअघि नै परिवारलाई धनगडी (घर) पठाएँ । मेरो कारण परिवारलाई केही नहोस् भनेर त्यस्तो निर्णय गरेँ । अझै जोखिम रहेकाले परिवारलाई काठमाडौं बोलाएको छैन । जुनसुकै बेला बिरामीको सेवामा खटिनु पर्ने भएकाले फ्ल्याट पनि नगइ अस्पतालमै बसेको छु ।

क्रिटिकल केयरमा काम गर्ने भएकाले अधिकांश समय मैले सिकिस्त बिरामी मात्र हेरें । संक्रमणले शरीरका विभिन्न अंग फेल गराइसकेका बिरामीहरुलाई बचाइयो । त्यस्तो बेला सारा दुःख भुलिन्छ, खुशीले सीमा नाघ्छ । बचाउन सकिने बिरामीलाई पनि स्रोतसाधन नपाएर बचाउन नसक्दा पीडा र आत्माग्लानीमा डुब्नुपर्ने क्षणहरु पनि आए ।

हामी स्वास्थ्यकर्मीलाई काम गर्ने र बस्ने-खाने ठाउँको समस्या भयो, भइरहेको छ । स्वास्थ्यकर्मीहरुले कोरोनासँग तर्सिएका घरबेटीहरुको दुर्व्यवहार भोग्नुपर्‍यो । शुरुमा पर्याप्त पीपीई नपाउँदा त्रासमा काम गर्नुपर्‍यो । दोस्रो लहरमा मृत्युदर धेरै भएकाले आफु पनि मरिने त्रास भयो । कहिलेकाहीँ आईसीयूमा ३०-४० जना बिरामी हुन्थे, तीमध्ये ५-६ जनाको मृत्यु हुन्थ्यो । त्यस्तो बेला मन धेरै विचलित हुन्थ्यो ।

आईसीयूमा बिरामीको मृत्यु हुदाँ अन्य बिरामी मानसिक रुपमा विक्षिप्त हुन्छन् । उनीहरु निदाउन सक्दैनन्, छटपटीको कारण हाइपरटेन्सन हुन्छ । उनीहरुमा ‘अब म मर्छु होला’ भन्ने त्राश बढ्छ । ‘मेडिकल्ली’ ठीक भइसकेका बिरामी पनि ‘मेन्टल्ली’ एकदम खराब अवस्थामा पुग्छन् । यो कारणले आईसीयूको वातावरण तनावपूर्ण रहन्छ ।

स्वास्थ्य प्रणाली तहसनहस

कोरोनाको दोस्रो लहरमा बिरामीहरुले बेड नपाएको, चिकित्सकले तीन गुणाभन्दा बढी बिरामी हेर्नुपरेको अवस्था अत्यास लाग्दो थियो । त्यो अवस्थामा पनि कतिपय मानिसले स्वास्थ्यकर्मीहरुलाई निकै गाली गरे । ज्यान जोखिममा राखेर अनेक प्रयास गर्दागर्दै पनि बिरामी बचाउन नसकेको बेला अनेक आरोप लगाए । ‘तिमीहरुले नहेरेर हाम्रो मान्छेको मृत्यु भयो’ भन्नेजस्ता बिरामीका आफन्तका कुरा सुन्दा असहृय हुन्थ्यो ।

कोभिडका बिरामीसंग आफन्तलाई भेट्न दिइन्न । कोभिड सर्ने डरले भेट्न नदिदाँ बिरामीहरुका आफन्तबाट अनेक खालका आरोप आए । चिकित्सकमाथि विश्वासको संकट पैदा भयो ।

दोस्रो लहरको उत्कर्षमा बचाउन सकिने बिरामी पनि मरिरहँदा चिकित्सकहरु आफैं ठूलो तनावमा थिए । आईसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा राख्नु परेको थियो । बिरामी आउँदा भर्ना गर्ने ठाउँ छैन, बल्लतल्ल भर्ना गर्‍यो । अक्सिजन छैन । यस्ता कुराले हामी ‘डिप्रेस्ड’ भइसकेका थियौँ ।

ती दिन सम्झँदा जसोतसो थेगेको जस्तो लाग्छ । थप केही समय त्यस्तै अवस्था भएको भए अहिले कुन अवस्थामा भइन्थ्यो भनेर अनुमान गर्न सकिन्न । कोरानाको दोस्रो लहरले हाम्रो स्वास्थ्य प्रणालीलाई तहसनहस नै पार्‍यो ।

पहिलो लहरमा आईसीयूमा काम गर्दा एकैदिनमा धेरै सिकिस्त भएर आएका बिरामी पाइएन, जसोतसो व्यावस्थापन पनि गरेर उपचार गरियो । दोस्रो लहरमा भने एकैपटक धेरै बिरामी अस्पताल आए, त्यो पनि सिकिस्त भएका । भीडभाड र भोजभतेरको परिणाम थियो त्यो ।

दोस्रो लहरमा आईसीयू चाहियो भनेर दैनिक सयभन्दा बढी फोन आउथ्यो । एकैदिन यति धेरै बिरामीलाई आईसीयू चाहिने भएपछि कसरी व्यवस्थापन गर्नु ? आवश्यक परेका सबै बिरामीले आईसीयू नपाउनु गुणस्तरीय उपचार होइन, तर हामी कमसल सेवा दिन बाध्य भयौं । यो ज्यादै दु:खद अनुभव हो । अवस्था यस्तो हुनसक्छ भन्ने पुर्वानुमान थियो, तर व्यावस्थापन चुक्यो ।

अझै पनि आईसीयू खाली छैनन्, नयाँ बिरामीलाई इमर्जेन्सी वार्डमा होल्ड गर्नुपरेको छ । आईसीयूमा क्षमताभन्दा तीनगुणा बढी बिरामी राखेर उपचार गरिरहेका छौं । जनशक्ति पनि पहिलेकै छ ।

महामारीले पढाएको पाठ

यो डेढ वर्षमा मैले घरपरिवारसँग बोलचाल पनि कमै गरें । एक-दुई पटक त जागिर छाड्नसमेत भनेका थिए, तर परिवारले भन्ने बितिकै भावुक भएर छाड्ने कुरा भएन । यहाँसम्मको यात्रामा समय र पैसाको मात्र लगानी छैन, ‘प्यासन’ पनि छ । ‘प्यासन’कै कारण चिकित्सक बनेका हामी धेरै छौं । फेरि, समाजले योगदान खोजेको बेला भाग्ने कुरा पनि भएन ।

गत डेढ वर्षमा मैले एक दिन पनि बिदा लिएको छैन । आईसीयूका अन्य साथीहरुले पनि बिदा नलिइकन चौबिसैघण्टा कलमा बसेर काम गरिरहेका छन् ।

ड्युटीमा हुदा सबैसंग कुरा गर्न भ्याइन्न । हेर्नुपर्ने बिरामी धेरै हुँदा समय कम हुन्छ । बिरामीका आफन्तलाई भने आफ्नो मात्र बिरामी हो भने लाग्ने रहेछ, अरुबारे संवेदनशील नहुने रहेछन् । आफ्नो बिरामीको मात्र चिन्ता र चासोले चिकित्सकहरुलाई समस्यामा पार्छ ।

एकजना बिरामीका आफन्तहरुको रिस र अविश्वासका कारण धेरै जना चिकित्सकसँग सशंकित बन्छन्, जुन हाम्रो लागि यातना हुन्छ । त्यस्तो बेला भोगेको दुर्व्यवहार बिर्सन सकिन्न ।

आईसीयूका वान, टू र थ्री गरी तीन लेभल हुन्छ । हामी लेभल थ्री आईसीयूमा काम गर्छौ, जहाँ ‘मल्टिअर्गान फेलर’ भएका संक्रमितहरु राखेर डायलासिसदेखि मुटु उपचारसम्म गरिन्छ । यसमा बिरामीको मृत्युदर संसारभर नै धेरै हुन्छ । अमेरिकामा यो दर ५०-६० प्रतिशत छ ।

शिक्षण अस्पतालमा त ९५ प्रतिशत संक्रमितको मृत्यु भएको हल्ला फैलाएको पनि देखियो, तर त्यो हुँदै होइन । सबै बिरामी लेभल थ्रीमा आएका पनि होइनन् । यस्ता हल्लाहरुले स्वास्थ्यकर्मीको मनोवल घटाएको छ ।

जे होस्, यो महामारीले हामीलाई सधैं तयार अवस्थामा बस्ने पाठ पढाएको छ । त्यो भनेको अहिलेभन्दा पाँच गुणा बढी बिरामी आउँदा पनि व्यवस्थापन गर्नसक्ने योजना बनाएर लागू गर्नु हो । यसमा सबै पक्ष स्पष्ट भएर लाग्नुपर्छ ।



साभार

सम्बन्धित खवर