नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एकपल्ट मुलुकको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छ । मुलुकको अहिलेको जटिल राजनीतिक परिस्थितिमा देउवाको पुनरोदयले आम जनतामा नयाँ आशा पलाएको देखिन्छ । केपी ओली प्रवृत्तिबाट आजित भएका नेपाली जनताले देउवाको पदवहालीसँगै लोकतन्त्र बचेको विश्लेषण गर्न थालेका छन् । योसँगै जनतामा ओलीले सृजना गरेको भय र असुरक्षाको पनि अन्त्य भएको आम महसूस गरेका छन् ।

देउवाको पाँचौं सत्तारोहण केवल संयोग मात्र होइन । उहाँ स्वयम्का केही अन्तरनिहित गुणहरू पनि यसपटक देखिने अनुमान गर्न सकिन्छ । राजनीतिक नेताहरूमा नभई नहुने यस्ता गुणहरूले नै उहाँलाई मुलुकको बागडोर सम्हाल्ने पटक–पटक अवसर जुरेको हो । तीन दशक लामो चिनजानका क्रममा मैले देउवामा तीनवटा विशिष्ट गुण पाएको छु ।

पहिलो हो प्रतिबद्धता । प्रतिबद्धता उहाँको सबैभन्दा ठूलो गुण हो । जे काम गरे पनि त्यसमा प्रतिबद्ध हुने उहाँको कार्यशैली नै हो । नेतृत्वमा हुनुपर्ने यो महत्वपूर्ण गुण उहाँमा रहेको छ । साहसी, खतरा मोल्न सक्ने तथा चुनौतीलाई सामना गर्न सक्ने आँट उहाँमा छ । त्यो लुकेको शक्ति वा गुण भएर नै उहाँले गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)जस्तो पार्टी र देशमा एकछत्र राज भएको नेतालाई टक्कर दिने हिम्मत गर्नुभएको हो ।

तत्कालीन परिवेशमा किसुनजी (कृष्णप्रसाद भट्टराई), गणेशमान सिंह जस्ता नेताहरू समेत थाकिसकेका बेला गिरिजाबाबुलाई चुनौती दिने साहस देउवाले गर्नुभयो । त्यो नै उहाँमा लुकेको नेतृत्वको गुण थियो । त्यसकारण उहाँ साहसी नेता पनि हो भन्ने प्रमाणित भइसकेको छ ।

अर्को उहाँमा ‘गिभिङ एटिच्युड’ छ । नेतृत्वमा हुनुपर्ने राम्रो गुणमध्ये यो पनि हो । आफूले लिनेभन्दा पनि दिनसक्ने गुण नेतृत्वमा हुनुपर्छ । जति दिनसक्यो नेतृत्व त्यत्ति नै स्थापित हुने हो । नेतृत्वले शेयरिङ गर्ने क्षमता राख्नुपर्छ । देउवामा ठ्याक्कै त्यो गुण पनि छ ।

तत्कालीन नेकपा र पछि एमालेमा देखिएको विग्रह कसैलाई दिनै नचाहले केपी ओलीको मैमत्त स्वभावका कारण सिर्जिएको हो । तर देउवामा ‘गिभिङ एटिच्युड’ देखिन्छ । बाहिर हेर्दा कठोर जस्तो देखिए पनि देउवाको भित्री मनचाहिं दयालु छ ।

यिनै गुणहरूले देउवाप्रति समाजमा विभिन्न वर्ग, समुदाय र पेशाका मानिसहरू आकर्षित छन् । वास्तवमा विना पूर्वाग्रह मूल्याङ्कन गर्ने हो भने बीपी कोइरालापछि सामाजिक परिवर्तनका लागि कुनै नेता वा सरकारले काम गरेको छ भने त्यो देउवा सरकारले मात्र छ । बीपीले पनि धेरै कोशिश गर्नुभयो । कति त सक्नुभयो धेरैजसो सक्नु भएन, किनभने उहाँको कार्यकाल छोटो रह्यो । बीपीका दस्तावेज, किताब, अभिव्यक्ति हेर्दा उहाँमा नेपालमा ठूलो परिवर्तन गर्नुपर्छ भन्ने नै थियो । त्यो बेलाको सनातनी समाजलाई परिवर्तन गर्नैपर्छ भन्ने बीपीको सोच देखिन्थ्यो ।

नेपालका कम्युनिष्टहरूले सामाजिक एजेण्डाको नारा केवल सत्ताका लागि मात्र उठाएको देखिन्छ । दलित, गरीब, उपेक्षित, पिछडिएको वर्ग यी सबै चिज कम्युनिष्टले सत्ताका लागि मात्र प्रयोग गरे । तर देउवाको अहिलेसम्मको काम हेर्दा समाज परिवर्तनका लागि नै अग्रसर भएको देखिन्छ । कमैया मुक्ति, हलिया मुक्ति, समावेशिताको विषय मात्र होइन पिछडिएको क्षेत्र, महिला, दलित, आदिवासी÷जनजाति, मधेशी समुदायको उत्थान एवम् विकासका लागि ‘कदमजम’ को नीति देउवाले नै अघि सार्नुभएको हो ।

यसर्थ, बीपीको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा कार्यान्वयन गर्नमा देउवाको अग्रणी भूमिका छ । सामाजिक न्याय, समानता र समावेशिता यी तीनवटै चिजमा संसदमै प्रतिबद्धता व्यक्त गरिएको विषय हो । सामाजिक परिवर्तनको पक्षमा बीपीपछि जबर्जस्त कोशिश गर्ने व्यक्ति देउवा नै हो ।

सामाजिक रूपान्तरणका साथसाथै आर्थिक पक्षमा विभिन्न परिवर्तनको शुरुआत गर्ने जस पनि देउवालाई जान्छ । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको शक्तिशाली गृहमन्त्री रहनुभएका देउवाले उतिबेलै आर्थिक रिफर्मको अवधारणा अघि सार्नुभएको थियो । आर्थिक उदारीकरणका पक्षमा प्रत्यक्ष र परोक्ष भूमिकामा उहाँ हुनुहुन्थ्यो । आर्थिक समावेशिता, आर्थिक विकास मात्र होइन न्यायपूर्ण वितरण सँगसँगै जानुपर्छ भन्ने बीपीको सिद्धान्त कार्यान्वयनमा देउवा प्रतिबद्ध देखिनुहुन्छ । उहाँको प्रधानमन्त्रीत्वकालमा आएका बजेटहरूमा पनि यो झल्को देखिन्छ ।

अहिले पनि चीन महाशक्तिका रूपमा उदय भइरहेको छ । भारत पनि तेस्रो–चौथो महाशक्ति बन्दैछ । मोदी र सी चिनफिङ जस्ता नेताहरू छन् । अमेरिकाको मुख्य नजर नै एशिया प्यासिफिकमा छ ।

नेपालमा जमीनको वितरणमा बीपी पछि उहाँ नै हो । जग्गाको हदबन्दी घटाउने काम उहाँले नै गरेको हो । किनकि उदार अर्थतन्त्र, आर्थिक विकास, आर्थिक उन्नति र न्यायपूर्ण वितरणमा उहाँको विश्वास थियो । बीपीको प्रजातान्त्रिक समाजवादको आर्थिक सिद्धान्त पनि त्यही हो । विश्वका प्रजातान्त्रिक समाजवादी देशहरूमा हुने पनि आखिर यही हो ।

सोसलिष्ट इन्टरनेसनलमा लामो समय उपाध्यक्ष पनि हुनुभएकाले नेपालमा त्यो सिद्धान्त अनुसार आर्थिक विकास गर्नुपर्छ भन्ने देउवाको सोच थियो । लागू गर्ने काममा उहाँले देखाएको तदारुकताबाट यस्तो देखिन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका आयामबाट पनि उहाँलाई बीपीसँग जोडेर हेर्न सकिन्छ । देउवाले नै बीपीको सपना साँचो अर्थमा अघि बढाउने प्रयत्न गर्नुभएको थियो । बीपी दक्षिणएशियाको जबर्जस्त नेता हुनुहुन्थ्यो । त्यो बेलाको भूराजनीति बुझेर सन्तुलित परराष्ट्र नीति हुनुपर्छ भन्ने नेता बीपी हुनुहुन्थ्यो ।

पछिल्लो समसामयिक नेपाली राजनीतिमा त्यसलाई व्यवहारमा उतार्ने भूमिकाको नेतृत्व शेरबहादुर देउवाले लिनुभयो । केही समय यता मुलुकको गञ्जागोलपूर्ण राजनीति र भूराजनीतिक परिस्थितिलाई सम्हाल्न सक्ने सन्तुलित व्यक्ति उहाँ नै हो । त्यसैले घुमिफिरी सत्ता फेरि उहाँको हातमा आएको हो ।

देशको विकास, सार्वभौमिकता र दीर्घकालीन राष्ट्रिय हितका लागि सन्तुलित परराष्ट्र नीतिको पक्षमा देउवा अडिग देखिनुहुन्छ । बीपीको समयमा पनि लगभग यस्तै यस्तै अन्तर्राष्ट्रिय परिस्थिति थियो । उथलपुथलको समय थियो । त्यतिबेला चीन कम्युनिष्ट देश बनेको थियो । भारत स्वतन्त्र मुलुकका रूपमा अघि बढ्दै थियो ।
दुवै देशमा शीर्ष नेताहरूले सत्ताको बागडोर सम्हालेका थिए । दुवैतिर जबर्जस्त नेताहरू थिए । अमेरिका दोस्रो विश्वयुद्धपछि महाशक्तिका रूपमा उदाइरहेको थियो । नेपालमा भर्खर राणाशासन समाप्त भएर प्रजातन्त्रको उदय भएको थियो । त्यस्तो बेलामा बीपीले नेपालको नेताका रूपमा सुझबुझपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले पनि चीन महाशक्तिका रूपमा उदय भइरहेको छ । भारत पनि तेस्रो–चौथो महाशक्ति बन्दैछ । मोदी र सी चिन फिङ जस्ता नेताहरू छन् । अमेरिकाको मुख्य नजर नै एशिया प्यासिफिकमा छ ।

यस्तो बेलामा आफ्नो देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाइनुपर्छ । अहिलेको राजनीतिक समयमा यी कुराहरूलाई गहिरोसँग बुझेको, दृढ विश्वास भएको र सुझबुझ भएको अनुभवी नेता देउवा जत्तिको अरू छैनन् । अहिले हामीलाई बोल्ने भन्दा पनि बुझ्ने नेता चाहिएको छ । बुझ्ने भन्दा पनि त्यसमा दृढ भएर लागिरहने नेता चाहिएको छ । यसर्थ यो परिस्थितिमा देउवा नै भरपर्दो नेता हो ।

एक–डेढ वर्ष यताको राजनीतिलाई केलाएर हेर्दा कम्युनिष्टको दबदबाको राजनीति, अन्तर्राष्ट्रिय बदलिंदो परिस्थिति, महामारी र प्राकृतिक प्रकोपबाट उत्पन्न आर्थिक अवस्थाले देशको राजनीतिक परिस्थिति अप्ठेरोमा छ । यस्तो स्थितिमा कांग्रेसमा नेतृत्व चयनको लागि महाधिवेशन हुँदैछ । देशलाई स्थिर लोकतान्त्रिक मुलुक बनाउने हो भने एक अनुभवी र संयोजनकारी भूमिका निभाउन सक्ने व्यक्तिको जरुरत छ ।

देशलाई केन्द्रविन्दुमा राखेर सन्तुलित परराष्ट्र नीति या वैदेशिक सम्बन्ध अघि बढाउनसक्ने, अनि अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्न सक्ने व्यक्ति कांग्रेस पार्टीभित्र देउवा बाहेक अरू कोही छैन । देउवाको तुलना अरूसँग हुनै सक्दैन । अहिले कांग्रेसमा जति पनि सभापतिका आकांक्षीहरू हुनुहुन्छ, उहाँहरूका कतिपय राम्रा गुणहरू होलान् ।

कति कुरामा चुस्त दुरुस्त देखिनुहोला तर राज्य सञ्चालन र कांग्रेस जस्तो सबै किसिमको समुदाय, वर्ग, जाति, क्षेत्र सबैको ठूलो छहारी बनेको ऐतिहासिक पार्टीलाई हाँक्न सक्ने र कांग्रेस पार्टीलाई नेपाली राजनीतिको संयोजनकारी भूमिकाको प्रमुख पक्ष बनाउन अनुभवी र क्षमतामा दोस्रो व्यक्ति देखिंदैन ।

नेपाली कांग्रेस नेपालको दीर्घकालीन हित, नेपालीको प्रगति, नेपालको स्वतन्त्रता र स्वाभिमानका लागि अहिलेको अपरिहार्य शक्ति बनेको छ । यो शक्तिलाई कमजोर हुन नदिन पार्टीभित्र मात्र होइन, देशकै नेतृत्व सम्हाल्ने माउ भूमिकामा देउवाको विकल्प छैन । देउवाको पुनरागमनले मुलुकले एउटा गति लिने सम्भावना देखिन्छ ।

(बुढाथोकी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् ।)



साभार

सम्बन्धित खवर