नेल्सन मन्डेलाको भनाइ अनुसार विश्वलाई परिवर्तन गर्न सक्ने सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो। शिक्षाले हाम्रो समग्र विकासमा सहयोग पुर्‍याउँदै आएको छ।
यसले नयाँ सिद्धान्तहरु प्रतिपादन गर्नुको साथै समग्र सामाजिक र आर्थिक विकास गर्न सहयोग गर्दछ।

शिक्षा लिने-दिने क्रममा अध्ययन-अनुसन्धान गर्ने परिपाटी परापूर्वकालदेखि हालसम्म चलिआएको हो। विविध किसिमका अध्ययन-अनुसन्धानमध्ये वैज्ञानिक अनुसन्धान एउटा यस्तो प्रक्रिया हो, जसले कुनै पनि जटिल समस्याको सटिक र भरपर्दो कारण फेला पार्न मद्दत गर्दछ। त्यसैले वैज्ञानिक अध्ययन-अनुसन्धानलाई लिपिबद्ध गरी प्रकाशन गर्न अत्यन्त जरुरी पनि छ किन भने अनुसन्धानको प्रकाशनले विद्वत वर्गमा आफ्नो ज्ञान बाँड्नुका साथै अनुमोदन गर्न सहयोग पनि गर्दछ। अध्ययन-अनुसन्धानका नतिजा प्रकाशन गर्नका लागि संसारमा धेरै वैज्ञानिक जर्नल छन्, जसले निश्चित विधि अपनाई लेख प्रकाशन गर्दछन्।

वैज्ञानिक जर्नलहरुको शुरुवात आजभन्दा करीब ३५० वर्ष पहिला भए पनि हालका प्रख्यात जर्नल ‘नेचर, साइन्स, ल्यानस्याट’ सन् १८२० को दशकमा शुरु भएका हुन्। वैज्ञानिक खोजमा बढ्दो चासोसँगै संसारभरि नयाँ-नयाँ जर्नलहरु निस्कने क्रम जारी छ। संसारभरि उत्कृष्ट शैक्षिक वा प्राज्ञिक जर्नलहरुको संख्या ३० हजारभन्दा धेरै छन् र यिनको वर्षेनि वृद्धि ६-७ प्रतिशत छ।

नेपालमा सबैभन्दा पहिले सन् १९६३ मा ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएशन’ शुरु भएको हो। त्यसपछि सन् १९६४ मा पूर्णिमा, १९६७ मा प्राचीन नेपाल, १९७३ मा कैलाश र ‘कन्ट्रीब्युसन्स टु नेपलिज स्टडिज’ हुँदै आज २२९ जर्नलहरु नेपाल जर्नल्स अनलाइनमा सूचीकृत छन्। यसमा सूचीकृत नगरिएका कति छन्, त्यो भन्न गाह्रो छ। हामी यस लेख मार्फत नेपालका वैज्ञानिक र शैक्षिक समुदायमा जर्नलको विश्वसनीयता र गुणस्तर कायम राख्न गर्नुपर्ने महत्वपूर्ण र अनिवार्य कार्य बारेमा जानकारी गर्न चाहन्छौं। यस्तो जानकारीले जर्नलहरूको स्तरोन्नतिमा सकारात्मक टेवा पुग्नेछ।

शैक्षिक जर्नलहरुको उद्देश्य भनेको निरन्तर रुपमा विभिन्न गहन र अनुसन्धानात्मक लेखहरु प्रकाशन गर्नु हो। वैज्ञानिक जर्नलहरु प्रकाशन गर्दा विशिष्ट प्रक्रिया पालन गर्नुपर्ने विश्वव्यापी मान्यता छ। अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान सम्पन्न गरेपछि लेख निश्चित ढाँचामा लेख्नुपर्दछ। विशेष गरी अनुसन्धानको उद्देश्य, अनुसन्धानको प्रक्रिया, निष्कर्ष र विश्लेषणको बारेमा लेख्नुपर्ने हुन्छ। पूर्ण लेख लेखिसकेर जर्नलमा बुझाइसकेपछि उक्त लेख जर्नलका प्रधान सम्पादक वा प्रबन्ध सम्पादकले प्रारम्भिक मूल्यांकन गरी उपयुक्त ठहरिएमा दुई वा दुईभन्दा बढी विषयगत विज्ञहरूलाई समीक्षा गर्न दिन्छन्। यसरी समीक्षा गर्दा अत्यन्त उच्चस्तरको गोपनीयता कायम गरिन्छ।

विज्ञहरुले उक्त लेखको मिहिन ढंगले समीक्षा गरेर प्रकाशन गर्न, सुधार गर्न वा अस्वीकार गर्न सिफारिश गर्दछन्। यदि सुधारयोग्य भए टिप्पणीहरु सहित उक्त लेख सम्बन्धित लेखकलाई सच्याउनका लागि पुनः फिर्ता पठाइन्छ। चित्तबुझ्दो ढंगले समीक्षा टिप्पणीहरु अनुरुप लेख सुधारिएमा जर्नलमा छापिन्छ, अन्यथा छापिंदैन। त्यसैले जर्नलको उत्कृष्टताका लागि अनुसन्धानकर्ता, सम्पादन मण्डल, मूल्यांकनकर्ताहरुको समानान्तर र महत्वपूर्ण भूमिका रहन्छ।

नेपालमा सयौंको संख्यामा जर्नलहरू प्रकाशन हुने गरेका छन्। अहिलेको मुख्य प्रश्नहरु भनेका के हुन् भने ती जर्नलमा प्रकाशन गर्न हजारौं लेखको आवश्यक अनुसन्धान नेपालमा हुन्छन् ? के ती जर्नलहरुका सम्पादन मण्डल योग्य छन् त ? के योग्य मूल्यांकनकर्ताहरु उपलब्ध छन् त ? नेपालका विश्वविद्यालयहरूमा वैज्ञानिक अनुसन्धान एकदमै न्यून हुने र भएका पनि प्रकाशन योग्य अत्यन्तै कम हुने गर्छन्। सन् २०२० मा प्रकाशित एक अनुसन्धान लेखमा प्रकाशकुमार पौडेल, वसन्त गिरी र शान्ता ढकालले नेपालमा विश्वविद्यालय अनुदान आयोगबाट सन् २००८ देखि २०१८ सम्म प्राप्त अनुसन्धान परियोजनाहरुबाट जम्मा १७ प्रतिशत नतिजाहरु लेखका रुपमा प्रकाशित भएका थिए भन्ने तथ्य अघि सारेका छन्।

यस अनुसन्धान अनुसार ८६ प्रतिशत प्रकाशित लेखहरु ‘कमसल जर्नल’ मा र १० प्रतिशत लेखहरु ‘प्रिडेटोरी जर्नल’ मा (पैसाको लागि जस्तो पनि लेख प्रकासित गर्ने) प्रकाशित भएको देखाएको छ। यसले नियमित विद्यार्थी अनि शिक्षक-शिक्षिका मात्र नभएर अनुदान प्राप्त आयोजनाहरुका नतिजा पनि न्यून रुपमा छापिने मात्र होइन अनुसन्धानको उत्कृष्टतामा पनि अत्यन्त गम्भीर प्रश्न प्रकट गरेको छ।

संसारभरि बग्रेल्ती प्रकाशन हुने प्राय: जर्नलहरुका आ-आफ्नै प्रकाशन गृहहरु हुने गर्छन्। यिनीहरु पूर्णत: स्वतन्त्र र व्यावसायिक हुन्छन्। जर्नलमा छापिएका लेखहरु नि:शुल्क उपलब्ध हुँदैनन् किन भने प्रकाशन गृहहरुले आफ्नो लागत खर्च उठाउन छापिएका लेखहरु बेच्ने गर्छन्। तर हिजोआज नि:शुल्क रुपमा लेख उपलब्ध गराउने बृहत् बहु-आयामिक प्रकाशन गृहहरु पनि अस्तित्वमा छन्। यिनीहरुले लेखकसँग लेख प्रकाशन बापत मोटो रकम असुल्ने गर्छन्।

यस बाहेक संसारमा लेख प्रकाशनभन्दा पनि आर्थिक लाभ हासिल गर्नकै लागि धेरै जर्नलहरू छापिने गर्छन्। यिनीहरु लेखको गुणता सतही रुपमा जाँच गर्ने र लेख सहज र द्रुत गतिमा स्वीकार्ने गर्दछन्। वास्तवमा यी जर्नलहरु झ्वाट्ट हेर्दा राम्रा देखिन्छन् तर समग्रमा निम्नस्तरका हुने गर्छन्। यस्ता जर्नलहरुलाई अंग्रेजीमा ‘प्रिडेटोरी जर्नल’ भनिन्छ र संसारमा यिनको संख्या १३००० भन्दा ज्यादा छन्। यी विशेषत: भारत र अफ्रिकी देशहरुबाट प्रकाशन हुने गर्दछन्।

जर्नलहरुलाई प्रभाव र गुणको आधारमा वर्गीकरण गर्ने चलन छ। मुख्यतः दृष्टान्त प्रभाव (impact factor) एक मानकका रुपमा लिने गरिन्छ। दृष्टान्त प्रभाव संख्या जति धेरै भयो जर्नल त्यति नै प्रतिष्ठित मान्ने चलन छ। यद्यपि दृष्टान्त प्रभावको सर्वस्वीकार्यतामा विवाद भने नभएको होइन तर हालसम्म उक्त मानकको जति आलोचना गरे पनि अर्को विकल्प भने छैन।

प्रकाशित लेख कति पटक अरुले शैक्षिक लेख वा पुस्तकमा सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरे भन्ने आधारमा दृष्टान्त प्रभाव गणना गरिन्छ। संसारमा यसका लागि बृहत् तथ्यांक केन्द्रहरु उपलब्ध छन्। यद्यपि यस्ता तथ्यांक केन्द्रमा दर्ता हुन विभिन्न नियमहरू कडाइका साथ पालना गर्नुपर्दछ। अन्यथा जर्नल चाहेको तथ्यांक केन्द्रमा दर्ता गर्न असम्भव हुन्छ।

विभिन्न तथ्यांक केलाउँदा अधिकांश नेपाली जर्नलहरू विश्वका ठूला तथ्यांक केन्द्रहरुमा सूचीकृत भएका पाइँदैनन्। आजसम्म ‘स्कोपुस’ मा सूचीकृत जम्मा चार वटा विज्ञानसँग सम्बन्धित जर्नलहरु रहेका मध्ये एक श्रेणी ३ र बाँकी तीन श्रेणी ४ पर्दछन्। यसबाट के स्पष्ट हुन्छ भने हामी नेपालीहरु गुणस्तर जर्नल प्रकाशनमा निकै पछाडि छौं। संसारमा सकेसम्म आफ्नो लेख प्रतिष्ठित जर्नलमा छपाउने चलन छ। यसका लागि मुख्यतः दुई कारणहरु छन्।

पहिलो, अनुसन्धान अनुदान दिने संघ-संगठनले अवलम्बन गर्ने नीति हो। जसमा लाखौं-करोडौं रुपैयाँ खर्च गरी सम्पन्न भएको आफ्नो अनुसन्धानबाट प्राप्त हुने नतिजामा आधारित अनुसन्धानात्मक लेख दृष्टान्त प्रभाव भएका जर्नलमा प्रकाशन गर्नुपर्ने बाध्यात्मक अनिवार्य नीति हुन्छ। दोश्रो, यदि लेखहरू कम गुणस्तरको जर्नलमा प्रकाशित भएमा ती लेखहरु कुनै पनि विदेशी प्रतिष्ठित संघ-संस्था वा कार्य क्षेत्रसँग सम्बन्धित ठाउँमा हुने पदोन्नति र थप अनुदान अनुप्रयोगको लागि काम नलाग्ने हुन्छन्।

यद्यपि, नेपालमा पनि दृष्टान्त प्रभाव भएका जर्नलहरुले विस्तारै महत्व पाइरहेका छन् भन्ने कुरा हालै नेपाली विश्वविद्यालयहरुले खुला प्रतिस्पर्धाबाट सह-प्राध्यापक र प्राध्यापकहरुको छनोट र आन्तरिक समूहबाट पदोन्नति पद्धतिमा दृष्टान्त प्रभाव भएका जर्नलमा छापिएका लेखहरु मात्र प्रयोग गर्ने नियमले देखाउँछ।

हाल नेपालमा विश्वविद्यालय अनुसन्धान आयोगले शैक्षिक गुणस्तर आश्वासन र मान्यता नियमनको नाममा सबै विश्वविद्यालय, तिनीहरुको आंगिक क्याम्पस र अन्य निजी तथा सामुदायिक क्याम्पसहरुलाई अनिवार्य रुपमा जर्नल प्रकाशन गर्नुपर्ने भन्ने नीति बनाएको छ। जर्नल संचालन गर्दा पालन गर्नुपर्ने अनिवार्य पक्षहरु (जस्तै: सम्पादन मण्डलको योग्यता, मूल्यांकनको गुणस्तर र अन्य वैज्ञानिक जर्नलको निष्ठा कायम राख्नुपर्ने अनिवार्य कार्यहरु) बारेमा मौन यस्ता नीतिले बल्ग्रेती जर्नल स्थापना भई अन्ततोगत्वा राष्ट्रिय प्रतिष्ठा र वैज्ञानिक अनुसन्धानको वातावरणलाई नै हानि पुर्‍याउँछ।

नेपालमा बढिरहेको जर्नल प्रकाशनको प्रवृत्ति हेर्दा अनुसन्धानको संस्कार बढ्दैछ भन्ने देखाउँछ। यद्यपि हामीले नेपाली जर्नलहरूको उच्च गुणस्तर कायम गर्न मिल्दाजुल्दा जर्नलहरू गाभ्नुपर्ने, सक्षम र कुनै पनि अदृश्य शक्तिबाट दबाब रहित सम्पादन मण्डल राख्ने, अन्तर्राष्ट्रिय गुणस्तर मापन प्रणालीमा जाने र जर्नलहरूको ढाँचा, सामग्री र प्रकाशनको प्रक्रिया परिवर्तन गर्नुपर्ने देखिन्छ। आशा गरौं, कुनै दिन नेपाली जर्नलहरू आमरुपमा गुणस्तरीय हुनेछन् र तिनीहरुमा लेख प्रकाशन गर्न सबै लालायित हुनेछौं।

(३ जुलाई, २०२१ राति ८ देखि ९:३० बजे क्लबहाउसमा ‘कस्ता छन् त नेपालका स्थानीय वैज्ञानिक जर्नलहरु ?’ भन्ने शीर्षकमा छलफल गर्दा प्राज्ञिक जर्नलहरुबारे प्रकाश पार्न जरुरी छ भन्ने निष्कर्ष अनुरुप यो लेख लेखिएको हो।)



साभार

सम्बन्धित खवर