विराटनगर / कोरोना भाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई बचाउने नयाँ उपचार पत्ता लागेको अध्ययनकर्ताले दाबी गरेका छन् ।

रेजेनोरोनले विकास गरेको मोनोक्लोनल एन्टिबडी उपचारमा एन्टिबडीलाई शरीरमा प्रवेश गराएर कोरोना भाइरसको असरलाई कम गर्न सक्ने बताइएको छ । यो एउटा महँगो उपचार विधि हो । परीक्षणको नतिजाबाट यसले गम्भीर लक्षणका साथ अस्पताल भर्ना भएका ३३ प्रतिशत बिरामीको जीवन बचाउने देखिएको छ ।

मोनोक्लोनल एन्टिबडी उपचारमा प्रयोगशालामा बनाइएका दुई फरक एन्टिबडी प्रयोग गरिन्छ । ती एन्टिबडीले कोरोना भाइरसलाई बाँधेर बढ्न र कोषमा हुने असरलाई रोक्ने गर्छ । बेलायतका १० हजार बिरामीमा गरिएको परीक्षणमा उपचार विधिले मृत्युको जोखिमलाई घटाएको छ । दुई प्रकारका एन्टिबडीहरू नसामार्फत् दिँदा गम्भीर सङ्क्रमितको मृत्युको सम्भावना २० प्रतिशतले घटेको प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्री बताउँछन् ।

साथै, भेन्टिलेटरको आवश्यकता पर्ने अवस्था तथा अस्पताल रहनुपर्ने अवधि औसतमा चार दिनले घटाएको पाइएको छ । तर, यो उपचार शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकास नभइसकेकालाई मात्र दिन सकिन्छ । यस विधिबाट उपचार गर्नका लागि एक लाख २५ हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्म खर्च हुने बताइएको छ ।

तर, एन्टिबडी उपचार अझै अनिश्चित भएको अनुसन्धानकर्ता सर पिटर होर्बीले बताएका छन् । (बिबिसी)



साभार

सम्बन्धित खवर