विराटनगर / प्रदेश १ मा एक सय ६६ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै प्रदेशमा एक सय ६६ सुरक्षाकर्मी सङ्क्रमित भएका हुन् । सङ्क्रमित हुनेमा एक सय ३४ जना नेपाल र ३२ जना सशस्त्र प्रहरी छन् ।

अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको नियमित कामसँगै सीमा क्षेत्रको अवैध आवतजावत रोक्न खटिएका सुरक्षाकर्मी सङ्क्रमित बनेका हुन् ।

नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) एक, प्रहरी निरीक्षक (इन्सपेक्टर) चार, नायव निरीक्षक (सइ) ११, सहायक निरीक्षक (असइ) १७, प्रहरी हवल्दार ३२ जना, छ जना कार्यालय सहयोगीसहितका प्रहरी जवानमा सङ्क्रमण पुष्टि भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये ११ जना शनिबार निको भएका छन् ।

सशस्त्र प्रहरीतर्फ सइ र असइ एक÷एक, वरिष्ठ हवल्दार दुई, हवल्दार एक, सहायक हवल्दार छ र जवान १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार जना सशस्त्र प्रहरी सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेशमा ३५ जना ट्राफिक प्रहरीमा सङ्क्रमण पुष्टि भइसकेको छ । मोरङमा ट्राफिक इन्चार्जसहित १० जनामा सङ्क्रमण देखिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना जोखिमको पर्वाह नगरिकन यतिबेला सर्वसाधारण जनतालाई संक्रमणबाट जोगाउने अभियानमा सुरक्षाकर्मी केन्द्रित रहेको बताए ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले संक्रमित सुरक्षाकर्मीलाई विभिन्न अस्पताल र आइसोलेसनमा उपचारका लागि भर्ना गर्ने गरिएको बताए ।

अक्सिजनको सम्भावित अभावलाई मध्यनजर गर्दै सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयले कार्यदल नै बनाएको छ । सम्भावित जोखिमको अध्ययन गरिरहेको कार्यदलले सबैतिर अक्सिजन आपूर्तिलाई सहज बनाउने भूमिका निर्वाह गरिरहेको जानकारी प्रदेश प्रहरी प्रवक्ता एसपी श्रेष्ठले दिए ।

सङ्क्रमण पुष्टि भएर उपचाररत अवस्थामा रहेका सुरक्षाकर्मीको मनोबल उच्च बनाउन प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहाल र नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले सङ्क्रमित प्रहरीलाई आत्माबल दह्रो बनाउन हौसला दिइरहेका छन् ।

डीआईजी कार्कीले निषेधाज्ञाको कार्यान्वयनसँगै विभिन्न घटनामा संलग्नलाई पक्राउ गर्दा र हिरासतमा राख्दा तथा सबैतिरको प्रत्यक्ष सम्पर्कले पनि प्रहरी संक्रमणको जोखिममा रहने बताए । सशस्त्रका डीआईजी दाहालले नियमित कामसँगै जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काममा खटिएको बताए ।



साभार

सम्बन्धित खवर