काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले १–० को जित दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।

पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । आठौं मिनेटमा नुर्लान नोभ्रुजोभको पासमा भिलिम पोसिन्कोभिकले गोलरक्षक विकेश कुथु बिट भइसकेको अवस्थामा गरेको प्रहार बाहिरिदा ललितपुर अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा मेसौके ओलुमोउका पासमा स्टेफन विनोङ समिरको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा आशिष राईको प्रहार दोस्रो बारबाट बाहिरिदा काठमाडौं अग्रता लिनबाट चुक्यो ।

१४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उनी चुकेनन् । गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिदै बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

२२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दै गोलमा परिणत भएको थियो । २८औं मिनेटमा अन्जन विष्टको पासमा गौरव बुढाथोकीको प्रहार बाहिरिदा ललितपुरले गोलअन्तर घटाउन सकेन ।

२–० ले पछि परेकोको ललितपुरले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाएपनि काठमाडौंको बलियो रक्षापङ्ति तोड्न सकेन । ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले अफसाइड बिट ट्याप गर्दै चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार गोलमा परिणत हुदा काठमाडौंले खेलमा ३–० को अग्रता लियो ।

७१औं मिनेटमा डोना थापाको पेनालटी बक्सबाहिरको फ्रिकिक पोस्टबाट थोरै बाहिरिद ललितपुर अग्रता कम गर्नबाट चुक्यो । ७४औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए । ७९औं मिनेटमा प्रवेश दनुवारको क्रसलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । ८८औं मिनेटमा डोना थापाको कर्नरलाई विकेशले सहजै नियन्त्रण्मा लिए ।

काठमाडौंका आशिष गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मेसौके ओलमोउखेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे ।

काठमाडौंले प्ले अफको पहिलो खेलमा धनगढीसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।



साभार

सम्बन्धित खवर