विराटनगर / स्थानीय सरकार र प्रदेश सरकारको लापरबाहीका कारण विराटनगरकाे रानी नाका हुँदै विराटनगर आएका एक पुरुष दिनभर नाकामै बस्न बाध्य भएका छन् । काेराेना पाेजेटिभ देखिएका सुर्खेत घर भएका पुरुष घर जाने पैसा नभएका कारण दिनभर नाकामा बस्न बाध्य भएका हुन् ।

सुर्खेतको चौकुने गाउँपालिका–८ का ३९ वर्षीय पुरुष चार जना साथीसँगै सोमबार बिहान ११ बजे नेपाल आइपुगेका थिए । नाकाको हेल्थ डेस्कमा एन्टिजेन जाँच गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखियो । तीन जनाको रिपोर्ट नेगेटिभ आयो ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई नेपाल प्रवेश गर्न दिइएन । प्रवेश नपाएपछि उनी दिनभर नाकामा रुदै बसे । बेलुका भने उनलाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना गरियो ।

उनी चार महिनाअघि उनी भारत बिहारको मधेपुरामा काम गर्न पुगेका थिए । तर काम नपाएपछि फर्किए । कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले आफन्तलाई बोलाउन भन्यो । सुर्खेतबाट आउन सक्ने अवस्था थिएन । आफन्त नआउने भए एम्बुलेन्स रिजर्भ गरेर जान भन्यो । तर उनीसँग पैसा थिएन । आफन्त नआउने र एम्बुलेन्समा जान नसक्ने बताएपछि उनलाई भारत फर्काइयो । भारतमा जाने ठाउँ नभएपछि उनी नाकामा रुँदै बसे ।

‘पश्चिम नेपालको सुर्खेतका चार जना रानीनाका हुँदै विराटनगर प्रवेश गरेपछि कोरोना भए/नभएको पुष्टि गर्न एन्टिजेन परीक्षण गरिएको हो,’ हेल्थ डेस्कका चिकित्सक डाक्टर कमलकिशोर यादवले भने, ‘तीन जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा कोरोना पुष्टि भयो ।’ रिपोर्ट पोजिटिभ आएका पुरुषलाई ज्वरो र कफको समस्या रहेको जानकारी उनले दिए ।

उनीसँगै नेपाल फर्किएका सुर्खेतको चौकुने–५ का खड्ग दमाईका अनुसार सङ्क्रमित पुरूष भारतीय बजारमा रात्रिकालीन चौकीदारी गर्थे । तर भारतमा कोरोना तीव्र रूपमा फैलन थालेपछि नेपाल फर्किएको उनले बताए । ‘काम नपाएपछि हामी नेपाल फर्किएका हौँ,’ खड्गले भने, ‘परीक्षण गर्दा साथीलाई कोरोना पुष्टि भयो, तर हामी भने रिपोर्ट नेगेटिभ आएकाले घरतिर आयाैँ ।’

सङ्क्रमित पुरुष रोएर बसिरहेको जानकारी गराउँदा पनि सम्बन्धित निकायले वास्तै गरेन ।

भारतबाट आउनेलाई कोरोना पुष्टि भए होम आइसोलेसनमा बस्ने गरी वा अस्पताल भर्ना गर्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने गरिएको डाक्टर यादवको भनाइ छ । तर पश्चिम नेपालका ती पुरुषलाई जिम्मा लिन कोही आएनन् ।

काेराेना पाेजेटिभ देखिएपछि उनलाई नेपालतिर अघि बढ्न पनि सुरक्षाकर्मीले दिएनन् । खड्गका अनुसार सङ्क्रमितलाई सार्वजनिक सवारी साधनमा घर जान दिँदा अरू यात्रुलाई कोरोना फैलनसक्ने भन्दै सुरक्षाकर्मीले रोकिदिएका थिए । सुरक्षाकर्मीले रोकेपछि नाकामा रहेकाहरूले भारततिरै फर्किएर जानू भनेको खड्काले बताए । उनका अनुसार ती पुरुष नाकामै रोकिए । दिनभर रोएरै बिताए । हारगुहार गरे पनि कसैले नसुनेको उनले बताए । भोक लाग्यो भन्न थालेपछि हेल्थ-डेस्कका स्वास्थ्यकर्मीले नास्ता किनेर दिएका थिए ।

सङ्क्रमित पुरुष रोएर बसिरहेको जानकारी गराउँदा पनि सम्बन्धित निकायले वास्तै नगरेको एक सुरक्षकर्मीले बताए । नाकामा अलपत्र परेपछि राति उनलाई विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले सुर्खेत घर भएका सङ्क्रमितलाई उपचारका लागि राति आठ बजेतिर उपचारका लागि भर्ना गरिएको बताए । उनका अनुसार उपचाररत सङ्क्रमितको अवस्था सामान्य छ । केन्द्रमा अहिले २८ जना सङक्रमितको उपचार भइरहेको राजवंशीले बताए । उपचार केन्द्रमा अक्सिजनसहितका ३१ वटा बेड छन् ।

गत चैत २८ गते पनि उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिलामा पनि नाकामा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर कसैले वास्ता नगरेपछि उनी सार्वजनिक सवारीसाधन चढेरै गाउँ पुगेकी थिइन् ।

रोजगारीका लागि भारत गएकाहरू पछिल्लो समय कोरोना तीव्र रूपमा फैलन थालेपछि धमाधम नेपाल फर्कन थालेका छन् । तर उनीहरूले सीमानाकामा अनेक सास्ती बेहोर्नुपरिरहेको अधिकारकर्मी उमेश विश्वकर्माले बताए ।

टाढा घर भएका सङ्क्रमितलाई राख्नका लागि प्रदेश १ को राजधानी विराटनगरमा होल्डिङ सेन्टर र आइसोलेसन बनाइएको छैन । प्रदेश सरकारले भारतबाट आएकाहरुलाई राख्नका लागि होल्डिङ सेन्टर बनाउने तयारी सुरु गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

रानी नाका हुँदै भारतबाट मङ्गलबार एक सय ४१ जना नेपाल प्रवेश गरेका थिए । सोमबार ६४ जना आएका थिए । वैशाख लागेपछि हालसम्म यो नाका हुँदै चार सय जनाभन्दा बढी नेपाल प्रवेश गरिसकेका छन् । अहिलेसम्म यो नाकामा गरिएको एन्टिजेन परीक्षणबाट १० पुरुष र तीन महिला गरेर १३ जनाको रिपोर्ट पोजिटिभ आएको डाक्टर यादवले बताए ।



साभार

सम्बन्धित खवर