बिस्तरामा पल्टिनासाथ निदाइहाल्ने मान्छे देख्यो कि मलाई बडो इर्ष्या हुन्छ । म हरेक रात कर–बलले निदाउने प्रयत्न गर्छु ।

मनमा अनेकन् कुरा खेल्छन् । मस्तिष्कले कैयन् तर्क–वितर्क गर्छ । मन र मस्तिष्कको घम्साघम्सीमा मेरो निद्रा छेउ लागेर बस्छ । अझ आजकालको प्रविधिको प्रयोग, मोबाइल फोन र सामाजिक सञ्जालको लतले कहिलेकाहीं त रात छर्लङ्ग भएको पत्तै पाउँदिनँ ।

सारा संसार समेट्ने यति सानो यन्त्र देखेर म कुनै बेला त चकित हुन्छु । गजबको मगज छ मान्छेसँग ! उसले गर्ने आविष्कार देखेर म जिल्ल पर्छु ।

सामाजिक सञ्जालले भौगोलिक दूरीलाई निकै खुम्च्याइदिएको छ । कुनै बेला त म विदेशमा छु भन्ने भान पनि हुँदैन । इष्टमित्र र आफन्तहरूसँग नियमित कुराकानी हुन्छ ।

मेरो एउटा साथी छ– लँगौटिया यार । सानोमा हातले जाँगे र सासले सिंगान तान्दै हिंड्दादेखिको मित्रता हो हाम्रो । अचेल हाम्रो कुराकानीमा परिपक्वता आएको छ । घरव्यवहार, राजनीतिक चिन्तन र जीवन दर्शन जस्ता शीर्षकमा पनि हामी घन्टौं आ–आफ्नो तर्क गर्छौं । ऊ केही समय पहिले विद्यार्थी राजनीतिमा सक्रिय थियो । अचेल एक राजनीतिक पार्टीको युवा नेता भएको छ ।

एक जना दिदी हुनुहुन्छ, पूर्वतिरको । काखे छोरी छोडेर आउनुभएको चार–पाँच वर्ष जति भयो । छोरीको उज्ज्वल भविष्यको निम्ति आफ्नो खुशी निमोठेर यहाँ आइपुगेकी यी कर्मठ ममतामयी आमाको मातृत्वमा देशद्रोहीको दाग देख्छौ ?

हिजो राति कुरैकुरामा उसले ‘देश विकास नहुनुको मुख्य कारण नेपाली विदेशिनु हो’ भन्ने तर्क राखेको थियो । मैले उसको तर्कमा विमति राखें । तर्कले विवाद सिर्जना गर्‍यो । विवादले क्रोधको ! उसले क्रोधित हँुदै भन्यो, ‘तँ जस्तो देशद्रोही यो देशलाई चाहिएको पनि छैन’ र ऊ अचानक अफलाइन भयो । अहिले म आफ्नो कम्प्युटर अघि बसेर उसलाई प्रतिक्रिया दिंदै यो लेख्दैछु–

मेरो मस्तिष्कमा हिजोदेखि तिमीले लगाएको आरोपले पिरोलिरहेको छ । कतै मुटुमा ठोक्किइरहेको छ । जति सोच्छु त्यति गम्भीर बन्दै जान्छ आरोप । राष्ट्रियता मापन गर्ने तिम्रा आधारहरूप्रति म अनभिज्ञ छु ।

मभित्रको राष्ट्रियता प्रमाणित गर्नुपर्ने आवश्यकता ठान्दिनँ तर पनि आत्मसन्तुष्टिको निम्ति भए पनि मेरो हृदयको भावना उजागर गर्दैछु ।

थोरै अतितबाट विस्तार गर्छु । नयाँ नेपाल निर्माणको निम्ति मेरो कान्छो बुवा आफ्नी श्रीमती र बालक छोरालाई छोडेर क्रान्ति गर्न घरबाट निस्किएका थिए । कान्छो बुवाको निर्णयप्रति मेरो बुवाको अस्वीकृति थियो । घर छोड्नुअघि उहाँले भन्नुभएको थियो, ‘दाइ, यो लडाईं म आफ्नो लागि होइन, हाम्रो सन्तानको निम्ति लड्न जान लागेको हुँ ! मलाई न रोक्नुस् ! नत्र भोलि हाम्रो सन्तानलाई दिने जवाफ मसँग हुनेछैन ।’ बुवा निःशब्द हुनुभयो !

त्यस दिन घरबाट निस्किनुभएको कान्छो बुवा फेरि फर्केर कहिल्यै आउनुभएन । उहाँको पार्टी सत्तामा पनि पुग्यो । देश र जनताले के प्राप्त गरे त्यो जगजाहेर छ ।

देश विकास भयो÷भएन त्यो त सबैले महसुस गरेको र तिमीले पनि देखे/भोगेको कुरा हो । तर नेताले मनग्य विकास गरे । तीन वर्षअघि खाडीमा गएको कान्छो बुवाको छोरो बाकसमा नेपाल फर्कियो । मेरो कान्छो बुवाको त्याग, भाइको गुमेको जीवन र कान्छी आमाको वेदनामा मलाई देशद्रोही भन्ने तिमीले राष्ट्रियताको थोरै धर्का देख्छौ÷देख्दैनौ मलाई थाहा भएन ।

अब म तिमीलाई थोरै मेरो वर्तमान परिवेश सुनाउँछु । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी नेपाली यहाँ समेटिएर बसेका छौं । हामी विभिन्न जातजाति र भेषभूषाका पक्कै हौंला तर हामीमा कुनै विभेद छैन ।

एक विद्यार्थी भाइ छ । दिनरात मिहिनेत गरेर उच्च शिक्षा हासिल गर्दैछ । तिमी आवद्ध विद्यार्थी संगठनले विद्यालयहरूमा ताला लगाउँदै शिक्षा क्षेत्र ठप्प पारेकोले आजित भएर ऊ उच्च शिक्षा हासिल गर्न यहाँ आएको हो ।

एक जना राष्ट्रकै प्रतिष्ठित कलाकार छन् । जमघटमा आफ्नो कला पस्किन्छन् । उनले आफ्नो कला मर्न दिएका छैनन् । एक जना दिदी हुनुहुन्छ पूर्वतिरको । काखे छोरी छोडेर आउनुभएको चार–पाँच वर्ष जति भयो । छोरीको उज्ज्वल भविष्यको निम्ति आफ्नो खुशी निमोठेर यहाँ आइपुगेकी यी कर्मठ ममतामयी आमाको मातृत्वमा देशद्रोहीको दाग देख्छौ ?

एक आत्मीय भाइ छन्, भर्खर जुँगाको रेखी बस्दै गरेका । उनी सडकको बाटो लाखौं तिरेर महिनौं लगाइ ज्यानको बाजी लगाएर आएका । उनले भर्खर सञ्चालन गरेको व्यापार तिम्रो पार्टीका  कार्यकर्ताले तोडफोड गरेछन् । दिनहुँ चन्दाको धम्की आउन थालेछ ।

यहाँ विभिन्न संघसंस्था पनि छन्, जो नेपालीको हितमा लागेका । नेपालमा कोही बिरामी परे यहाँ चन्दा संकलन हुन्छ । प्राकृतिक प्रकोपका बेला सहयोगका निम्ति कोष खडा गरेर राहत पुर्‍याउन तम्तयार हुन्छन् । यहीं जन्मेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा सिकाउँछन् ।

न्यूयोर्क शहरको मुटुमा अवस्थित अति व्यस्त टाइम्स स्क्वायरको भीडभाडमा आफूलाई शून्य पाउँछु । कोलाहलभित्र आफू हराएको भान हुन्छ । तर बानेश्वर चोक मलाई आफ्नो घरको दैलो जस्तो लाग्छ ।

ती स–साना बालबालिकाले कलिला हात जोडेर नमस्ते गर्दा हृदय नै पग्लन्छ । थोरै संख्यामा रहेका ज्येष्ठ नागरिकले ढाका–टोपी, दौरा र सारीमा सजिएर बाटोतिर हिंडेको देख्दा छाती गर्वले चौडा हुन्छ ।

हरेक आइतबार यहाँ नेपाली मन्दिरमा भगवानको पूजा–आराधना गर्न नेपालीको घुइँचो लाग्छ । साथी, भूगोल जहाँसुकै होस् हामीले हाम्रो संस्कृति छोडेका छैनौं !

तिमीलाई स्मरण होला हामीले नेपाली पाठ्यक्रममा महाकविको ‘के नेपाल सानो छ’ शीर्षक निबन्ध पढेको । उतिबेला उक्त निबन्ध हाम्रो बौद्धिकस्तर भन्दा माथि लाग्थ्यो । अहिले म त्यो निबन्धको सार आफ्नो जीवनसँग दाँज्छु ।

तिमीलाई थाहा छ साथी, न्यूयोर्क शहरको मुटुमा अवस्थित अति व्यस्त टाइम्स स्क्वायरको भीडभाडमा आफूलाई शून्य पाउँछु । कोलाहलभित्र आफू हराएको भान हुन्छ । तर बानेश्वर चोक मलाई आफ्नो घरको दैलो जस्तो लाग्छ । सबै अनुहार परिचित लाग्छन् । नायग्रा फल्सको पानीको प्रवाहले मलाई पिल्स्याउँछ कि जस्तो हुन्छ तर डेविस फल्सको पानीको गतिमा म सम्मोहित हुन्छु ।

ह्वाइटहाउस मलाई रित्तो रित्तो लाग्छ, सिंहदरबार कलात्मक । पिज्जा र पास्ताको स्वाद न जिब्रोले थाहा पाउँछ, न पेट अघाउँछ । ढिंडो र मकैले पेट अनि जिब्रो दुवैलाई आनन्द मिल्छ । महँगा चिल्ला गाडीले मलाई आराम दिंदैन साथी । बरु काठमाडौंको टुकटुके नै सहज लाग्छ ।

मसँग देश विकास र निर्माण गर्ने ठूल्ठूला योजना र परियोजना न होलान् तर आफ्नो काम गर्ने सीप छ । यस्तो काम जसले अरूको जीवनमा नकारात्मक असर गर्दैन । तिम्रो देशद्रोहीको परिभाषाभित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नु हाम्रो पसिना विदेशमा बग्छ । त्यही रेमिटेन्सले धानेको देशमा तिमीले ठूल्ठूला सिद्धान्तका गफ हाँक्न पाएका छौ । मभित्रको राष्ट्रियता हेर्न मासु र चिउरामा बिक्न छोडेर आफूभित्रको स्वाभिमान खडा गर्न सिक । श्रमलाई सम्मान गर्न सिक । दिउँसो आकाशमा तारा देखिएन भन्दैमा के तारा आकाशमा नहुने हो र ? सुन साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ, त्यही दिन मैले आफूसँगै नेपालको एक अंश पनि बोकेर हिंडेको थिएँ ।



साभार

सम्बन्धित खवर