विराटनगर । ऐतिहासिक विराट गोल्डकपको छैटौं संस्करणको उपाधि जित्न एपिएफ सफल भएको छ ।

आज भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा पाहुना टोली पञ्जाब पुलिसलाई १–० को झिनो अन्तरले पाखा लगाउँदै एपिएफ पहिलो पटक विराट गोल्डकप जित्न सफल भएको हो । एपिएफलाई आजको खेलमा जित दिलाउन खेलको १०औं मिनेटमा प्रदिप लामाले निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको क्वाटर फाइनलमा अर्काे विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–० को शानदार जित दर्ता गर्दै अघिल्लो चरण पुगेको एपिएफले सेमिफाइनलमा आयोजक टोली विराटनगर महानगरपालिकामाथि ३–२ को सनसनीपूर्ण जित निकाल्न सफल भएको थियो ।

विराट गोल्डकपको इतिहासमा दोस्रो पटक फाइनलसम्म यात्रा बनाउन सफल भएको एपिएफ वि.सं. २०७० सालमा पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको थियो । सो खेलमा १–० ले पराजित हुँदै उप–विजेतामा नै सीमित बनेको एपिएफले यस संस्करणमा भने विराट गोल्डकप ट्रफिसँगै नगद पुरस्कार १५ लाख १५ हजार रुपैयाँ पाएको छ ।

यस्तै, आफ्नो पहिलो सहभागितामा नै विराट गोल्डकपको उपविजेता बन्न सफल बनेको भारतीय क्लब पञ्जाब पुलिसले पनि प्रतियोगिताभरी आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्न सफल भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४–२ ले पाखा लगाउँदै क्वाटर फाइनलमा पुगेको पञ्जाबले सेमिफाइनल प्रवेशका लागि शहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रलाई २–० ले स्तब्ध बनाएको थियो । फाइनल प्रवेश अघि संकटा क्लबलाई १–० ले पराजित गर्न पञ्जाब सफल भएको थियो ।

प्रतियोगिताको उप–विजेता बनेको पञ्जाब पुलिसले रनरअपको ट्रफिसँगै नगद सात लाख ५१ हजार प्राप्त गरेको छ ।

विराट गोल्डकपको फाइनल खेल तथा समापन समारोहमा प्रमुख अतिथिका रुपमा प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, विशिष्ट अतिथि प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, अतिथिहरु अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र विराटनगरका मेयर भीम पराजुली उपस्थित भएका थिए ।

यस्तै, समापन समारोहमा राष्ट्रिय कलाकारद्वय दिपक राज गिरी, दिपाश्री निरौला र भारतीय गायन रियालिटी शोका सेकेण्ड रनर अप प्रितम आचार्यले विशेष प्रस्तुती दिएका थिए ।



साभार

सम्बन्धित खवर