‘अरे हो, धनिया ?’

‘हाँ रे, भन रे रामबिलास ।’

यस्तै संवादसँगै सुरु हुने रेडियो नाटक ‘रामविलास–धनिया’ खुब रुचाइन्थ्यो, एकताका । मधेसी समुदायको लवजलाई दुरुस्तै टिपेर, हास्यरसले भरेर, शिक्षा र सन्देश लपेटेर प्रसारण हुने ‘रामविलास–धनिया’ सुन्न आतुर हुन्थे असंख्यौं कान ।

अनि मनमा उत्सुकता जाग्थ्यो, ‘कस्ती होलिन् धनिया ? कस्ता होलान् रामविलास ?’

रेडियोमा बोल्ने आवाज सुनेर हरेकले आ-आफ्नै किसिमले मुहार–चित्र बनाए होलान् । टेलिभिजनको पहुँच सहज थिएन । सामाजिक सञ्जालको कुरै भएन । युग ‘आवाज’को थियो । आवाजकै जादुयी आकर्षणले रामविलासलाई सर्वत्र चिनाउँदै थियो ।

सुरुवाती चरणमा ‘रामविलास’ले जोडी बाँधेकै थिएनन् । यद्यपि रामबिलासले धनियालाई प्रेमिल भाषामा सम्बोधन गरिरहन्थे । आखिर स्रोताले सोध्न थाले, ‘धनिया खै त ?’

अब धनिया नल्याई भो त ?

दीपकराज गिरीले दीपाश्रीलाई कुरोको चुरो बताए । दीपाश्री ‘धनिया’ बन्न राजी भइन् । त्यसपछि ‘रामविलास र धनिया’को ठट्यौली, नोकझोंक र प्रेमिल वार्ताहरुले कार्यक्रमलाई लोकप्रियताको चुचुरोमा पु¥याइदियो ।

यही सन्दर्भमा एउटा रमाइलो घटना रहेछ । संयोग पनि कस्तो, एक नेता र उनकी सालीको नाम ‘रामविलास’ र ‘धनिया’ नै परेछ । त्यही कारण ‘रामविलास–धनिया’ कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको दीपकराजले उल्लेख गरेका छन् ।

………….

एउटा प्रचलित भनाई छ, ‘विपत्तिहरु हामीलाई सखाप गर्न मात्र आउँदैन, हामीभित्रको सामथ्र्य र शक्ति निकाल्न पनि आउँछ ।’ दीपकराजको जीवन सधै सुगम भइदिएन । यो बक्र रेखाहरुमा ठोक्किदै, उठ्दै, झर्दै, उक्लिदै अगाडि बढिरह्यो । रेडियो नेपालको यात्रा रोकिएपछि उनी स्टेज र टेलिभिजनमा दौडिए । करियरको यो लिगलिगे दौडमा उनी असंख्यौं पटक पछारिए ।

हास्य टेलिशृंखला ‘तीतो सत्य’पछि केही सन्तोषको सास फेर्न पाए । तर, लोडसेडिङ सुरु भयो । त्यो कालरात्रिले टेलिभिजनको सौन्दर्य हरण गरिदियो । ‘तीतो सत्य’ हेर्ने मेलो हरायो ।

हो, यही विन्दुबाट दीपकराजको यात्रा मोडियो, सिनेमातर्फ ।

आज दीपकराजको चिनारी बद्लिइसकेको छ । रेडियोबाट स्टेज, स्टेजबाट टेलिभिजन, टेलिभिजनबाट सिनेमा हलमा उनी ‘राज’ गरिरेका छन् । र, यतिबेला धेरैले चिनिसकेका छन्, ‘रेडियोमा बोल्ने रामबिलास त उनै पो रहेछन् ।’

हास्य कलाकारिताको आलोकमा उभिएर दीपकराजले भर्सटायल अभिनेताको चिनारी बनाइसकेका छन् । कहिले ‘राजा’को रवैया देखाउँदै त कहिले ‘कामरेड बिपी’को विद्रोही अनुहार बोकेर उनी अविछिन्न सिनेमाको पर्दामा छाइरहेका छन् ।

‘छक्का पञ्जा’, ‘छ एकान छ’, ‘छ माया छपक्कै’ जस्ता चलचित्रमा उनी केन्द्रिय भूमिका मात्र निभाइरहेका छैनन्, पर्दा पछाडि उभिएर कथा, पटकथा लेखनदेखि समग्र निर्माणकै जिम्मेवारी बोकिरहेका छन् ।

…………….

आज दीपकराजसँग अनेक परिचय छ । अभिनेताको रुपमा, हास्य कलाकारको रुपमा, स्क्रिप्टराइटरको रुपमा, निर्माताको रुपमा । यि अनेक रुपरंगमा ठाँटिएर उनी ‘सेलिब्रेटी’ बनेका छन् ।

औसत उचाईका, हृष्टपृष्ट ज्यानका, रसिक मुडका दीपकराज यो विन्दुसम्म कसरी आइपुगे होलान् ? एक प्रसंगमा उनले सुनाएका छन्, ‘कुनैबेला म बरालिएर हिड्ने बेकामे मान्छे थिएँ । गाउँघर बदनाम थिएँ । गाउँका मान्छेहरु आफ्ना छोराछोरीलाई राम्ररी पढ् नभए दीपक जस्तै होलास् भन्थे ।’

‘छोरो बिग्रिए’ भनेर परिवारले कहिले उनलाई विदेश पठाउन खोजे, कहिले प्रहरीमा जागिर लगाइदिए । तर, दीपक कहाँ टिक्थे ? असईमा नाम निकालेका थिए । तालिम छाडेर टाप कसे । लन्डन पुगेर फेरी नेपाल फर्किए ।

कामधन्दा नभएपछि घरमा बुवाको खप्की खानुपर्ने । बुवाको डरले घर जाँदैनथे । बरु दिनेश डिसीसँग हिँड्थे । साथीको घरमा डेरा जमाएर बस्थे ।

जिन्दगीको यही उपक्रममा उनले अटुट संघर्ष गरिरहे, कलाकारिताका खातिर । लगाव, दृढ विश्वास र निरन्तरताले दीपकराजलाई टुंगोमा पु¥याई छाड्यो । उनी एक सफल अभिनेता, निर्माता, स्क्रिप्टराइटर बने ।

………….

दीपकराज अक्सर चर्चा र विवादको घेरामा हुन्छन् । धेरैले उनलाई गाली गर्छन् । गाली पचाउन उनलाई हजमोलाको अतिरिक्त डोज लिनु पर्दैन । कुरा चपाउने, घुमाउने प्रवृत्ति छैन । उनी बडो कुटनीतिक बन्न आउँदैनचाहँदैनन् । देखेको कुरामा मनको आवाज बोलिहाल्छन् । मनमा लागेको कुरा लुकाउँदैनन् । सामाजिक सरोकारको विषयहरुमा मौन धारण गरेर बस्दैनन् । आफ्नो दृष्टिकोण एवं धारणा व्यक्त गरिरहन्छन् । त्यही कारण कतिपयले उनलाई ‘स्पष्टवक्ता’को रुपमा लिन्छन्, कतिले ‘छुचो’ ।

तस्विरहरु : दीपकराज गिरीको फेसबुकबाट



साभार

सम्बन्धित खवर