विराटनगर / मोरङको सुन्दरहरैँचामा टिपरले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी एक जना वृद्धा महिलाको आज (बुधबार) बिहान ज्यान गएको छ ।

घटनाको विरोधमा स्थानीयले एक घण्टाजति सडक अवरुद्ध बनाएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र–१ –०२–००१ ख ८५३० नम्बरको टिपरका कारण नयाँ वर्ष २०७८ सालको बिहानै मानवीय क्षति हुने गरीको दुर्घटना भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार टिपरले ठक्कर दिँदा ७५ वर्षीया मैयादेवी प्रधानको मृत्यु भएको हो ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ गइरहेको टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको एसपी खड्काले बताए । उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका– ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व–पश्चिम लोकमार्ग एक घण्टाजति अवरुद्ध बनाए ।

सडकमा टिपर आतंक रोक्नुपर्ने, कम गतिमा टिपर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर आन्दोलित बनेका स्थानीयले सडकमा सवारी साधन चल्न दिएनन् । ढुंगा राखेर र बाँस तेस्र्याएर अवरुद्ध गरिएको प्रहरीको पहलमा खुलाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले सबै पक्षसँग समन्वय गर्दै सडक खुलाउन गरेको पहल सकारात्मक बनेपछि सडकमा सवारी साधन सञ्चालनमा आएका हुन् । दोषी चालकलाई कानुन अनुसार कारबाही गर्ने र टिपर सञ्चालनमा कडाइ गर्ने प्रतिवद्धता प्रहरीले जनाएपछि आन्दोलित बनेका स्थानीय लोकमार्गको अवरोध हटाउन राजी भएको बताइएको छ ।



साभार

सम्बन्धित खवर