विराटनगर / नागरिकता टोलीमार्फत नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिकले परिवारसहित विराटनगरमा बसेर खतरनाक चलखेल गरिरहेको प्रमाण फेला परेको छ ।

विराटनगरमा बस्दै आएका भारतको अररीया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्माले विराटनगर महानगरपालिका–५ स्थित चाँदनी चोकका उत्तमकुमार रायकी पत्नी सीतादेवी रायको नाममा रहेको जग्गा हडप्न खोजेका हुन् । अनिरुद्ध आफू नेपाली नागरिक भएको दाबी गरेर परिवारसहित चाँदनी चोकमै बसिरहेका छन् । सीतादेवीको नाममा रहेको एक कट्ठा आठ धुर जग्गा चलखेल गरेर उनले आफ्नो नाममा पार्ने प्रयास गरिरहेका हुन् । नेपाली नागरिकको नाममा रहेको लाखौँ मूल्य पर्ने जग्गा प्राप्तिका लागि उनले नेपालकै अदालतमा मुद्दामामिला गरिरहेको पुष्टि भएको छ ।

कवाडीको काम गर्ने नाममा भारतबाट नेपाल छिरेका अनिरुद्धले किर्ते कागजात पेस गरेर सुनसरीको दुहवी–६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता लिएको तथ्य फेला परेको छ । नागरिकता वितरण टोलीमार्फत नेपाली नागरिकता प्राप्त गरेपछि तत्काल दुहवी छाडेका उनले विराटनगरमा बसेर हर्कत गरिरहेका हुन् ।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा अनिरुद्धको पनि नाम समावेश छ । उनको नाममा रहेको एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्रमा जन्ममिति सन् १९६२ जनवरी १ र बुवाको नाम मुन्नर शर्मा उल्लेख छ । भारतकै चर्चित पत्रिका हिन्दुस्तान दैनिकका पत्रकार बरुण मिश्रले आफ्नो मुलुकको नागरिकता प्राप्त नगरेका व्यक्तिले भारतको मतदानमा सहभागी हुन नपाउने नियम रहेको बताए । र त्यस्ता व्यक्तिको नाम मतदाता नामावलीमा समावेश पनि हुँदैन ।

भारत सरकारले आफ्ना नागरिक भए/नभएको नागरिकताका आधारमा यकिन गरेर मात्रै मतदाता नामावली संकलन, अद्यावधिक र सार्वजनिक गर्ने गरेको मिश्रले बताए । उनका अनुसार निर्वाचनमा सहभागी हुने कोही पनि भारतको बासिन्दा वा जनता हुर्नै पर्छ ।

भारतीय नागरिक अनिरुद्ध शर्माको भारतको निर्वाचय आयोगले जारी गरेको मतदाता परिचयपत्र ।

अनिरुद्ध भारतबाट २०५० सालमा नेपाल छिरेर बसोबास गर्न थालेको दुहवीका स्थानीय बासिन्दाले बताए । २०५५ सालमा दुहवीकै आरती देवीसँग उनले बिहे गरेका थिए । भारतीय मतदाता नामावलीमा आरतीको पनि नाम छ ।

भारतीयसँग बिहे गरेपछि मतदाता परिचय पत्रमा नाम समावेश भइसकेर उतैको नागरिक बनिसकेका कारण आरती पनि अब नेपाली नागरिक रहिनन् । तर २२ वर्षअघि भारतीय नागरिकसँग बिहे गरेकी उनले पनि नेपाली नागरिकता त्यागेकी छैनन् । बरु उल्टै उनकै पति अनिरुद्धले किर्ते गरेर जन्मसिद्धका आधारमा नेपाली नागरिकता लिन सफल भएको प्रमाणबाट पुष्टि हुन्छ । अनिरुद्धको साथमा अहिले ०३३००/३२५ नम्बरको नेपाली नागरिकता छ ।

किर्ते गरेर भारतीय नागरिक अनिरुद्ध शर्माले लिएको नेपाली नागरिकताको प्रमाणपत्र ।

नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते र बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ । भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष हुन्छ । तर नेपाली नागरिकताका आधारमा भने ५० वर्ष मात्रै देखिन्छ । भारतमा बुवाको नाम मुन्नर शर्मा भनेर उल्लेख गरेका उनले नेपालमा बुवाको नाम मुनरलाल शर्मा उल्लेख गरेर नागरिकता लिएका छन् । भारतीय मतदाता परिचयपत्रमा अनिरुद्ध शर्मा नाम रहेका उनले नेपालमा अनिरुद्र शर्माको नामबाट नागरिकता लिएका हुन् । किर्ते गरेर उनले लिएको नेपाली नागरिकतामा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट खटिएका नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईको हस्ताक्षर छ ।

‘नेपाली नागरिकता लिएका अनिरुद्धले भारतीय नागरिकता त्यागेका छैनन् । त्यहाँमाथि अनेक जालझेल गर्दै नेपालीलाई दुःख दिने गरी अदालतमा मुद्दा लडिरहनु अचम्मको विषय हो,’ स्रोतले भन्यो, ‘उल्टै नेपाली नागरिकको जग्गा हडप्न मुद्दामामिला र अनेक प्रपञ्च गरिरहेका छन् । अर्को मुलुकका नागरिकले नेपाली नागरिकता लिएर यति ठूलो हर्कत गरिरहँदा पनि कुनै सुइँकोसम्म पाउन नसक्नु राज्यको ठूलो कमजोरी हो ।’ नेपाली नागरिक हुन चाहने विदेशी नागरिकले त्यसअघि नै आफ्नो मुलुकको नागरिकता त्याग्नु पर्ने नियम छ ।

नेपाली नागरिकता पाएपछि दुहवी छाडेका उनी विराटनगर आएर मितेरी साइनो जोड्दै उत्तमकुमार रायको जग्गामा बस्न थालेका हुन् । उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमीलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेका थिए । मितेरी साइनोमा जोडिएपछि अनिरुद्धलाई उत्तमकुमारले श्रीमतीको नाममा रहेको त्यही जग्गामा आवश्यकता परेका बेला खाली गरिदिने सर्तमा एउटा घर बनाइदिँदै २०६६ सालबाट बस्ने व्यवस्था मिलाइदिएको स्थानीयको भनाइ छ ।

तर जग्गा खाली गर्न २०७६ साल कात्तिक २४ गते आग्रह गर्दा अनिरुद्धले अटेर गरेको उत्तमकुमारले बताए । उनी जग्गा आफ्नो भएको दाबीसहित अनिरुद्ध वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा आएर अनिरुद्धले २०७६ साल चैत मसान्तसम्ममा जग्गा खाली गरिदिने सहमति कागजमा हस्ताक्षर गरे पनि जग्गा भने आफ्नै कब्जामा राखिराखेको वडाध्यक्ष मीनकुमार आचार्यको भनाइ छ ।

अनिरुद्धले जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पु¥याउन नसकेको आचार्यको भनाइ छ । उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए ।

वडाध्यक्ष आचार्यका अनुसार उत्तमकुमारकी श्रीमती सीतादेवीको नाममा रहेको जग्गामा बसोबास गरिरहेका अनिरुद्धले पछि आफ्नो भएको भन्दै जग्गा खाली गर्न नमानेपछि मुद्दाका रुपमा उठान गरेर महानगरपालिकाको न्यायिक समितिमा पठाइयो । अनिरुद्धले पछि समितिले गराउन खोजेको मिलापत्रलाई पनि अस्वीकार गरिदिए । त्यसपछि समितिले २०६५ सालमा खरिद गरेर भोगचलन गरेको जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरिदियो । महानगरको न्यायिक समिति संयोजकमा उपमेयर इन्दिरा कार्की र सदस्यहरुमा वडाध्यक्ष विनोदकुमार बस्नेत तथा तीर्थेन्द्र न्यौपाने छन् ।

निवेदनका आधारमा मात्रै पुष्टि नभएको र वादीले दाबी गरे अनुसार भरपर्दो प्रमाण पेस गर्न नसकेको ठहर समितिको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ (ज) बमोजिम वादीको दाबी नलाग्ने ठहर्छ । सहमतिको पनि वादीबाट अवज्ञा भएको देखिन्छ । त्यही भएकाले प्रतिवादीको जग्गा वादीले तत्काल खाली गरिदिनु पर्ने ठहर्छ,’ समितिको फैसलामा भनिएको छ ।

तर अनिरुद्धले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट निवेदन दायर गरे । आफूले किनेको र किन्दा तीन लाख ५० हजार ऋण लिएका कारण उत्तमकुमारको नाममा त्यतिबेला आफूले जग्गा पास गरिदिएको दाबी निवेदनमा गरिएको छ । तर पछि जग्गा फिर्ता दिनुभन्दा उत्तमकुमारले नमानेको र उल्टै धाकधम्की दिएर आफैलाई हटाउन खोजेको दाबी अनिरुद्धको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुन बमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरिदियो । ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९७ बमोजिम फैसला गरिएको छ । न्यायिक समितिले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहरी फैसला भएकाले केही गरिरहनु परेन,’ अदालतको फैसलामा भनिएको छ ।

अनिरुद्धले खाली गर्न नमानेपछि महानगरले डोजर ल्याएर त्यहाँको संरचना भत्काउँदै जग्गा भने खाली गरिदिइसकेको छ । तर जग्गा कब्जा गरेर बसेका उनले छाड्न मानिरहेका छैनन् । उल्टै मुद्दालाई तन्काएर अघि बढिरहेका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध पनि उनले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएका छन् । भारतीयले नेपालीको जग्गामा आफ्नो हकदाबी गरेर दायर गरेको मुद्दा अहिले उच्च अदालतमा विचाराधिन छ ।

महानगरले डोजर लगाएर भत्काइदिएको भारतीय नागरिकले कब्जा गर्ने प्रयास गरेको नेपाली नागरिकको जग्गामा बनेको संरचना ।

मुद्दामा जाँदा भारतीय नागरिक रहेका अनिरुद्धले किर्ते गरेर बनाएको नेपाली नागरिकताको प्रमाणपत्र अदालतमा पेस गरेका छन् । तर भारतीय नागरिक उनले लिएको नेपाली नागरिकता किर्ते हो या सद्धे भन्ने कसैले खोजीनीति गरेका छैनन् । नागरिकताका सवालमा कसैले प्रश्न नउठाएपछि उनलाई निर्वाध रुपमा नेपालमा बसेर जग्गा हत्याउने गरी नेपाली नागरिकविरुद्ध मुद्दा लड्न बल पुगिरहेको स्रोतले बतायो ।

नातामा अनिरुद्धका ज्वाई पर्ने राजेन्द्र ठाकुरले पनि जग्गा उत्तमकुमारकै भएको बताए । ‘जग्गा उत्तमकुमारकै हो । आफन्त भएकाले मैले नै पहल गरेर अनिरुद्धको परिवारलाई त्यहाँ बस्ने व्यवस्था गरिदिएको हुँ,’ उनले भने, ‘तर अहिले आएर जग्गा मेरै हो भन्दै बिना प्रमाण मुद्दा गर्न जानु भनेको मुर्खता हो । उपभोग गर्न दिएको अर्कैको जग्गा फिर्ता गरिदिँदा राम्रो हुन्थ्यो ।’ उनले पछि मुद्दाका सवालमा अन्य विषयको खोजी भए अनिरुद्धलाई नै अप्ठेरो पर्ने पनि बताए ।

नेपाली नागरिकता लिएका भारतीय नागरिक अनिरुद्ध शर्मा ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भारतीयले नेपाली नागरिकता लिएर नेपाली नागरिकलाई दुःख दिन थालेको विषय गम्भीर रहेको बताए । ‘भारतीयलाई नागरिकता दिलाउन भूमिका खेल्नेदेखि लिएर नागरिकता लिने सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउँछौँ ,’ उनले भने, ‘यस विषयमा थप छानबिन गर्न र कारबाही अघि बढाउन गृह मन्त्रालयमा पनि सिफारिस गर्छौँ ।’ पोखरेलले नेपाली नागरिकता लिने भारतीयलाई तत्काल हिरासतमा लिएर थप अनुसन्धान अघि बढाइने जानकारी पनि दिए । उनका अनुसार भारतीले लिएको नेपाली नागरिकता बदर हुन्छ भने उनले नेपालमा कुनै धनसम्पत्ति जोडेको भए सरकारले आफ्नो नियन्त्रणमा लिन्छ ।



साभार

सम्बन्धित खवर