तपाईंलाई धेरै चिन्ता, तनाव भयो भने मान्छेले के सुझाव दिन्छन् ? प्रायःले भन्ने गर्छन्– वर्तमानमा रहने कोशिश गर्नुस् वा ध्यानमा बस्नुस् । अब प्रश्न आउँछ कसरी वर्तमानमा रहने ? ध्यान र वर्तमानमा के सम्बन्ध छ ?

यी प्रश्नको जवाफ विपश्यनाले दिन्छ । के हो त विपश्यना ? विपश्यनाको वास्तविक अर्थ हुन्छ– जुन वस्तु जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु, बुझ्नु ।

विपश्यना एक ध्यान विधि हो, जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । आजभन्दा लगभग २५–२६  सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको हो । आफ्नो श्वास–प्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ ।

यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ । यसको निरन्तर अभ्यासले मानिसलाई विकारबाट मुक्त बनाउँछ । यसले नितान्त विमुख अवस्थासँग साक्षात्कार गराउँछ । यो साधना विधि दुःखबाट मुक्त हुने सक्षम उपाय हो । यो विधि हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्छन् ।

यो ध्यान विधिको प्रयोगले मानिसभित्र रहेको विशाल अहंभाव छुट्नुका साथै एक स्वस्थ, सुखी तथा आत्ममंगल तथा सर्वमंगलको भावना सिर्जना हुन्छ । यसबाट परिपूर्ण र सृजनात्मक जीवन बिताउन सक्ने व्यक्तिका रूपमा स्थापित गर्न बल पुग्छ ।

हामीलाई आफूभित्र शान्ति र सामञ्जस्यता अनुभव गर्न सक्ने योग्यता विपश्यनाले प्रदान गर्छ । यो ध्यान विधिको प्रयोगले सबै दुःखबाट छुटकारा पाउन सकिन्छ । ज–जसले यसको अभ्यास गर्छन् उनीहरूमा विस्तारै परिवर्तन आउँदै जान्छ । उनीहरूले दुःखको कारण के हो र निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्दै जान्छन् । विपश्यना एक यस्तो उपाय हो जसले अपराधी, चोर, फटाहालाई पनि समाजको असल सदस्य बन्न सहयोग गर्छ ।

अनित्यको सही अर्थ नित्य र शाश्वत नहुनु हो । संसारमा जति पनि वस्तुहरू छन्, निर्जीव तथा सजीव वस्तु, ती स्थायी छैनन्, सततः परिवर्तनशील छन् । दैनिक जीवनमा पनि जब तपाईं अनित्यताको स्मृति, लगातार अनित्यताप्रति जागरुक भैरह्यो भने तपाईंमा जुन परिवर्तन आउनेछ त्यो तपाईंको भलाइको लागि नै भइरहनेछ । शारीरिक तथा मानसिक रूपमा परिवर्तन आउनेछ, जुन तपाईंको राम्रोको लागि नै हो । विपश्यनामा अघि बढ्ने हो भने साधकलाई हरेक समय जहाँसम्म सम्भव छ, लगातार अनित्यलाई जानिरहनुपर्छ । बुद्धले भन्नुभएको छ– साधक बसिरहँदा, उभिरहँदा, हिंड्दा, सुत्दा हर समय अनित्य दुःख र अनात्मको जानकारी बनाइरहनुपर्छ, उनको स्मृति भइरहनुपर्छ । त्यस्तै उहाँले नै भन्नुभएको छ– ‘सबै संस्कार अनित्य हो’ ।

यसरी मनको गहिराइमा पुगेर चित्त शुद्ध गर्ने कला सिक्नका लागि योग्यताप्राप्त आचार्यको सान्निध्यमा १० दिनको शिविरमा सामेल हुनु आवश्यक छ । चित्त शुद्ध पार्ने कला सिक्नका निम्ति १० दिनको अवधि साँच्चै नै कम हो, त्यसैले शिविरको अवधिभर साधक शिविरस्थलभित्र रहनुपर्दछ । बाहिरी सम्पर्कबाट अलग हुनुपर्छ । पूजा, पाठ, माला जप्ने, भजनकीर्तन, ब्रत–उपवास तथा अन्य क्रियाकलाप गर्नुहुँदैन ।

पटक–पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्दछ । एक अर्कासँग कुराकानी गर्न पाइँदैन । साधक दश दिनसम्म शिविरस्थलमै रहनुपर्छ । बीचमा शिविर छाडेर जानुहुँदैन । त्यस्तै नयाँ साधकहरूले पञ्चशील (हिंसा, चोरी, नसालु पदार्थ सेवन नगर्नु, ब्रह्मचर्य पालना गर्नु, झूटो नबोल्नु) को पूर्ण पालना गर्नुपर्ने हुन्छ । पुराना साधकहरूले अष्टशील (पञ्चशील+दिउँसो १२ बजेपछि भोजन नगर्नु, शृंगार–प्रसाधन तथा मनोरञ्जन नगर्नु, उच्च आरामदायी विछ्यौना र आसन प्रयोग नगर्नु) को पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

विभिन्न देशमा विपश्यना शिविर स्थायी केन्द्रहरूमा संचालन गरिन्छन् । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुन्छ । कसैसँग पनि शुल्क लिइँदैन र धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाहरूले पारिश्रमिक लिंदैनन् । नेपालमा हालसम्म जम्मा ११ वटा (दुईवटा निर्माणाधीन) विपश्यना केन्द्र छन् । काठमाडौंको सन्दर्भमा बुढानीलकण्ठ र कीर्तिपुरमा गरी दुईवटा मात्र विपश्यना केन्द्र छन् ।

पटक–पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्दछ । एकअर्कासँग कुराकानी गर्न पाइँदैन । साधक दश दिनसम्म शिविरस्थलमै रहनुपर्छ । बीचमा शिविर छाडेर जानुहुँदैन । त्यस्तै नयाँ साधकहरूले पञ्चशील (हिंसा, चोरी, नसालु पदार्थ सेवन नगर्नु, ब्रह्मचर्य पालना गर्नु, झूटो नबोल्नु) को पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

आजकालको युग विज्ञानको हो । अचेल मानिस आदर्श लोकमा विश्वास गर्दैनन् । ठोस, स्पष्ट, व्यक्तिगत र अहिले नै प्राप्त हुने कुरामा विश्वास गर्छन् । विपश्यना अहिले नै प्राप्त हुने, स्वनिरीक्षणद्वारा चित्तशुद्धि गर्ने साधना हो ।

मेरो अनुभव

आदरणीय हजुरबुवा युवराज आचार्य (हाल उप–सचिव) को प्रेरणाले म आजभन्दा करीब दुई वर्ष अगाडि बुढानीलकण्ठस्थित विपश्यना केन्द्र गएको थिएँ । कोलाहल शहरबाट १० दिनसम्म एकान्तमा बस्नु, कसैसँग बोल्न नपाउनु त्यति सजिलो थिएन ।

गाडीमा बुढानीलकण्ठ जाँदा चिनजान भएका साथी चार दिनमै  शिविरको पर्खाल नाघेर भागेका थिए । यो कठिन साधनाका लागि आफैंले कठोर परीक्षण गर्नुपर्छ । एउटा भनाइ छ नि ‘दुःखपछि सुख प्राप्त हुन्छ’ । हो शुरुको चार–पाँच दिनसम्म धेरै नै गाह्रो भएको थियो । प्रायःलाई गाह्रो नै हुने रहेछ ।

मनलाई नियन्त्रण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । तर विस्तारै आचार्यहरूको मार्गदर्शन अनुसार चल्दा पछिल्ला दिनहरूमा चञ्चल मन एकाग्र हुन थालेको थियो ।

एक दिन (शायद, शिविरको नवौं दिन हो) जब हलमा सामूहिक साधना भैरहेको थियो त्यो समयमा करीब एक–दुई मिनेट मेरो पूरै शरीर शून्य अवस्थामा थियो । चञ्चल मन शान्त र मेरो वशमा थियो । झनक्क उठ्ने रिस विस्तारै नियन्त्रणमा आएको थियो । सुख–दुःखको अवस्थामा तटस्थ भावले हेर्न सक्ने अवस्था आएको थियो । जुन आज पनि छँदैछ । त्यसैले विपश्यनाबाट मानिसको जीवनमा आउने परिवर्तन मैले स्वयं अनुभव गर्न पाएको छु ।

 



साभार

सम्बन्धित खवर