राज्यको स्वास्थ्य प्रणाली र समाजको असमान आर्थिक अवस्थाले अस्पताल सबैको लागि उपलब्ध भए पनि त्यहाँ सबैको पहुँच नभएको चिकित्सा समाजशास्त्री डाक्टर आमोद प्याकुरेल बताउँछन् ।

महँगो स्वास्थ्य सेवा र असमान आर्थिक हैसियतका कारण समाजको ठूलो हिस्सा रोग पालेर बस्न बाध्य भएको उनको भनाइ छ । प्याकुरेलका अनुसार, महँगो स्वास्थ्य सेवाका कारण उपचार गर्नुभन्दा काल कुर्नु ठीक हो भन्ने सोच्ने मानिस धेरै छन् ।

अमेरिकाको नर्थ ˆलोरिडा विश्वविद्यालयमा चिकित्सा समाजशास्त्रको प्राध्यापन गर्दै आएका प्याकुरेलसँग नेपालको स्वास्थ्य प्रणालीको अवस्था, चिकित्सक र बिरामीबीचको तनावपूर्ण सम्बन्धको विषयमा अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको स्वास्थ्य प्रणालीप्रति समाजको बुझाइ कस्तो छ ?

गएको ३०/४० वर्षमा अन्तर्राष्ट्रिय संघसंस्था र सरकारले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन ठूलो लगानी र कोशिश गरेका छन् । यो लगानीले शिशु मृत्युदर, फोहोर पानीले हुने रोगहरू घटाएको छ । साथै प्रजनन स्वास्थ्य र जनसंख्या नियन्त्रणमा पनि उल्लेखनीय प्रगति गरेको छ ।

अहिलेको समयमा गाउँगाउँमा आधुनिक स्वास्थ्य संस्था चाहिन्छ र उपचारको लागि जानुपर्छ भन्ने धेरैलाई थाहा छ । आधुनिक चिकित्सा पद्धतिमा विश्वास छ । तर त्यो चिज चाहिन्छ भनेर थाहा पाउनु र त्यो उपलब्ध र पहुँचमा हुनु फरक कुरा हो ।

त्यसैले, अहिले पनि कति मानिसलाई ‘डाक्टरले हेरेर दिएको औषधि खाएमा मेरो रोग निको हुन्छ’ भन्ने थाहा छ तर उनीहरूको पहुँचमा अस्पताल छैन । अस्पतालको पहुँच भए त्यहाँ जनशक्ति र उपकरण छैन । उपकरण भएको ठाउँमा संरचना र औषधि छैन । अनि कतिलाई अस्पताल पुग्न भौगोलिक अवस्था पनि बाधक छ ।

चाहेर, बुझेर र ज्ञान हुँदाहुँदै पनि मानिसहरू अस्पतालको पहुँचमा पुग्न नसकेका कारण नचाहेरै धामी-झाँक्री जस्ता अन्य उपचार विधि अपनाउन बाध्य भइरहेका छन् । त्यस्ता उपचार विधिलाई पूर्ण रूपमा बेवास्ता गर्न नमिल्ला तर सबै रोगमा यस्ता उपचार पद्धतिमा भर पर्नुपर्ने बाध्यताले मानिसले पीडा सहनु परिरहेको छ ।

समाजले स्वास्थ्य र स्वास्थ्य प्रणाली बुझे पनि व्यवहारमा लागू गरेको देखिंदैन । ग्रामीण क्षेत्रमा घाँस काट्न गएको बेला बच्चा पाएको अथवा गोठमै बच्चा जन्माएको समाचार अझै सुनिन्छ । अहिले पनि झाडापखाला लागेर मानिस मरेको, गाउँभरि हैजा फैलिएको समाचार सुन्नु सामान्य कुरा होइन । यस्ता घटनाबाट समाजको सरसफाइ र चेतनाको स्तर थाहा हुन्छ । थाहा पाउनु र सचेत हुन नसक्नुको उदाहरण हो, यो । हामीकहाँ ‘हेल्थ लिट्रेसी’ नै छैन ।

‘हेल्थ लिट्रेसी’ बढाउन अस्पताल, चिकित्सक र सरकार कसरी चुकेको छ ?

पढ्नाले मात्र सबै कुरा जानिन्न, बुझ्न सक्ने क्षमता हुनुपर्छ । ‘हेल्थ लिट्रेसी’ भनेको स्वास्थ्य सम्बन्धी जानकारी लिन सक्नु, त्यो बुझ्नु अनि सही तरिकाले व्यवहारमा उतार्नु हो । तर, ग्रामीण भेगको कुरा त छोडिदिऊँ शहरी क्षेत्रमा बस्ने पढेलेखेको मानिसको बुझाइमा पनि समस्या छ ।

त्यो बुझाइको कमीले चिकित्सकको सुझाव पालन नगरेको पाइन्छ । चिकित्सकले पाँच दिन ‘एन्टिबायोटिक्स’ खानुपर्छ भनेको हुन्छ । अधिकांश मानिसलाई तीन दिनपछि ठीक हुन्छ । र, उनीहरू ‘अब ठीक भयो बेकारमा औषधि किन खानु’ भनेर खान छाड्छन् । अनि फेरि रोग बल्झ्यो भने डाक्टरमाथि खनिन्छन् ।

यो पनि हेल्थ लिट्रेसी नहुनुको उदाहरण हो । चिकित्सकले ओपीडीमा आउने बिरामीलाई पर्याप्त समय दिएर बुझाउन सक्ने मात्रै हो भने पनि मानिसको स्वास्थ्य सम्बन्धी चेतना बढ्छ ।

कोभिड महामारीकै बेलामा मानिसले मास्क त लगाए तर नाकमुनि । आफूले प्रयोग गर्ने चिज के हो, केको लागि हो र, यसको असर के हो, भनेर नबुझ्ने धेरै छन् । यसले शिक्षा र स्वास्थ्य सम्बन्धी जनचेतनाको बुझाइ कस्तो छ भन्ने देखाउँछ । शहरी क्षेत्रमा कतिपय मानिसलाई मधुमेह छ तर उनीहरूले लड्डु खान्छन् । ‘किन खाएको ?’ भनेर सोध्दा ‘डाक्टरले खाँदा फरक पर्दैन’ भनेको छ भन्ने उनीहरूको जवाफ हुन्छ । तर, एउटा खानु र आठ वटा खानुमा फरक हुन्छ नि !

भ्याक्सिनकै कुरामा पनि अनेक तर्कहरू देखिए । अहिले बल्लबल्ल खोप लाउन सरकारले शुरू गरेको छ, त्यसमा पनि नानाथरीको भ्रम फैलिएको छ । क्यान्सर हुन्छ भन्ने थाहा छ तर मानिसहरू चुरोट खान्छन् । सामान्यदेखि जटिल समस्याहरूमा चिकित्सक र राज्यले स्वास्थ्य सम्बन्धी जनचेतनामा ध्यान दिन नसकेको सत्य हो तर मानिसहरू थाहा भएको कुरा पनि व्यवहारमा लागू गर्दैनन् ।

नेपालको स्वास्थ्य प्रणाली हेर्दा सरकारका निकायसँग नै ‘हेल्थ लिट्रेसी’ नभएको देखिन्छ, कि सरकार पनि जनता झैं बुझेर पनि बुझपचाइरहेको छ ?

स्वास्थ्य सम्बन्धी नीति बनाउनेहरू अधिकांश चिकित्सा क्षेत्र अध्ययन गरेर आएका छन्, त्यो पनि विदेशमा । उनीहरूको अध्ययन र बुझाइ राम्रो छ । नीति राम्रो नबनाएका पनि होइनन् । तर कार्यान्वयनको पाटो राम्रो छैन । त्यसैगरी आधारभूत कुराहरू पुर्‍याउने भन्दा ठूला संरचना बनाउने, ठूला मेशिन ‘फिट’ गर्ने कुरामा उनीहरूको ध्यान छ ।

उहाँहरूलाई यस्तो गर्नुमा फाइदा पनि छ । कोभिड महामारीको बेला सरकारले लिएको नीतिले पनि हाम्रो स्वास्थ्य प्रणालीको अवस्था झल्काउँछ । स्वास्थ्य मन्त्रालयले नै महामारीको गहिराइ नबुझेर सतही निर्णय गरेको र उल्टै जनतालाई दोष दिएको थियो ।

अहिले चिकित्सक आफैं शुल्क निर्धारण गर्न लागिपरेका छन् । चिकित्सकहरूको नजरबाट हेर्दा यो जायज पनि होला । तर, बिरामीहरूले तिर्न सक्छन् र ? २०७१ सालदेखि शुल्क बढेन भनेर शुल्क बढाएको उनीहरूको तर्क छ । के, जनताको आम्दानी बढेको छ ? डाक्टरको भन्दा बिरामीको गएगुज्रेको स्थिति भएको कसले देख्ने ?

आफ्नो शुल्क बढेन भनेर बिरामीको ढाड सेक्ने कि बिरामी र चिकित्सक दुवैलाई सहज हुने नीतिनिर्माणको लागि उनीहरूले पैरवी गर्ने ? आफूकहाँ सेवा लिन आउनेको सामाजिक/आर्थिक स्थिति के हो भन्ने कुरा चिकित्सकहरूले सोच्नु पर्दैन ? रोग लागेर उपचार गर्न जाने सबै मानिससँग पैसा हुन्छ भन्ने ग्यारेण्टी छ ? कतिपय मानिस ऋण गरेर घरजग्गा धितो राखेर उपचार गर्न पुगेका हुन्छन्, उनीहरूको समस्या कसले बुझ्ने ?

सरकारले चिकित्सक र बिरामी दुवैलाई सहुलियत पर्ने प्रणाली नबनाउनुको परिणाम हो, यो । उसले बुझेर पनि यथार्थ परिवर्तन गर्न नसकेको हो । चिकित्साशास्त्र भनेको समाजभित्रकै एउटा संरचना हो । एउटा संरचनाभित्र अर्कोको पहुँच नपुग्ने थाहा हुँदाहँुदै पनि राज्य मौन छ । एउटा सामान्य मजदूरलाई कुनै ठूलो अस्पताल जान र कुनै व्यापारिक घरानाका मानिसलाई जान कसैले बन्देज गरेको छैन । तर, त्यहाँ कुरा आउँछ व्यक्तिको आर्थिक स्थितिको । सरकारले सबै नागरिकको लागि समान नीति बनाएको सत्य हो, तर मानिसमा त्यसको पहुँचमा पुग्ने आर्थिक क्षमता हुनुपर्‍यो नि Û

निजी स्वास्थ्य क्षेत्र शुरूमा जुन सोचले आएको थियो अहिले उनीहरू त्यो सोचमा छैनन् । उनीहरूले उपचारको लागि विदेश जानुपर्ने केही मानिसको बाध्यता अन्त्य गरेको सत्य हो । तर साँच्चिकै गुणस्तर बढेको छ त ? अथवा जनकपुर, विराटनगर, बुटवल र काठमाडौंमा जुन स्वास्थ्य सेवा उपलब्ध छ, त्यो अरू जिल्लामा त छैन । सेवा उपलब्धतामा एउटा ठूलो असमानता छ । हामी त यो अन्तर हटाउन लाग्नुपर्ने हो तर यो पाटोमा कसैले सोचेको देखिन्न ।

निजी अस्पतालको तर्क हुन्छ, ‘पैसा हुनेहरूले उपचार गर्छन्, नहुने आउँदैनन् ।’ यही तर्कलाई मान्दा पनि धेरै जसोलाई चाहिने सेवाको लागि त प्राइभेट अस्पताल बेकार सावित भएका छन् । उनीहरू मनपरी ढंगले चलिरहेका छन् । सेवामा एकरूपता छैन । राज्यले अनुगमन गरेको छैन । दिनुपर्ने सेवा दिनसकेको छैन ।

तर, हिजोका दिनहरूमा छट्पटाएर हिंडेका केही मान्छेहरूलाई सेवा दिएको सत्य हो । यसैलाई आधार मानेर उनीहरूलाई मनपरी गर्ने छुट दिनुहुन्न । राज्य आफैंले लगानी गरेको भए नेपालको स्वास्थ्य प्रणाली अर्कै भइसक्थ्यो ।

कोभिड महामारीपछि नेपालको स्वास्थ्य प्रणालीमा केही परिवर्तन आउला ?

कालो बादलमा पनि चाँदीको घेरा देखिन्छ भनिन्छ नि ! यो महामारीले हाम्रो स्वास्थ्य संरचना र प्रणालीमा के कस्तो कमजोरी छ भन्ने कुरा बाहिर ल्याइदियो । ठूला ठूला उपकरण भन्दा आधारभूत सेवाहरू भयो भने धेरै धान्न सकिने रहेछ भन्ने नीतिनिर्माण तहमा बसेका कर्मचारीलाई बुझायो ।

हामीसँग त आधारभूत पूर्वाधार नै रहेनछन् । न क्वारेन्टिन स्थल, न त आइसोलेसन सेन्टर नै । यस्तो महामारी कुनै न कुनै समय आउँछ भन्ने थाहा थियो तर हामीले केही तयारी गरेनौं । हामीसँग यस्तो महामारी धान्न के गर्ने भन्ने प्रोटोकल नै रहेनछ भन्ने पनि देखियो ।

यसअघि भूकम्प जाँदा ‘हेल्थ इमर्जेन्सी’ घोषणा गरिएको थियो । त्यतिबेला नै नेपालको स्वास्थ्य प्रणालीको ल्याकत देखिएको थियो । कुनै ठूलो स्वास्थ्य संकट आए नेपालको स्वास्थ्य प्रणालीले धान्दैन भन्नेमा स्वास्थ्य क्षेत्रका सबैले थाहा पाएका थिए ।

त्यसले हामीलाई ‘इमर्जेन्सी प्लान’ बनाउन घचघच्याउनुपर्ने थियो । आकस्मिक अवस्था आउँदा के गर्ने भन्ने कुराको ‘फ्रेम वर्क’ बनाउनुपर्ने थियो । तर केही भएन । महामारी कसरी सामना गर्ने भन्ने ‘प|mेम वर्क’ पहिले नै तयार गरेको भए अहिलेको महामारीमा हामीले धेरै तनाव लिनुपर्ने थिएन ।

हामी नेपालीको स्मरण शक्ति असाध्यै कमजोर छ । पहिलेको घटनाबाट पाठ सिकेको भए अहिले हाम्रो स्वास्थ्य प्रणाली ध्वस्त हुँदैनथ्यो । एक पटकको गर्जो टरेपछि फेरि अर्को समस्या आउला भन्ने नसोच्ने बानीले हामी सधैं मारमा छौं ।

डाक्टरले लापरबाही गर्‍यो भन्दै अस्पताल तोडफोड र चिकित्सकहरूलाई हातपात गर्ने, अस्पतालमा बिरामी शुल्क तिर्न नसकेर बन्धक हुने, अस्पतालको बिल बुझेपछि आत्महत्याको प्रयास गरेको भन्ने समाचारहरू समय-समयमा सुनिइरहन्छन् ।

नेपालको स्वास्थ्य प्रणालीप्रति यति धेरै अविश्वास किन ? अस्पताल तोडफोडका धेरैजसो घटनामा एउटै कुरा सुनिन्छ- ‘हिंड्दै अस्पताल गएको मान्छे उपचार गर्दा मर्‍यो ।’ यो निकै हास्यास्पद कुरा हो । कतिपय रोगहरू यस्ता हुन्छन् कि उपचार गर्ने क्रममा मानिसको मृत्यु हुन्छ ।

यो नेपालमा मात्र होइन अन्य देशमा पनि हुन्छ । मानिसको उपचार भनेको गाडी मेकानिक्सकोमा लगेर फर्काएको जस्तो हैन नि ! रोग कुन स्थितिमा छ भन्ने कुराले पनि धेरै अर्थ राख्छ ।

हामीकहाँ धेरैले ग्यास्टि्रक छ भन्छन् । कतिपय मानिस ग्यास्टि्रक भनेर बस्दा बस्दै हृदयघात हुने अवस्थामा पुग्छ । त्यस्तो मानिस अस्पताल पुग्दा कुन अवस्थामा छ भन्ने कुराले अर्थ राख्छ ।

कहिलेकाहीं बिरामी पक्षको मानिसले हेर्दा डाक्टरले गल्ती गरेको भन्ने लाग्छ । किनकि अस्पताल निको हुन जाने भन्ने आम बुझाइ छ । सबै रोग अस्पतालमा निको हुन्न भन्ने बुझाइ भयो भने यस्तो दुर्घटना नहुन सक्छ । हामीले चिकित्सकहरूलाई देवत्वकरण गर्छौं । डाक्टरले सबै रोग ठीक पार्छन् भन्ने बुझाइ छ । उनीहरूलाई भगवान बनाउनु नै हाम्रो गल्ती हो ।

डाक्टरहरूमा पनि हामी अरूभन्दा फरक र विशिष्ट हौं भन्ने बुझाइ छ । किनकि चिकित्सक र बिरामीबीच लामो कुराकानी नै हुन्न । डाक्टरले तपाईंलाई तपाईंको रोगको बारेमा भन्ने शैली र अभिव्यक्तिले पनि यो अन्तर झल्काउँछ ।

उनीहरूले तपाईंको रोगको बारेमा पूर्ण जानकारी दिन जरूरी ठान्दैनन् । र, उनीहरूले बिरामी र उसका आफन्तलाई आशा देखाउन खोज्छन् । बिरामीको अवस्था र आयु उनीहरूले वास्तविक भन्दा बढाएर भन्छन् । जसले मानिसमा आशा जगाउँछ । यो कुरा पश्चिमी मुलुकका स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने चिकित्सकहरूले पनि आˆनो लेखमा खुलाएका छन् ।

हाम्रो समाजले बचाउने जीवनको लागि मात्र सोचेर तयारीहरू गर्छ, अर्थात् मृत्युको लागि हाम्रो समाजमा सोच र तयारी नै छैन । बुढ्यौलीलाई पनि हाम्रो समाजले यही आँखाले हेर्छ । बूढो हुनु भनेको खत्तम हुनु भन्ने सोच छ हाम्रो समाजमा तर एक हिसाबले हेर्ने हो भने त बूढो हुनु भनेको त उत्सव पनि हो ।

यस्तै ‘कम्युनिकेशन ग्याप’ ले गर्दा पनि समस्याहरू भएका छन् । कुनै पनि स्वास्थ्य संस्था र राज्यले यो कुरा आम मानिसलाई बुझाउन सकेकै छैन । मानिसहरूको महत्वाकांक्षा पनि अव्यावहारिक छ । पैसा खर्च गर्नासाथ सबै रोग ठीक हुन्नन् भन्ने मानिसले बुझेकै छैनन् ।

कानूनी व्यवस्था कडा नभएको कारणले पनि स्वास्थ्य प्रणालीमा अनेक विकृति देखिएका छन् । बिरामीले ‘हेल्थ लिट्रेसी’ नबुझ्दा पनि समस्या भइरहेको छ । चिकित्सकले बिरामीलाई बुझाउन नसक्नुको कारणले पनि घटना भएका छन् ।

एउटा मानिसले जायजेथा बेचेर उपचार गर्दा पनि बिरामी ठीक नभएको अवस्था छ, सोही कारणले गर्दा अस्पतालहरू बिरामी लुट्न बसेका, मान्छे मार्न बसेका भन्ने धारणा व्यापक रूपमा विकास भइरहेको छ । यसले निम्त्याउने दीर्घकालीन असर के हो ?

जग्गा-जमीन बेचेर ल्याएको पैसा या जिन्दगीभरि कमाएको कमाइ सामान्य उपचारमा खर्च हुँदा मानिसमा आक्रोश बढ्नु स्वाभाविक हो । अस्पतालले बिरामी भर्ना गरेपछि ठीक हुनुभन्दा पहिले नै किस्ता किस्तामा बिल माग्नुको कारण उसले ‘रिस्क’ कम गरेको हो ।

एउटा मान्छेले आˆनै खल्तीबाट २०/२५ लाख खर्च गर्नुपरेपछि अवस्था त भयानक हुन्छ नै । उपचारको क्रममा पैसा र मान्छे दुवै गएको अवस्थामा झन् अर्कै अवस्था आउँछ । त्यसैले शुल्क तिर्ने व्यवस्था बेग्लै हुनुपर्छ । त्यसले मानिसको दुःख कम गर्छ ।

बीमा व्यवस्था प्रणाली राम्रो भयो भने मात्रै पनि यो तनाव धेरै कम हुन्छ । अहिले तपाईं चिकित्सककोमा जानुभयो भने विभिन्न टेस्ट गर्न लगाउँछ, त्यसमा आर्थिक फाइदाका नकारात्मक पाटा छन् । त्यसो भन्दैमा सबैलाई मुछ्न सकिन्न । चिकित्सकले केही कुरा नछुटोस् भन्ने सोचेर पनि यस्तो गरेको हुन्छ । किनकि, पछि बिरामी तल-माथि भएमा टेस्ट किन नगरेको भन्ने प्रश्न उठ्छ ।

डाक्टरले कमिसनको लागि अनावश्यक परीक्षण गराउने र औषधि लेखाउने गर्छन् भन्ने सुनिन्छ । सबै चिकित्सकले नगरे पनि केहीले गर्ने नै भएकाले यस्तो सुनिएको हो । चिकित्सकहरूले बिरामीलाई राम्रोसँग शिक्षित गराउने हो भने यस्ता घटना कम हुन्छन् । सबै बिरामी निको हुन्नन् भन्ने कुरा बुझाउन सकेमा मात्रै पनि यस्ता धेरै घटना कम हुन्छन् । स्वास्थ्य संस्थाप्रति विश्वासको संकट आउनुको कारण ‘हेल्थ लिट्रेसी’ नभएर नै हो ।

हाम्रो स्वास्थ्य प्रणालीमा भएका यस्ता कमजोरीहरू हटाउन सकिन्न र ?

४०/५० वर्ष अगाडि नेपालीको औसत आयु ५०/५५ वर्ष थियो अहिले ७० वर्ष पुगेको छ । यसो हुनुको कारण मानिसले उपचार गर्न पाएका छन् । यसको अर्को पाटो के छ भने देशमा अस्पताल सबैको लागि उपलब्ध छ तर सबैको पहुँच छैन । अर्थात्, सबै मानिसले खर्च गरेर उपचार गर्न सक्दैनन् । जसको कारण मानिसहरू रोग पालेर बस्न बाध्य हुन्छन् । बिरामी भएको थाहा पाउँदा पाउँदै उपचार गर्नु भन्दा काल कुर्नु ठीक हो भन्ने निष्कर्षमा पुग्छन् । हाम्रो सामाजिक आर्थिक अन्तरले गर्दा यसो भएको हो ।

हाम्रोमा वीर, टिचिङ जस्ता अस्पताल हुनुको कारण छ । सरकारको अस्पतालमा लगानी र संरचना छ तर अन्य कुराहरू थप गर्न जरूरी छ । अहिले सरकारसँग यत्रो संरचना हुँदाहँुदै किन स्वास्थ्यमा निजीलाई मैदान खाली गर्दै गइरहेको छ ? यदि उसले चाहने हो भने आफ्नै बजेटमा देशभर अहिलेका निजी अस्पताल भन्दा गतिला अस्पताल बनाउन नसक्ने हो र ?

किन सरकारले स्वास्थ्य प्रणाली सुदृढ गर्न लगानी गरिरहेको छैन ? सरकारी स्वास्थ्य प्रणाली राम्रो बनाएको भए कोही निजीको शरणमा किन पर्नुपथ्र्यो ? हामीले रोग लागेपछि उपचार गर्ने बाहेक अरू केही सोचेकै छैनौं । रोग लाग्नै नदिने ‘पब्लिक हेल्थ मेकानिजम’ मा जोड दिन पुगेको छैन ।

अहिले पनि तपाईं काठमाडौंको कुनै एउटा चोकबाट अर्को चोकसम्म हिंड्दै जानुस् बाटोभरि स्वास्थ्य संस्थाहरू देख्नुहुन्छ । अस्पताल, नर्सिङ होम, पोलिक्लिनिकको संख्या अचाक्ली छ । यति धेरै स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयले अनुगमन र नियमन गरेको होला त ? अस्पताल बढ्दैमा सेवाको गुणस्तर बढेको होला त ? सबै अस्पताल र चिकित्सकहरूले इथिकल प्राक्टिस गरेका होलान् त ?

यहाँ त ‘जसको शक्ति उसको भक्ति’ भएको छ । पूरै खुल्ला । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनुगमन र नियमन छैन । सामान्य सर्जरी गर्न मानिसहरू वर्षौं कुरिरहेका छन् । त्यसैले अस्पताल र चिकित्सकलाई मात्र दोष दिएर समस्याको समाधान हुँदैन ।

पहाडी जिल्ला तथा कर्णालीमा आमाहरू बच्चा जन्माउन नसकेर अकालमा ज्यान गुमाउँछन् । बच्चा जन्माएपछि साल नाल काट्ने सही तरिका नजानेर ‘इन्फेक्सन’ भएर मर्छन् । कहिलेकाहीं राज्यले कुनै महिलालाई सुत्केरी गराउन हेलिकप्टरमा उद्धार गर्‍यो भने त्यो गौरवको विषय बन्छ जबकि यो अवस्था हुँदा शासकलाई लाज लाग्नुपर्ने थियो ।

काठमाडौंमा जस्तो अस्पताल कणर्ालीमा नचाहिएला तर सामान्य सुत्केरी गराउन सक्ने किसिमको त बनाउनुपर्‍यो नि ! त्यसो हुँदा त मानिसको खर्च पनि घट्छ । साधारण उपचार गर्न राजधानी नै आउनुपर्छ भने हाम्रो स्वास्थ्य प्रणालीको हालत यहींबाट बुझ्न सकिन्छ ।

स्वास्थ्य प्रणालीका यस्ता विकृति रोक्न र आम मानिसले सहुलियतमा उपचार पाउन सरकारले कस्तो नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ?

अहिले जुन स्वास्थ्य बीमा प्रणाली छ त्यसको दायरा बढाएर लागू गर्नुपर्छ । त्यसमा एउटा साधारण मजदूरले तिर्ने पैसा र कुनै व्यवसायीले तिर्ने पैसामा फरक हुनुपर्छ तर सेवाको अवसर समान दिलाउनुपर्छ । त्यसो हुँदा स्वास्थ्य सेवामा सबैको समान पहुँच हुन्छ । आफ्नो खल्तीको धेरै पैसा खर्च नहुँदा मानिसमा स्वास्थ्य संस्थाप्रति विश्वास पनि बढ्छ । हामी राज्यबाट विश्वको आधुनिक समाजको जस्तो स्वास्थ्य प्रणाली माग्छौं र आफूले आफ्नो दायित्व पूरा गर्दैनौं भने सधैं भद्रगोलमा नै रहनेछौं ।

 

 



साभार

सम्बन्धित खवर