विराटनगर / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालमा दोस्रो घुम्ती ब्लड–बस परियोजनाका लागि अर्थ सङ्कलन अभियान थालेको छ । सङ्घको मानव कल्याणकारी योजनाअन्तर्गत दोस्रो घुम्ती ब्लड–बसका लागि नयाँ वर्ष २०२१ को प्रारम्भसँगै अर्थ सङ्कलन अभियान थालेको सङ्घका पूर्व–कोषाध्यक्ष हिक्मत थापाले बताए ।

एनआरएनए भाषा-साहित्य समितिका संयोजकसमेत रहेका थापाका अनुसार सुदूर–पश्चिम प्रदेशका नौवटा जिल्लामा सेवा पुर्‍याउने उद्देश्यसहित गर्न लागिएको ब्लड–बस कैलाली रेडक्रस धनगढीलाई हस्तान्तरण गरिनेछ । उपकरणसहितको सुविधासम्पन्न बस खरिद गर्न ६५ लाख रूपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ ।

घुम्ती ब्लड–बसभित्रै रक्तदान तथा सञ्चयन गर्न र सञ्चयित रगत सुरक्षित रूपमा ब्लड–बैङ्कसम्म पुर्‍याउन आवश्यक उपकरण तथा अन्य सुविधा हुनेछन् । चार महिनाभित्र यो बस खरिद गरी धनगढी रेडक्रसलाई हस्तान्तरण गर्ने शुभेच्छुक एनआरएनहरूको लक्ष्य छ । एनआरएनएले यसअघि यस्तै बस चितवन रेडक्रसलाई उपलब्ध गराइसकेको छ ।

अभियानमा विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समिति, सुदूर–पश्चिमेली समाज, एनआरएन अभियन्ता, प्रवासमा रहेका सुदूर–पश्चिमेली, नेपाल र प्रवासमा रहेका सामाजिक संस्था, ह्युमानिटी फाउन्डेसन धनगढी, टीकापुर सरोकार समूह, धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कैलाली सहभागी हुनेछन् ।

सुदूर–पश्चिम प्रदेशमा घुम्ती ब्लड–बस खरिदका लागि आज (शुक्रबार) बिहान ६ जना सरोकारवालाहरूबाट सहयोग प्रतिबद्धता व्यक्त भएको अभियानका संयोजक थापाले बताए ।

जसअनुसार ह्युमानिटी फाउन्डेसन धनगढीले एक लाख ११ हजार एक सय ११, एनआरएन ब्रिटिस समिति, रोशन थापा, अफ्रिका र गौरी जोशी अमेरिका एक-एक लाख, अर्जुनप्रसाद मैनाली, अमेरिकाले २५ हजार र डाक्टर खकिन्द्र भण्डारी, टीकापुरले १० हजार रुपैयाँ दिने भएका छन् । अभियान घोषणा गरेको पहिलो दिन नै करिब पाँच लाख रुपैयाँ सङ्कलन भएको छ ।



साभार

सम्बन्धित खवर