विराटनगर / प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रदेश राजधानी बाहिर रहेका सांसदलाई विराटनगर बोलाएको छ ।

आइतबार अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको प्रचण्ड–माधव समूहले आफू निकट प्रदेश सांसदहरुलाई प्रदेश राजधानी विराटनगर बोलाएको हो ।

मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेकाे सूचना पाएपछि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई पदमुक्त गरेका थिए ।

पदमुक्त भएका आङ्बाले आफ्नै अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । ‘पदमुक्त गरेर मुख्यमन्त्रीज्यूले बाटो खोलिदिनु भएको छ,’ उनले भने, ‘ अब मेरो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’

आङ्बोले दुई वर्ष १० महिना आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । दुई वर्ष १० महिना काम गर्ने अवसर प्रदान गरेकोमा उनले मुख्यमन्त्री राई प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

नेकपाका एक प्रदेश सांसदका अनुसार आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । अविश्वास प्रस्तावका लागि हस्ताक्षर अभियान केहीदिन अघिबाट सुरु भएको थियो । ‘आइतबार प्रस्ताव दर्ता हुनसक्छ ,’ ती सांसदले भने ‘ तयारी लगभग पुरा भएको छ ।’

नेकपा विभाजनपछि ओली समूहका मुख्यमन्त्री राई अल्पमतमा छन् । प्रदेश १ प्रदेशसभामा ९३ जना सदस्य छन्, जसमध्ये सत्तारुढ नेकपाको ६७ सदस्य छन् । तर पार्टी फुटेपछि ओली समूहमा २० जना मात्र छन् । प्रचण्ड–नेपाल पक्षसँग ४७ सदस्य छन् ।

प्रदेशमा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । प्रदेशमा २१ सदस्य रहेको काँग्रेस र पाँच सदस्य रहेका साना तीन दल छन् ।



साभार

सम्बन्धित खवर